२०८३ कात्तिक १६ , आइतबार 1, November 2026, Sunday

आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानको परिसरमा राखिँदै

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । बिहान ९ बजेदेखि परिसरमा राख्ने र आजै अन्तिम संस्कार गर्ने तयारी छ ।

आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उहाँ १९९९ साल असोज १६ मा धनकुटामा जन्मिनुभएको हो । आचार्यको परिवार धनकुटाबाट भारतको कालिम्पोङ डुम्सीपाडामा बसाइँ सरेको थियो ।

जम्मा १६ वर्ष मात्रै साङ्गीतिक जीवनमा सक्रिय भक्तराज आचार्यका झण्डै साढे चार सय गीत रेकर्ड भएका छन् । आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायतका गीतमा उहाँको आवाज गुन्जिन्छ ।

‘भजन शिरोमणि’ उपाधि पाएका उहाँका भजनदेखि आधुनिक, गजल, राष्ट्रिय, बालगीतलगायत छन् । २०४६ साल मङ्सिरमा बौद्धको एक रेष्टुरेन्ट नजिक उहाँ आक्रमणमा पर्नु भएको थियो ।

टाउकोमा गहिरो चोट लागेका उहाँको वीर अस्पतालमा उपचार गरिएको थियो । पछि २०४९ सालमा क्यान्सर देखियो । क्यान्सरका कारण उहाँको जिब्रो काट्नुपरेको थियो । त्यसपछि उहाँले गाउन र राम्रोसँग बोल्न सक्नुभएन । आचार्यको श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् । दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशील हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन १५ गते मंगलबार