सूचनाको शक्ति - The Power Of Information

        

छोरा भेट्न नदिएपछि भारतीले औषधीको ओभरडोज लिएको खुलासा

नेपालगञ्जका गुण्डा नाइके योगराज ढकाल उर्फ रिगलको समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले औषधीको ओभरडोज लिएको खुलासा भएको छ । छोरालाई भेट्न नपाएपछि भारतीले औषधीको ओभरडोज लिई बेहोस भएपछि उनको भेरी अस्पतालमा उपचार हुँदै गरेको छ ।

नेपालगञ्जका स्थानीय सञ्चारकर्मी आशिष मल्ल ठकुरीका अनुसार छोरा पढ्ने विद्यालयले भारतीलाई छोरासँग भेट्न नदिएको र खाजासमेत फिर्ता गरिदिएपछि उनले आत्महत्याको प्रयास गरेकी हुन् ।

स्थानीय क्रिष्टल बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत आफ्नो छोरालाई भेट्न र खाजा पुर्याउन भारती दैनिकरुपमा विद्यालयमा जाने गरेकामा मंगलबार विद्यालयले उनको खाजा दिन नमिल्ने भनी फिर्ता पठाएको थियो ।

बालकको अभिभावकको नाममा हजुरबुवा र हजुरआमाको नाममात्रै रहेको भन्दै अभिभावकको नाम नरहेको अवस्थामा खाजा स्वीकार गर्न नसकिने भन्दै भारतीको खाजा फिर्ता पठाइदिएको थियो ।

विद्यालयले खाजा फिर्ता पठाइदिएपछि भारतीले भावुक हुँदै सामाजिक सञ्जाल फेसबुकमा ‘छोरा मलाई माफ गरिदेउ, म थाकी सकेँ’ भनी स्टाटस लेखेकी थिइन् । त्यस्तो स्टाटस लेखेको पाइएपछि कुनै अप्रिय घटना नहोस् भनी उनका दाइ र अन्य एक महिला भारतीको डेरामा पुग्दा उनी अचेत अवस्थामा फेला परेकी थिइन् ।

अचेत अवस्थामा फेला परेकी भारतीले झोलरुपमा रहेको कुनै औषधी आधी खाइसकेको तथा दैनिक खाने डिप्रेसनको औषधीको एक पत्ता सबै खाएको पाइएको थियाे ।  उनलाई आइसियुमा राखेर उपचार गरिरहेको छ ।

चेतन मानन्धर तर्फबाट जायजन्म भएको सन्तानलाई भेट्न भारती विद्यालयमा पुगेकी थिइन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ०८:०३

लोकप्रिय