सूचनाको शक्ति - The Power Of Information

        

ठूलो झरी आए पनि छैन चिन्ता

फुस र टायलका छाना विस्थापित गर्दै खजुरा, विपन्न परिवार खुसी

खजुरा गाउँपालिकाभित्र रहेका फुस र टायलका छाना पूर्णरुपमा विस्तापित गर्ने गाउँपालिकाको लक्ष्य छ ।

तीन पुस्तालाई समेटेको बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४, डी गाउँमा एउटा माटोको घर, जसका पर्खालहरु कहिलेसम्म उभिन्छन्, त्यो त भन्न सकिन्न । तर, घरको छानोमा लागेका टायलहरुले भने आफूहरु जीर्ण भइसकेको जनाइसकेका थिए । सानोतिनो पानी आउँदा पनि छेक्न नसक्ने भएका ती टायलहरुको ओतमा बस्दै आएका थिए, चार बीस (८०) नाघेका लालबहादुर सोनार र तीन बीस (६०) नाघेकी उनी श्रीमती मयुसरा सोनार । उनीहरुसँगै बस्छन् उनका छोरा र नाती पनि ।

उनीहरुको त्यो घरको छानोले असारे झरीको त कुरै छोडौं सानोतिनो झरी पनि रोक्न सक्दैनथ्यो । पानी पर्यो की लालबहादुर र उनकी श्रीमतीलार्ई कोठाभित्र रहेका लत्ताकपडा स्याहार्नै हम्मे–हम्मे हुने हुने गरेको र पानी परेपछि रात नसुतेरै कटाएको सम्झना गर्छन्, लालबहादुर । शुद्ध साकाहारी साधु जीवन बिताइरहेका लालबहादुरका श्रीमान, श्रीमतीको आयस्रोत भनेकै सरकारले दिने सामाजिक सुरक्षा वृद्धा भत्तामात्र हो । सरकारले दिएको पैसाले खान लाउन नै ठिक्क हुने उनीहरुलाई दशक पुराना ती टायलको छानो फेर्ने ल्याकत कहाँबाट आवस् ?

तर, यो वर्षको असारे झरीमा लालबहादुरको परिवारले ढुक्कसँग रात बितायो । अब उनलाई जति ठूलो झरी आए पनि चिन्ता छैन । उनलाई खजुरा गाउँपालिकाले दिएको टीनको छानोले औधी खुसी दिएको छ । ‘अब म त बुढो भइसके धेरै के भनु र ? पहिला पानी प¥यो की, कपडा जोगाउनै गाह्रो हुन्थ्यो । छानो फेर्ने मसँग क्षमता नै थिएन । पानी परेको बेला खाना बनाउन पनि नसकिने अवस्था थियो,’ लालबहादुर भन्छन्, ‘अब नमरुन्झेल घरमा पानी पस्ला भन्ने चिन्ता छैन ।’

लालबहादुर जस्तै वडा नम्बर ४ खजुराका नन्दबहादुर खत्रीको घरमा रहेका खरको छानो विस्थापित भएर अहिले टीनको छानो लागेको छ । नन्दबहादुर पनि मुसुक्क मुस्कराउँदै खजुरा गाउँपालिकालाई धन्यवाद दिन्छन् । खजुरा गाउँपालिकाले संघीय सरकारबाट आएको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ र ‘विशेष अनुदान’बाट पालिकामा रहेको खर तथा टायलका छानोहरु विस्तावित गर्ने गरी काम गरिरहेको छ । वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोकाक्षेत्री आर्थिक वर्ष २०७९–०८० मामात्रै वडाभित्रका १९ वटा घरहरुमा टीनको छाना लगाएको बताउँछन् ।

वडाध्यक्ष रोकाक्षेत्रीले भने, ‘अझै पनि हाम्रो वडामा धेरै घरहरुको फुस र टायलको छ । तिनीहरुलाई पनि बिस्तारै विस्तावित गर्ने योजना हो । हरेक वर्ष छानेर अति विपन्न व्यक्तिहरुको घरमा टीन लगाउने काम भइरहेको छ ।’ रोकाक्षेत्रीका अनुसार गत वर्ष टीनको छानो लगाइदिन ६० भन्दा बढी व्यक्तिहरुले निवेदन दिएका थिए । सोपश्चात प्रत्येकको घरमा पुगेर जाँचबुझ गरेर २० जनालाई छनौट गरिएको उनले बताए ।

