सूचनाको शक्ति - The Power Of Information

        

शरीरका केही अंगबाट किन निस्कन्छ आवाज ?

हाम्रो बोलीमा मात्र होइन शरीर चल्दा वा कुनै कार्य गर्दा शरीरबाट विभिन्न प्रकारको आवाज आउँछ । कतिसम्म भने सुतिरहेका बेला पनि शरीरबाट आवाज निस्कन्छ ।

यी आवाजमा जोर्नी चट्किनु, श्वास फेर्दा घ्यारघ्यार हुनु, नाकबाट सिट्ठी बजेको झैं आवाज निस्कनु, घुर्नु, पेट कराउनु लगायतका छन् । शरीरबाट निस्कने यस्ता आवाजलाई खासै हामी प्राय सामान्य ठान्ने गर्छौँ । तर शरीरबाट निस्कने यस्ता आवाज कुनै घातक स्वास्थ्य समस्याको संकेत पनि हुनसक्छ ।

शरीरबाट निस्कने यस्तो आवाजले के संकेत गर्छ ?

घुर्नु

कतिपय मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । धेरैजसोले घुर्ने बानीलाई बेवास्ता गर्दछन् तर यो एक रोगको संकेत हो । घुर्ने मानिसहरूलाई हृदयघातको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । चिकित्सक भन्छन् ‘विदेशमा सुतेकै अवस्थामा मृत्यु हुने समस्या पनि घुर्नु हो ।’ मोटोपनका कारण गलामा मेम्ब्रेनको रोकावटका कारण मानिस घुर्ने गर्दछ । यसले स्लिप एप्निया, डायबिटिज र स्ट्रोकको खतरा बढ्न सक्छ ।

बंगाराबाट आवाज

खानामा अमिलो–पिरो, गुलियो, तातो वा चिसो खाँदा दाँतबाट आवाज आउँछ । बंगाराबाट आवाज आउनु माथिल्लो र तल्लो बंगाराको अलाइन्मेन्ट बिग्रेका कारणले हुनसक्छ । जसका कारण बंगारा लक हुने समस्या हुनसक्छ ।

नाकबाट सिट्ठी बजे जस्तो आवाज

रुघा, खोकी वा साइनसका कारण नाकबाट सिट्ठी बजेको जस्तो आवाज आउँछ । यो हुनुमा श्वासको नलीमा अवरोधका कारणले हुनसक्छ ।

कान बज्नु

कहिले काहीँ कानमा ‘टिं’ आवाज निस्कने गर्छ । कहिलेकाहीँ कानमा पानी वा कुनै कुरा छिरे आवाज आउन सक्छ । कानको भित्री भागमा रहेको भेस्टिबुलार ककलेयर नशामा ट्युमर भएमा, मस्तिष्कको भित्री भागमा रक्तस्राव भएमा, संक्रमण भएमा पनि कान बज्ने गर्छ ।

साथै, एस्पिरिन, एन्टीबायोटिक्स लगायतका औषधीहरूको दुष्प्रभावका कारण पनि कान बज्ने गर्दछ । यदि कान सिरिङ्ग हुन्छ भने यसको कारण थाहा पाउन जरुरी छ । फंगल इन्फेक्सनका कारण पनि कानबाट आवाज आउन सक्छ । यसका साथै मोबाइलको अत्यधिक प्रयोगले निम्तिने टिनिटस नामक रोगका कारण पनि कानबाट आवाज आउन सक्छ ।

पेट कराउने

अक्सर धेरै बेर खाली पेट रहँदा वा खराब खानपानका कारण पेट कराउने गर्दछ । मेडिकल भाषामा यसलाई बोरबोरिग्मी भनिन्छ । पेटले खानालाई पचाउने काम गर्दछ । खाना पचाउन पेटलाई औसतमा ३–४ घण्टा समय लाग्दछ । कतिपय अवस्थामा खानाको परिकारले यो समय हेरफेर हुनसक्छ ।

यस्तोमा हामीले धेरै बेरसम्म खाना नखाँदा पेट खाली भएको हुन्छ । जसका कारण खाना पचाउन पेट खुम्चिने गर्दछ । तर खाली पेट भएको हुनाले केवल ग्याँस मात्र भेटिन्छ । र खाली पेटमा ग्याँस र पेटबाट निस्किएका पाचन रसबीच घर्षणले आवाज आउँछ । पाचन प्रक्रियामा गडबड हुँदा पेटबाट आवाज आउने गर्दछ । यदि पेट फुल्ने वा दुख्ने गर्दछ भने यस्तो आवाजले कलेजोको समस्याको संकेत गर्दछ ।

जोर्नीको आवाज

कहिले कोही मानिसहरू बस्दा उठ्दा हड्डीबाट चर्को कटकट आवाज आउँछ । तर, हड्डीहरूबाट आउने यी आवाजहरूलाई त्यति वास्ता गरिँदैन । यो हड्डीसँग सम्बन्धित रोगहरूको संकेत हुन सक्ने चिकित्सकहरू बताउँछन् । जोर्नीमा लिक्विडको कमी भए आवाज आउँछ । यदि लामो समयसम्म यस्तो भए गाँठो, अर्थराइटिस हुनसक्छ । घुँडा र जोर्नीबाट कटकट आवाज आउनु पनि भिटामिन डी को कमीको संकेत पनि हो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ०७:४६