सूचनाको शक्ति - The Power Of Information

        

भाउ घट्यो जिराको

पछिल्लो साढे पाँच महिनाको बिचमा मसलाका रूपमा प्रयोग हुने जिराको भाउ घटेको छ । गएको असोजमा प्रतिकेजी एक हजार तीन सय रुपियाँ प्रतिकेजी दाना जिरामा पाँच सय रुपियाँ घटेर आठ सय रुपियाँ प्रतिकेजीमा कारोबार भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको असोज र कात्तिकको तुलनामा फागुन १५ को मूल्यसूची तुलना गरेर हेर्दा जिराको भाउ घटेको देखिएको छ ।

सो अवधिमा प्रतिकेजी एक हजार चार सय रुपियाँमा पाइने जिराको धुलो अहिले प्रतिकेजीमा चार सय रुपियाँ घटेर एक हजारमा कारोबार भएको सङ्घले जनाएको छ । दैनिक प्रयोग हुने चिनीको मूल्य पनि १० रुपियाँले घटेको छ । गत असोज कात्तिकमा ११५ रुपियाँदेखि १३५ रुपियाँसम्म प्रतिकेजी कारोबार भएको चिनीको मूल्य हाल १०५ रुपियाँमा कारोबार भएको छ ।

सो अवधिमा मुसुरो, मुङ दाना, काँचो तोरीको तेललगायत वस्तुको मूल्य घटेको छ । सङ्घका अनुसार गत कात्तिकमा प्रतिकेजी १७० रुपियाँमा बिक्री भएको मुसुरो हाल १० रुपियाँ घटेर प्रतिकेजी १६५ रुपियाँ भएको छ । यस्तै सो अवधिमा १६५ रुपियाँ प्रतिकेजी पर्ने मुङ दानाको मूल्य १६० रुपियाँमा झरेको छ । सो अवधिमा काँचो तोरीको प्रतिलिटर ३१० रुपियाँ प्रतिलिटरबाट घटेर ३०० रुपियाँ भएको छ ।

यस्तै सो अवधिमा कालो भटमास प्रतिकेजी १० रुपियाँले घटेर २५० रुपियाँ भएको छ । ज्वानोको मूल्य प्रतिकेजी ५० घटेर ४५० रुपियाँ कायम भएको छ । गत कात्तिकमा २६० रुपियाँ प्रतिकेजी कारोबार भएको काँचो बदामको मूल्य २५० रुपियाँ प्रतिकेजीमा कारोबार भएको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार गत कात्तिक १५ मा ९० रुपियाँ प्रतिकेजी पर्ने स्टिम जिरा मसिनो चामलको मूल्य फागुन १५ मा आठ रुपियाँ वृद्धि भएर ९८ रुपियाँ प्रतिकेजी पुगेको छ । सोही अवधिमा १७५ रुपियाँ प्रतिकेजी पर्ने मुङ खोस्टाको मूल्य पाँच रुपियाँले वृद्धि भएर १८० पुगेको छ ।

यस्तै भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २० वृद्धि भएको छ । गत कात्तिकको १५ गते ३५० रुपियाँ प्रतिलिटरमा पाइने सो तेल हाल लिटरको ३७० रुपियाँ पुगेको छ । भटमासको तेल १९५ रुपियाँबाट वृद्धि भएर २०५ रुपियाँ पुगेको छ । यस्तै प्रतिलिटर दुई सय रुपियाँ पर्ने सन्फ्लावर तेलको मूल्य पाँच रुपियाँले बढेर २०५ पुगेको छ ।

समीक्षा अवधिमा प्रतिकेजी ३७५ रुपियाँ रहेको धनियाँ पाउडरको मूल्य २५ रुपियाँ बढेर चार सय प्रतिकेजी पुगेको छ । यस्तै १५० रुपियाँ पर्ने सेतो केराउको मूल्य १० रुपियाँले बढेर प्रतिकेजी १६० रुपियाँ पुगेको छ । प्रतिकेजी २४० रुपियाँ पर्ने राजमाको मूल्य १० रुपियाँ वृद्धि भएर २५० पुगेको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ०७:२४

लोकप्रिय