सूचनाको शक्ति - The Power Of Information

        

कीर्तिपुर मैदानमा बन्यो कीर्तिमानी रन

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा कीर्तिमानी रन बनेको छ ।

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको छ ।

कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन हो । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै उक्त रन बनाएको हो । अब नेदरल्यान्ड्सलाई हराउन नामिबियाले दुई सय ४८ रन बनाउनु पर्नेछ ।

नेदरल्यान्ड्सले बिहीबार नेपालको कीर्तिमान तोडेको हो । यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ तारिखमा खेलिएको नेदरल्यान्ड्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो ।

नेदरल्यान्ड्सले त्यही कीर्तिमान तोडेको हो । कीर्तिपुर मैदानमा बनेको तेस्रो ठूलो स्कोर पनि नेपालकै नाममा छ । नेपालले सन् २०१९ को डिसेम्बर ५ तारिखमा सम्पन्न टी–२० क्रिकेटमा भुटानविरुद्ध तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १३:५०

लोकप्रिय