सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा खेलबाड

सुशील कोइराला क्यान्सर अस्पताल लथालिंग, उपचार पाउनै मुश्किल

पश्चिम नेपालका तीन वटा प्रदेशका नागरिकले उपचार गर्ने अस्पतालमा नियमित शल्यक्रिया नहुँदा बिरामीले सास्ती खेपिरहेका छन् ।

किमो चढाउन सुर्खेतबाट आएका ७४ वर्षीय वीरबहादुर पुन । मशिन बिग्रिएको भनेपछि अस्पताल परिसरमै सुस्ताउँदै । तस्वीरहरू : प्रेम विश्वकर्मा । हिमाल खबर

पश्चिम नेपालका नागरिकले उपचारका लागि धाउने सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा जनशक्तिको कमी, सरोकारवालाको हेलचेक्र्याइँ र उपचारमा ढिलासुस्तीले क्यान्सरका बिरामीसँगै आफन्तजनले समस्या खेप्दै आएका छन् । कैलालीको टीकापुर नगरपालिका–१ बाट आएका होमबहादुर तुलाचन तीन महीनादेखि बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको चक्कर लगाइरहेका छन् ।

स्तन क्यान्सरपीडित पत्नी सुशीला तुलाचनको उपचारका लागि दौडधूप गरिरहेका तुलाचन भन्छन्, ‘किमो चढाउन महीनामा दुई–तीन पटक आउनुपर्छ, त्यसपछि पनि पालो कुर्नुपर्छ ।’ ७७ वर्षीय होमबहादुर आफू पनि मुटु सम्बन्धी रोगबाट पीडित छन् । महीनामा एक पटक चिकित्सकलाई देखाउनुपर्छ । महीनामा दुई–तीन पटक नेपालगन्ज आएर उपचार गर्न समस्या भइरहेको उनी सुनाउँछन् ।

उनीहरूले टीकापुरबाट नेपालगन्ज आउनै एक दिन छुट्याउनुपर्छ । स्वास्थ्य बीमा गरेका कारण उपचार निःशुल्क हुने भए पनि पालो नपाउँदा अन्य खर्च हुने गरेको गुनासो गर्छन् । ‘एक–दुई रात होटलमा बस्छौं,’ उनी भन्छन्, ‘आउजाउ, खाना, वास गर्दा एक पटकमा २५–३० हजार रुपैयाँ खर्च हुन्छ ।’ शुरूआतमा उनीहरूले टीकापुरकै अस्पतालमा जाँच गराएका थिए । चिकित्सकले क्यान्सर अस्पताल लैजान सल्लाह दिए ।

उपचारका लागि पालो कुरिरहेका कैलालीको टीकापुरका होमबहादुर तुलाचन र सुशीला तुलाचन ।

त्यसपछि गत मंसीर ६ गते बाँकेको खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पुगेका हुन् । ‘क्यान्सर भएको पत्ता लाग्यो, त्यसयता दुई सातामा एक पटक अस्पताल आइराख्नुपर्छ,’ उनी भन्छन् । लुम्बिनीसँगै कर्णाली र सुदूरपश्चिमका बासिन्दालाई क्यान्सरको उपचार गराउन नजिकै अस्पताल भए पनि सेवा पाउन चाहिं सहज छैन । उपचारका लागि पालो कुर्नुपर्छ ।

यसरी पालो कुर्दाकुर्दै हैरान छन्, ६५ वर्षीया आमा बुद्धिमाया गुरुङको उपचारका लागि क्यान्सर अस्पताल पुगेकी नेपालगन्ज महानगरपालिका–६ की टीका गुरुङ । समयमै उपचार हुने नगरेको गुरुङको गुनासो छ । ‘कहिले मशिन बिग्रियो भन्छन्, कहिले डाक्टर हुँदैनन्,’ टीका भन्छिन्, ‘आधा घण्टामा आउने रिपोर्टका लागि तीन–चार घण्टा कुर्नुपर्छ ।’ बुद्धिमायालाई रगतको क्यान्सर भएको छ ।

