सूचनाको शक्ति - The Power Of Information

        

हिँड्ने बाटोसमेत नबनेको नेपालगन्जको किङगरियनपूर्वा बस्ती

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र छ, एउटा बस्ती किङगरियनपूर्वा । जहाँ अहिलेसम्म कुनै जनप्रतिनिधिको ध्यान जान सकिरहेको छैन । भौतिक पूर्वाधारका ठूला–ठूला संरचना बन्ने त परैको कुरा आवतजावतका लागि बाटोसम्म बनेको छैन । वर्षौँदेखि बाटोको समस्याले स्थानीयवासी समस्यामा परेका छन् ।

उपमहानगरपालिका वडा नं २२ मा रहेको किङगरियनपूर्वा बस्ती उपमहानगरपालिकाभित्रकै भएर पनि अँध्यारो बस्ती बनेको स्थानीयहरू बताउँछन् । स्थानीय सरकार आएपछि आफ्नो गाउँको स्वरुपमा केही परिवर्तन हुन्छ भन्ने आशा पलाएको बताउँछन् आशाराम चमार ।

‘अबको समय पहिलाको जस्तो छैन । हामीलाई स्थानीय सरकार बनेपछि केही हुन्छ कि भन्ने ठूलो आशा थियो तर आजसम्म पनि हाम्रो गाउँ जस्ताको त्यस्तै छ,’ आशारामले भने, ‘हाम्रो गाउँमा आवतजावतका लागि सामान्य बाटो त बन्न सकेको छैन बाँकी अरु विकासको के कुरा गर्नु ?’

एकै ठाउँमा गुजुमुज्ज परेको बस्तीमा वडाको ४० प्रतिशत बसोबास रहेको छ । किङगरियनपूर्वा बस्तीमा प्रवेश गरेपछि हिँड्ने बाटोबाहेक चौडा बाटो देखिँदैन । उक्त गाउँमा बाटोको समस्याले स्थानीयवासीलाई वर्षौँदेखि सास्ती व्यहोर्नु परिरहेको सायद किङगरियाले बताए ।

‘गाउँघरसम्म ठूला गाडी आउन सक्दैन । बस्तीभित्र साँघुरो हिँड्नेबाहेक अन्य चौडा बाटो छैन,’ उनले भने, ‘हाम्रो गाउँमा बस्ती बाक्लो छ तर बाटोको समस्याले गाउँमा ठूला सवारीसाधन आउन सक्दैन । गाउँघरमा विवाह भयो भने गाउँबाट टाढै बस, ट्रयाक्टर राख्नुपर्छ ।’

आशाराम र सायदले जस्तै नसिब किङगरियाले पनि आफ्नो गाउँको विकासमा स्थानीय सरकारको ध्यान नजाँदा वर्षौँदेखि सास्ती सहँदै आएको गुनासो गरे । नसिबको भनाइअुनसार किङ्गरिया बस्तीमा कसैको घर बनाउनुपर्यो भने इँटा, माटो, सरिया, सिमेन्टजस्ता गह्रौँ सामान लैजानपर्यो भने गाउँदेखि धेरै परबाट मानिसले काँधमा बोकेर लैजानुपर्छ ।

बस्तीभित्र सवारीसाधन जानका लागि फराकिलो बाटो नभएकै कारण आफूहरूले वर्षौँदेखि समस्या झेलिरहेको उनले बताए । उक्त बस्तीमा कोही बिरामी पर्दा घरसम्म एम्बुलेन्स आउन नसकेको गुनासो गर्दै अर्का स्थानीय रामप्यारी चमारले बाहिर पर बाटोसम्म बिरामीलाई बोकेर लैजानुपर्ने गुनासो गरे ।

‘महिला सुत्केरी हुँदा होस् या वर्षायाममा सर्पले टोक्दा होस् हामीलाई लिन आएको एम्बुलेन्स पनि गाउँभन्दा पर उभिएको हुन्छ,’ रामप्यारीले भनिन्, ‘बस्तीमा न बाटोको सुविधा छ न नालाको नै । बस्तीभरि नै फोहर छ ।’ गर्मीयाम सुरु हुनैलाग्दा किङगरियनपूर्वामा भएको फोहरले स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको स्थानीयको भनाइ छ ।

वर्षायाममा बस्तीभरि पानी जमेर हिँड्न सकिँदैन । उक्त बस्तीमा एम्बुलेन्स, दमकल, ट्रयाक्टर, बस पुग्नु त परको कुरा हो । किङगरियनपूर्वामा एक हजार घरधुरी छन् भने वडामा छ–सात हजार जनसङ्ख्या रहेको छ । वडाध्यक्ष अब्दुल गफ्फार हल्वाईले वडाभित्र बाटो चौडा गर्ने योजना बारम्बार ल्याउँदा स्थानीयवासीको असहमतिले बाटो निर्माण हुन नसकेको बताए ।

‘वडाभित्र रहेको बस्तीमा बाटो र सरसफाइलाई पहिलो प्रथामिकतामा राखेका छौँ । किङगरियनपूर्वामा पनि बाटोका लागि पहल नभएको होइन तर यहाँका स्थानीयले बाटोका लागि सहमति नगर्दा निकास खोज्न गाह्रो भएको छ,’ वडाध्यक्ष हल्वाईले किङगरियनपूर्वाको विकासका लागि चाँडै नै निकास खोज्ने बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १५:१८