सूचनाको शक्ति - The Power Of Information

        

छोटी भन्सार पुनर्स्थापना गर्न सरकारसँग आग्रह

सशस्त्र द्वन्द्वमा विस्थापित भएका छोटी भन्सार  पुनर्स्थापना गर्नुपर्ने माग गर्दै बाँकेका उद्योगी व्यवसायीले सरकारसँग आग्रह गर्नुभएको छ ।

स्थानीय उद्योगी व्यवसायीले जिल्लाका विभिन्न नाकामा छोटी भन्सार नहुँदा अवैध आयात र तस्करी खुला रूपमा हुनेगरेको गुनासो गर्दै तत्काल छोटी भन्सार पुनर्स्थापना गर्दै नाकामा कडाइ गर्न सरकारसँग आग्रह गरेका हुन् ।

केही दिनअघि नेपालगन्ज भ्रमणमा आउनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालगन्ज उद्योग वाणिज्य सङ्घले सो माग गरेको सङ्घका अध्यक्ष टङ्क धामीले बताउनुभयो ।

उहाँले केही वर्षदेखि पटक–पटक छोटी भन्सार पुनर्स्थापनाको माग गर्दै आए पनि सुनुवाइ नभएको जनाउँदै छोटी भन्सारहरू नहुँदा एकातिर अवैध आयात बढेर नेपालगन्जको व्यापार व्यवसाय प्रभावित भएको र अर्कोतिर ठुलो परिमाणमा राजस्व चुहावट भइरहेको बताउनुभयो ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई सङ्घद्वारा बुझाइएको १४ बुँदे ज्ञापनपत्रमा सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका जिल्लाका सबै छोटी भन्सार स्थापना गरेर राजस्व सङ्कलन बढाउनुका साथै अवैध आयातमा नियन्त्रण गर्न माग गरिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामी र महासचिव भीमबहादुर रानाभाटले हस्ताक्षर गरी बुझाउनु भएको सो ज्ञापनपत्र सरकारी गाडीमै भन्सार छलेर सामान ल्याउने गरिएको गुनासो गर्दै रोक्न माग गरिएको छ । सरकारी अधिकारीहरू नै गाडी लिएर सीमावर्ती भारतीय बजार जाने गरेकाले सो विषयमा तत्काल ध्यानाकर्षण होस् भन्ने ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरी सो ज्ञापनपत्रमा नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सबैलाई भारतीय सीमा सुरक्षा बल एसएसबीलेजस्तै अनिवार्य रूपमा परिचयपत्र चेकजाँच गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै, सीमामा एक्स-रे र फेस रिडर मेसिन जडान गरी कार्यान्वयनमा ल्याउन समेत माग गरिएको छ । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले राजस्व चुहावट रोक्ने सवालमा सरकार गम्भीर र कडा रूपमा अघि बढेको जनाउँदै यो नाकबारेमा बुझेर आवश्यक व्यवस्था गरिने आश्वासन दिलाउनुभएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामीले बताउनुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ०७:१९

लोकप्रिय