उनी सात महीनादेखि क्यान्सर अस्पताल धाइरहेकी छन् । यो अवधिमा अस्पताल बाहिरबाट जहिल्यै महँगोमा औषधि किन्नुपरेको गुरुङको गुनासो छ । ‘अस्ति एउटा औषधि खुवाउनुपर्ने थियो, अस्पतालमा छैन भन्यो । बाहिरबाट किन्दा एक हजार ३०० रुपैयाँ लियो,’ उनी थप्छिन्, ‘एउटा सुई लगाउनुपर्ने थियो, त्यो पनि अस्पतालमा मिलेन । एउटै सुईको एक हजार ५५० रुपैयाँ पर्ने, तीन पटक लगाउनुपर्ने रहेछ । बाहिरबाटै किन्यौं ।’

त्यति मात्रै होइन, पिसाबको परीक्षण समेत नभएको उनले सुनाइन् । ससानो परीक्षण पनि बाहिर गर्नुपरेको उनी गुनासो गर्छिन् । ‘अस्ति एउटा युरिनको टेस्ट गर्नुपर्ने थियो, यहाँ भएन,’ टीका भन्छिन्, ‘नेपालगन्ज लगेर परीक्षण गरायौं ।’ क्यान्सर रोग पत्ता लागेपछि उपचारको त कुरै छाडौं, त्यसअघि परीक्षण गर्दा पनि अनेक सास्ती भोग्नुपरिरहेको बिरामीका आफन्त बताउँछन् ।

रक्त क्यान्सर भएकी नेपालगन्जकी ६५ वर्षीया बुद्धिमाया गुरुङ पालो कुर्दै ।

पश्चिम नेपालका तीन प्रदेशमा क्यान्सर उपचार हुने यो एक मात्र सरकारी अस्पताल हो । तर क्यान्सर परीक्षणका लागि पनि कुर्नुपर्छ । बर्दियाको राजापुर नगरपालिका–२ की ३९ वर्षीया राधा थारू क्यान्सर पत्ता गाउन नेपालगन्जका निजी प्रयोगशाला धाउनुपरेको सुनाउँछिन् । ‘धेरै दिन कुर्यौं, पालो नपाएपछि नेपालगन्ज गएर जाँच गरायौं,’ थारू भन्छिन्, ‘स्तन क्यान्सर देखिएको छ ।’

अहिले उनी क्यान्सर अस्पतालमै किमो चढाइरहेकी छन् । यसका लागि पनि पालो कुर्नुपरेको उनी सुनाउँछिन् । कलेजोको क्यान्सर भएका ७४ वर्षीय वीरबहादुर पुन मगरलाई पनि उस्तै सास्ती छ । किमो चढाउन सुर्खेतको पञ्चपुरी नगरपालिका–२ बाट आएका मगर जहिल्यै ढिलाइ हुने गरेको सुनाउँछन् । ‘महीनामा तीन पटक आउनुपर्छ, कहिल्यै समयमा उपचार हुँदैन,’ उनी गुनासो गर्छन्, ‘मशिन बिग्रियो भन्छन् । रगतको रिपोर्ट पर्खेर बसेका छौं ।”

नेपालगन्जबाट आठ किलोमिटर टाढा खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले क्यान्सरसँग सम्बन्धित १३ किसिमका उपचार सेवा दिंदै आएको छ । तर सबै सेवामा उस्तै ढिलासुस्ती रहेको उपचारका लागि आएका बिरामी गुनासो गर्छन् । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.निरज भट्टराई जनशक्ति अभावले समस्या भएको बताउँछन् । उनी पनि काजमा आएका हुन् ।

‘अस्पतालमा स्थायी दरबन्दी नै छैन । हामीले दरबन्दी तयार गरेर ४१० जना जनशक्ति आवश्यक छ भनेर मन्त्रालयमा पठाएका छौं,’ डा.भट्टराई भन्छन्, ‘अहिले १२८ जना कर्मचारीबाट अस्पताल चलाइराखेका छौं ।’ अस्पतालमा प्रशासन र लेखा बाहेक सबै स्वास्थ्य जनशक्ति काज र करारमा कार्यरत छन् । छात्रवृत्ति, करार चिकित्सकलाई सरकारले फिर्ता गरेपछि क्यान्सर अस्पतालमा रेडियोलोजी, एनेस्थेशियाका चिकित्सक छैनन् ।

