सूचनाको शक्ति - The Power Of Information

        

जलाशयको पानीले कृषिजन्य उत्पादन वृद्धि

दाङको घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण गरेको छ । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ ।

‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म २८ वटा जलाशय निर्माण भइसकेका छन् । प्रदेश सरकारको रु ४५ लाख, स्थानीय सरकारको रु ५० लाख र उपभोक्ताको रु पाँच लाख लागतमा उक्त जलाशय निर्माण गरिएको हो ।

घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा रहेको कृत्रिम जलाशयका कारण सो क्षेत्रमा पानीको समस्या हटेको किसान पूर्णबहादुर चौधरीले बताए । जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारीखेतीमार्फत आम्दानी पनि भइरहेको उनले बताए ।

कृत्रिम जलाशय निर्माण गरेपछि पानीको सहज आपूर्ति भएको किसानको भनाइ छ । ‘वडा नं १७ र आसपासको वडामा सिँचाइका लागि पानी पुगेको छ । कर्जाही आसपासमा एक सय बिघाभन्दा धेरै जमिनमा यस जलाशयको पानीमार्फत सिँचाइ भई व्यावसायिक तरकारीखेती भइरहेको छ,’ चौधरीले बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नं १ र २ को सीमा क्षेत्रमा पर्ने सुर्केडाँगीमा (चेपे ताल)मा तीन वर्षअघि करिब साढे सात बिघा क्षेत्रफलमा निर्माण गरिएको कृत्रिम जलाशयपछि खेतीपातीमा सहज भएको किसान मीना चौधरीले सुनाए ।

‘जलाशय निर्माणपछि सिँचाइको समस्या छैन । यसले व्यावसायिक तरकारीखेतीमा सहयोग पुगेको छ,’ उनले भने, ‘मैलेमात्रै काउली, बन्दा, गोलभेँडा गरी मासिक रु २० देखि २५ हजार आम्दानी गरिरहेकी छु । लौका, करेला, भिन्डी र काँक्राको खेती पनि राम्रो भइरहेको छ ।’

जलाशय संरक्षण समितिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष राममणि पाण्डेले जलाशयमा माछापालनसँगै डुङ्गासमेत सञ्चालन गरिएको बताए । अध्यक्ष पाण्डेका अनुसार कृत्रिम जलाशय प्रदेश सरकार र घोराही उपमहानगरको करिब रु एक करोड ८० लाखको लगानीमा निर्माण भएको हो ।

‘जलाशय ठूलो छ, सोही कारण सिँचाइसँगै माछापालन, डुङ्गा सञ्चालन गरेर स्थानीय युवालाई रोजगारीसमेत दिएका छौँ,’ पाण्डेले भने । सघन सिँचाइ आयोजनाले तीन, बृहत् सिँचाइ आयोजनाले एक, प्रदेश सरकारले तीन र उपमहानगरले २१ गरी पाँच वर्षमा २८ कृत्रिम जलाशय निर्माण भएका छन् ।

गर्मीमा पानीको समस्या धेरै नै थियो । तीव्र सहरीकरणले नगरभित्रका सहरोन्मुख गाउँका कुँवा, इनार, ट्युबवेल, जरूवाजस्ता पानीका स्रोत सुक्दै गएका छन् । त्यसैले पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको हो ।

नगरलाई सुक्खा हुनबाट बचाउन सुरु भएको जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको नगरप्रमुख नरूलाल चौधरीले बताए । उनले नगरमा पानीका स्रोत बचाउन पानी सङ्कलन केन्द्रमार्फत ‘रिचार्ज’ गरिएको उल्लेख गरे । नगरमा जनघनत्व बढ्दै जाँदा सहरी क्षेत्र बढ्यो । जसले गर्दा पानीका मुहानहरू सुक्दै गए ।

‘पानीको अभावलाई कम गर्न र जनतालाई प्रत्यक्ष आम्दानीमा जोड्नका लागि कृत्रिम जलाशय निर्माण गरेका हौँ,’ उनले भने, ‘नयाँ निर्माण गरेका पोखरीमा वर्षामा पानी जम्मा गरिन्छ । जलाशय निर्माणले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षासहित हामीले काम गरेका हौँ ।’ जलाशय निर्माण भएका स्थानमा बाह्रै महिना खेती हुने गरेको सोही ठाउँका किसान बताउँछन् । घोराही क्षेत्रका जलाशय पाँच कट्ठादेखि पाँच बिघासम्म फैलिएका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १८:००

लोकप्रिय