सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज उपमहानगरपालिकामा पहिलो किरियापुत्री भवन बन्ने

नेपालगञ्ज उपमहानगरपालिकामा पहिलो किरियापुत्री भवन बन्ने भएको छ ।

वडा नम्बर ४ स्थित शिव पार्वती मन्दिरको सामुन्ने किरियापुत्री भवन बन्न लागेको हो ।

किरियापुत्री भवनको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बिहीवार शिलान्यास गरेका छन् ।

सर्बसाधारणलाई काजकिरिया गर्न सहजताका लागि बन्न थालेको किरियापुत्री भवन करिब ६० लाखको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निर्माण समितिका अध्यक्ष सेमराज शाक्यले बताए ।

के.एस. इन्जिनियरिंग एण्ड विल्डर्स निर्माण गर्न थालेको किरियापुत्री भवन दुई तले हुनेछ । दुई वटा परिवारले एकसाथ किरिया गर्न मिल्ने गरी घर बनाउन थालिएको शाक्यले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिका र वडा नम्बर ४ को सहयोग र समन्वय तथा विभिन्न व्यक्तित्वहरुको स्वःस्फूर्त सहयोगबाट किरियापुत्री भवन बन्न लागेको हो ।

नगर प्रमुख विष्टले नेपालगञ्जमा टड्कारोरुपमा किरियापुत्री भवन आवश्यक महसुस हुँदै आएकोमा सबैको साझा प्रयास र सहभागिताबाट भवन बन्नु सराहनीय कार्य भएको बताए ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, समाजसेवी एवम् दाताहरु माधवी शाह, डा. सावित्रा कक्षपति, माधवराम बर्मा लगायतले सामुदायिक सहभागितामा बन्न लागेको किरियापुत्री भवनमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १७:०८

लोकप्रिय