सूचनाको शक्ति - The Power Of Information

        

नौबस्ता बाल सुधार गृहमा शुद्ध खानेपानीको अभाव

बाँके जिल्लाको नौबस्ता बालसुधार गृहमा शुद्ध खानेपानीको अभावले त्यहाँ रहेका बालबिज्याइँकर्ता (बाल बन्दी), कर्मचारी र सुरक्षाकर्मीलाई समस्या भएको छ ।

 बैजनाथ-२ नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार भवनमा सञ्चालन गरिएको बालसुधार गृहमा रहेका १०३ जना बालक, कर्मचारी र सुरक्षाकर्मीलाई शुद्ध खानेपानीको व्यवस्था नहुँदा स्वास्थ्यमा समस्या आउने गरेको बाल सुधारगृहका इन्चार्ज श्याम रानाले बताउनुभयो ।

उहाँले बालसुधार गृहमा शुद्ध खानेपानीको अभाव हुँदा त्यहाँका सबैले सिधैँ धाराबाट निकालिएको पानी पिउन बाध्य रहेकाले भ्रमणमा आउनेहरुको सोतर्फ ध्यानाकर्षण गराई शुद्ध खानेपानीको व्यवस्था गरिदिन आग्रह गर्दै आएको बताउनुभयो ।

खानेपानीलाई फिल्टर गरेर खाने व्यवस्था मिलाउनुपर्नेमा सो को व्यवस्था नहुँदा सिधै धाराको पानी खानुपरेकोले बेला बेलामा बालकहरु बिरामी पर्ने गरेको पनि रानाले बताउनुभयो ।

हालै मात्र सो सुधारगृहको निरीक्षणका लागि गृहसचिव दिनेश भट्टराईसहितको टोली त्यहाँ पुगेको बेला पनि खानेपानी लगायत सुरक्षा चुनौती र दरबन्दीका विषयमा माग गरिएको उहाँले जनाउनुभयो ।

सोही प्रकारले उक्त बालसुधार गृहमा विभिन्न सामाग्री वितरणका लागि युनिसेफका प्रतिनिधिसहित पुगेको टोलीसमक्ष पनि खानेपानीको समस्याका बारेमा जानकारी गराइएको बालसुधार गृहले जनाएको छ ।

केन्द्रीय बाल न्यायिक समितिका सदस्यसचिव तथा सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीलगायतको टोली समक्ष शुद्ध खानेपानीको व्यवस्था गरिदिन आग्रह गरिएपछि रजिष्टार पन्थीले सो बारेमा सम्बन्धित निकायमा कुरा राख्ने बताउनुभएको थियो ।

नौबस्तास्थित सो बालसुधार गृह विषेश परिस्थितिमा सञ्चालनमा ल्याउनुपरेकाले आवश्यक कर्मचारीे, स्वास्थ्यकर्मी, शिक्षक र सवारी चालक नहुँदा अत्यन्तै कठिन अवस्थामा सेवा प्रवाह गर्नुपरेको जनाइएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ०६:५२

लोकप्रिय