सूचनाको शक्ति - The Power Of Information

        

मासिक १ लाख तलब पाउने नेपाली क्रिकेटर को को ?

नेपाली पुरुष राष्ट्रिय क्रिकेट खेलाडी मासिक तलब १ लाख रुपैयाँ पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को फागुन १२ र १४ गते बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । तर शीर्ष महिला राष्ट्रिय खेलाडीले त्यसको आधा ५० हजारमात्र मासिक तलब पाउनेछन् ।

यसअघि शीर्ष श्रेणी अन्तर्गत ‘ए’ श्रेणीमा रहेका खेलाडीले ६० हजार मासिक तलब पाइरहेका थिए । क्यानले सन् २०२४ का लागि गरेको केन्द्रीय सम्झौतामा पुरुष खेलाडीको शीर्ष श्रेणीको तलब ४० हजारले बढाएको हो ।

पाँच श्रेणी बनाई पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीलाई केन्द्रीय सम्झौतामा राखिएको छ । यसअघि पुरुष खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको थियो । उनीहरूले क्रमशः ६०, ५० र ४० हजार तलब पाएका थिए ।

‘ए’ श्रेणीमा रहेका कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेलले मासिक १ लाख पाउनेछन् । ‘बी’ श्रेणीमा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन् । उनीहरूले मासिक ७० हजार पाउनेछन् ।

श्रेणी ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी तथा श्रेणी ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन ।

‘सी’ ले ५५ हजार र ‘डी’ मा रहनेले मासिक ३५ हजार पाउनेछन् । क्यानले पहिलो पटक इमर्जिङ श्रेणी बनाएको छ, त्यसमा सातै प्रदेशका १–१ खेलाडी राखिएको छ ।

जसअनुसार कोशीबाट दीपेश कँडेल, मधेशबाट रुपेश सिंह, वाग्मतीबाट रिजन ढकाल, गण्डकीबाट विपिन खत्री, लुम्बिनीबाट देव खनाल, कर्णालीबाट अर्जुन खत्री र सुदूरपश्चिमबाट हेमन्त धामी छन् । उनीहरूको मासिक तलब २५ हजार रहेको छ ।

महिलातर्फ शीर्ष श्रेणी ‘ए’ मा रहेका खेलाडीले पुरुषको ‘सी’ श्रेणीमा रहेकाले पाउने बराबरको तलब पाउनेछन् । महिलातर्फ यसअघि ३ श्रेणीमा खेलाडीको वर्गीकरण गरिएको थियो । उनीहरूले क्रमशः २१, १८ र १५ हजार मासिक तलब पाएका थिए ।

यसपालि ५० हजार तलब पाउने ‘ए’ श्रेणीका महिला खेलाडीमा कप्तान इन्दु बर्मा, पूर्वकप्तान रुबिना क्षेत्री र सीता रानामगर छन् । ‘बी’ श्रेणीमा रहेकी कविता कुँवरले ३५ हजार तथा ‘सी’ श्रेणीमा रहेकी पूजा महतो, अस्मिना कर्माचार्यले ३० हजार मासिक तलब पाउनेछन् ।

अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल ‘डी’ श्रेणीमा छन् । उनीहरूले २५ हजार तलब पाउनेछन् । इमर्जिङ श्रेणीमा सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोदार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविनले मासिक २० हजार पाउनेछन् ।

क्यानको बैठकले ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई नेपाल ‘ए’ तथा महेश रिजाललाई यू–१९ महिला राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । सन् २०२७ मा क्यानले बंगलादेशसँग मिलेर आयोजना गर्न लागेको यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप मिसन २०२७ अन्तर्गत यू–१६ महिला अन्तरस्कुल क्रिकेट ट्यालेन्ट हन्ट एवं प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशमा सञ्चालन गर्नेछ ।

क्यान बैठकले दिवाकर घलेलाई प्रतियोगिता समितिको संयोजक, विक्रम विष्टलाई प्राविधिक समिति संयोजक, धिरेन्द्र साउदलाई विकास समिति संयोजक र प्रदिप मजगैयालाई महिला क्रिकेट विकास समिति संयोजकमा चयन गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार ०७:०४

लोकप्रिय