‘निवेदन दिन त धेरै आउनु हुन्छ । तर हामी निवेदन आएपछि घरको अवस्था हेर्न जान्छौं । कसै कसैले त अरुको घरको फोटो खिचेर हालेको, गाई बाख्राको गोठको फोटो खिचेर हालेको पनि भेट्टाएका छौं । एउटा घर त निवेदन दिने बेला कच्ची थियो । पछि टीनको छानो लगाउने बेलामा उहाँले पक्की घर हालिसक्नु भएको पनि भेटियो,’ रोकाक्षेत्रीले भन्नुभयो । खजुराले क्रमागत रुपमा टीनको छानो लगाउने काम गर्दै आइरहेको छ । तर टीनको छानोका लागि निवेदन धेरै आउने गर्दा छनौट गर्दा केही समस्या आउने गरेको वडाध्यक्षहरुको भनाइ छ ।

कहिलेकाँही आफ्नो नाम कट्दा स्थानीयहरु रिसाउने गरेको पनि उनीहरु बताउँछन् । खजुराले गत वर्ष सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खरको छाना विस्थापित गरी टीनको छाना छाउने कार्यक्रमका लागि कूल १५७ जना लाभग्राही छनौट गरेको योजना अधिकृत केशव बुढाले जानकारी दिए । जसमा छनौट भएकोमध्ये १२४ जनाको घरमा टीनको छानो लगाइ भुक्तानी भइसकेको लेखा अधिकृत प्रदीप सुनारले बताए ।

खजुराले गत वर्ष वडा नम्बर १ का २५ घरधुरी, वडा नम्बर २ का १८ घरधुरी, वडा नम्बर ३ का १६ घरधुरी, वडा नम्बर ४ का १९ घरधुरी, वडा नम्बर ५ का १२ घरधुरी, वडा नम्बर ६ का २५ घरधुरी, वडा नम्बर ७ का १० घरधुरी र वडा नम्बर ८ का ९ घरधुरीबाट फुस तथा खप्टाको छनो हटाएर टीनको छानो लगाएको थियो । पालिकाले अघिल्ला वर्षमा पनि १११ वटा घरमा टीनको छानो लगाएको पालिकाले जनाएको छ । पालिका अध्यक्ष डम्बरबहादुर विक आफ्नो कार्यकालमा पालिकाभित्र रहेका फुस र टायलका छानाहरु पूर्णरुपमा विस्तापित गर्ने लक्ष्य लिएको बताउँछन् ।

‘फुुस र खप्टाको छानो छ भने माटाका पर्खाल भएका घरहरु भत्किने जोखिम हुन्छ । कतिपय ईट्टाका घरहरु पनि जोखिममा परेको देखिन्छ । विगतका वर्षहरुमा संघीय सरकारबाट आएको कार्यक्रमबाट टीनका छाना हाल्ने काम भइरहेको थियो र यसलाई हाम्रो कार्यकालसम्म खजुरामा शून्य फुस र खप्टाको घर बनाउने लक्ष्य लिएका छौं,’ अध्यक्ष विकले भने । विकका अनुसार सुरक्षित आवास कार्यक्रम अन्तर्गत यो वर्ष ४०० घरहरुमा टीनको छाना लगाउने योजनासहित काम अघि बढेको छ । जसका लागि केन्द्र सरकारबाट बजेट आउने प्रक्रियामा रहेको छ ।

विकले भने, ‘यो वर्षका लागि टीनको छानो लगाउने काम अघि बढिसकेको छ । आउने वर्षमा पनि ६२४ घरहरु निर्माणका लागि विशेष अनुदान माग गरेका छौं । त्यसलाई जसरी पनि सम्पन्न गराउने छौं ।’ खजुरा गाउँपालिकाका अनुसार खजुराले गतवर्ष सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीहरुको छनौट गरी अनुदान सम्झौता गर्न घरधुरी सर्भेक्षणसमेत गरेको छ । योजना अधिकृत बुढाका अनुसार पालिकाले गतवर्ष पालिकाभित्र रहेका ५८२ घरधुरीमा टीनको छाना हाल्नुपर्ने समिक्षा गरेको थियो ।

पालिकाले वडा नम्बर १ मा ४५ घरधुरी, वडा नम्बर २ मा ९६ घरधुरी, वडा नम्बर ३ मा ३५ घरधुरी, वडा नम्बर ४ मा १०१ घरधुरी, वडा नम्बर ५ मा ६५ घरधुरी, वडा नम्बर ६ मा ८१ घरधुरी, वडा नम्बर ७ मा ८९ घरधुुरी र वडा नम्बर ८ मा ७० घरधुरीमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत लाभग्राही छनौट गरिएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ११:४०

लोकप्रिय