सूचनाको शक्ति - The Power Of Information

        

वडाध्यक्षलाई कारवाहीको माग गर्दै नेपालगञ्जमा कामकाज ठप्प

नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारवाहीको माग गर्दै नेपालगञ्ज उप-महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

मङ्गलबार दिउँसो वडाध्यक्ष शेष कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन हुनेगरी अपशब्द प्रयोग गरेको र झुटा लाञ्छना लगाएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले बुधबार बिहानदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका छन् ।

वडाध्यक्ष शेष नगरप्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरेर फर्किने क्रममा आवञ्छित र गैर कानुनी क्रियाकलाप गरेकाले बाध्य भई आन्दोलनमा उत्रनुपरेको सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले जानकारी दिनुभयो ।

जोशीले भन्नुभयो, “कर्मचारीको अभिभावकको भूमिका रहेको व्यक्तिबाट कर्मचारी स्वयं असुरक्षित हुने अवस्था आएपछि बाध्य भई आन्दोलनमा उत्रनुपरेको छ ।” वडाध्यक्ष शेषलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरुले वडाध्यक्ष शेषलाई कारवाहीको विषयमा नगरप्रमुख विष्टको ध्यानाकर्षण गराएको जनाएका छन् । बुधबार उपमहानगरपालिकामा जम्मा भई जिल्ला प्रशासन कार्यालय पुगेर ध्यानाकर्षण गराउने कर्मचारीहरुले बताएका छन् ।

जन प्रतिनिधि र कर्मचारी समयमा नआउने गरेकोलगायतका आरोप लगाउँदै वडाध्यक्ष शेषले मङ्गलबार कार्यालय समयमा उपमहानगरपालिकामा गालीगलौज र अपशब्द प्रयोग गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

जनता समाजवादीबाट नेपालगञ्ज-५ का निर्वाचित वडाध्यक्ष शेष यसअघि पनि पटकपटक विवादमा पर्दै आएका छन् । नेपालगञ्जमा केही महिनाअघि भएको दुई समुदायको विवादमा मुख्य योजनाकारको रुपमा खान देखिएपछि कारवाहीको माग उठेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १५:०८

लोकप्रिय