किमो चढाउनुअघि स्वास्थ्य जाँचको रिपोर्ट लिन लाम लागेका बिरामी ।

अहिले नेपालगन्जस्थित भेरी अस्पतालबाट चिकित्सक बोलाएर काम चलाइरहेको कार्यकारी निर्देशक भट्टराई बताउँछन् । क्यान्सर अस्पतालमा शल्यक्रिया पनि नियमित हुने गरेको छैन । पश्चिम नेपालका तीन वटा प्रदेशका नागरिकले उपचार गर्ने अस्पतालमा नियमित शल्यक्रिया नहुँदा बिरामीले सास्ती खेपिरहेका छन् । शल्यक्रियाका लागि लामो समय पालो पर्खनुपरिरहेको उनीहरूको भनाइ छ ।

निमित्त कार्यकारी निर्देशक भट्टराई पनि नियमित शल्यक्रिया गर्न नसकिएको स्वीकार गर्छन् । उनी चिकित्सकको अभावले समस्या भएको बताउँछन् । ‘हामीले दुई–तीन पटक पदपूर्तिको सूचना खोल्दा पनि डाक्टरसा’बहरू आउनुभएन,’ उनी भन्छन्, ‘पहिले सातै दिन शल्यक्रिया गर्थ्यौं, अहिले सातामा तीन दिन मात्र भइरहेको छ ।’ जबकि क्यान्सरको उपचारका लागि आउने बिरामीको संख्या भने हरेक वर्ष बढ्दै गएको छ ।

अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–०७७ मा चार हजार ६०० जनाले सेवा लिएका थिए । यो संख्या बढेर आव २०७७–०७८ मा ११ हजार पुगेको थियो । चालू आवकै ६ महीनामा उपचारका लागि १४ हजार ४९२ जना बिरामी अस्पताल पुगेका छन् । क्यान्सर उपचारमा सरकारले दिने गरेको सहुलियतका कारण बिरामी सरकारी अस्पताल पुग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

क्यान्सरका बिरामीले तीन वटै सरकारबाट सहयोग पाउँदै आएका छन् । संघीय सरकारले विपन्न शीर्षकमा एक लाख रुपैयाँ सहयोग गर्छ । त्यस्तै, लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपैयाँ (लुम्बिनी प्रदेशभर मात्र) सहयोग गर्दै आएको छ । स्थानीय सरकारले पनि मासिक पाँच हजार रुपैयाँ सहयोग गर्छ । यससँगै स्वास्थ्य बीमा गरेका कारण पनि बिरामी सरकारी अस्पताल पुग्छन् । तर क्यान्सर अस्पतालले बिरामीलाई सहज र छिटोछरितो उपचार सेवा उपलब्ध गराउन सकेको छैन ।

उपचारको पर्खाइमा फोक्सोको क्यान्सर भएकी ६५ वर्षीया साविरा खाँ र आफन्तजन ।

जनशक्ति अभाव, थोरै दुर्गम क्षेत्रमा भएकाले केही प्राविधिक ढिलाइ हुने गरेको कार्यकारी निर्देशक भट्टराई सुनाउँछन् । तैपनि क्यान्सरका बिरामीलाई निःशुल्क शय्याको व्यवस्था गरिएको, क्यान्सर सम्बन्धी सबै उपचार सेवा एउटै ठाउँमा दिने कोशिश भइरहेको उनको भनाइ छ । अस्पतालले क्यान्सर रोगका लागि उपचारात्मक, निदानात्मक तथा परामर्श सेवा सञ्चालन गरिरहेको छ ।

यहाँ किमोथेरापी, शल्यचिकित्सा, पाठेघरको भित्री सेकाइ, इमर्जेन्सी, ब्राचिथेरापी, सीटीस्क्यान, म्यामोग्राफी, भिडिओ एक्सरे, इन्डोस्कोपी लगायत सेवा उपलब्ध छन् । फोक्सो, स्तन, रक्तनली, नाक, कान, घाँटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मूत्रनली तथा पिसाबथैली लगायत क्यान्सरको उपचार हुने गरेको भट्टराई बताउँछन् । ‘सरकारले जनशक्ति दियो र स्थानीय स्तरबाट पनि चिकित्सक, कर्मचारी राख्ने वातावरण सिर्जना भयो भने थप सुधार गर्न सकिन्छ, राम्रो सेवा दिन सक्छौं,’ उनी भन्छन् ।

स्रोत : हिमाल खबर
प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ०७:३०