सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीमा डेन्टल सेवा शुरु गर्ने तयारी

बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले राप्तीसोनारीका विभिन्न समस्या सम्वोधनका लागि राजधानी पुगेर सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् ।

पालिका अध्यक्ष पौडेल नेतृत्वको टोलिले राप्तीसोनारीको समग्र विकासलाई केन्द्रमा राखेर सम्बद्ध सरोकारवाला पक्षको ध्यानाकर्षण गराउने काम गरिरहेको छ ।

पौडेल नेतृत्वको टोलीले हिमाल डेन्टल अस्पतालका सञ्चालकहरुसँग भेटघाट गरेको छ । हालैमात्र आँखा उपचार सेवा शुरु गरेको राप्तीसोनारी गाउँपालिकाले डेन्टल सेवापनि विस्तारको योजना बनाएको छ ।

तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा पालिकाले राप्तीसोनारी अस्पतालबाट आँखा ओपिडी सेवा शुरु गरेपछि आँखाका बिरामीलाई ठूलो राहत पुगेको छ ।

त्यसैगरी दन्त उपचार सेवा अर्थात डेन्टल उपचारलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा हिमाल डेन्टल अस्पतालका सञ्चालकहरुकासँग छलफल गरिएको छ ।

पालिकाले कार्यविधि नै बनाएर डेन्टल सेवालाई पनि विस्तार गर्ने योजना बनाएको अध्यक्ष पौडेलले बताए । त्यसक्रममा हिमाल डेन्टल अस्पतालले कन्सल्टेन्ट सहयोग गर्न नसकिने भएपनि प्राविधिक सहयोगको प्रतिबद्धता जनाएको छ ।

टोलीले सोमवार भूमि आयोगका अध्यक्ष केशव निरौलालाई भेटेर भूमि समस्या समाधानको पहलका निमित्त आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ११:१५

लोकप्रिय