सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा सडकमा जथाभाबी फोहोर फाल्नेलाई कारबाही

 नेपालगञ्ज उप-महानगरपालिकाले नगरभित्र सडकमा फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याउन सुरु गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा हरेक दिन साँझ अनुगमन गरी सडकमा फोहर फाल्नेलाई तत्कालै कारबाही गर्न थालिएको हो ।

आइतबार साँझ पहिलो दिन अनुगमन गरी आधा दर्जन व्यावसायिक फर्म, बैङ्क र पसललाई जरिवाना गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

आइतबार साँझ ग्लोबल आइएमई बैङ्क, राही मार्ट, शर्मा प्लास्टिक, ए टु जेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बारलाई अनुगमनका क्रममा सडकमा जथाभाबी फोहोर फालेको भेटिएपछि नेपालगञ्ज उप–महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जनही पाँच हजार जरिवाना गरिएको छ ।

यसैगरी पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई सडकमा २४ घण्टा भन्दा बढी समयदेखि निर्माण सामग्री राखेवापत पाँच हजार रुपियाँ जरिवाना गरिएको नगर प्रमुख विष्टले बताउनुभयो। नगर प्रमुख विष्टले भन्नुभयो, “पटक–पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि बाध्य भएर जरिवाना गर्न थालेको हौँ ।”

नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार पाँच हजार रुपियाँदेखि ५० हजार रुपियाँसम्म जरिवाना तोकिएको छ । नगरको सरसफाइमा ध्यान केन्द्रित गरेको उप–महानगरपालिकाले हरेक दिन साँझ नगरमा अनुगमन गरिने जनाएको छ ।

नगर प्रमुख प विष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, होटेल व्यवसायी सङ्घ लगायत सर्वपक्षीय टोलीले धम्बोझी चोकदेखि गुल्मसम्म सडकको दायाँबायाँ क्षेत्रमा अनुगमन तथा निरीक्षण गरेको थियो ।

त्यसक्रममा सडकमा फोहोर फाल्ने र लामो समयसम्म निर्माण सामग्री सडकमै थुपार्नेलाई जरिवाना गरिएको हो । नगर सरसफाइका लागि यसअघि नेपालगञ्ज उप–महानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि नागरिक तहमा जागरण ल्याउन सचेतनामूलक अभियान समेत चलाएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १३:१५

लोकप्रिय