सूचनाको शक्ति - The Power Of Information

        

इलाम र बझाङमा उपनिर्वाचन

वैशाख १५ मा उपनिर्वाचन, २०८१ को सुरुमै दलहरूको शक्ति परीक्षण

इलाम र बझाङमा वैशाखमा हुने उपनिर्वाचनबाट दलहरूको शक्ति परीक्षण हुने भएको छ ।

प्रतिनिधिसभा अन्तर्गत इलाम–२ र सूदुरपश्चिम प्रदेशसभा अन्तर्गत बझाङ–१ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने मिति तोकेको हो ।

इलाम–२ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ–१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रीसमेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो । संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो ।

निर्वाचन आयोगको मिति २०८० फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ बैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ ।

आयोगले भन्यो, ‘इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ को प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ बाट निर्वाचित प्रदेशसभा सदस्य श्री पृथ्वीबहादुर सिंहको निधन भई नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभा सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित संघीय संसद सचिवालय र प्रदेशसभा सचिवालयबाट आयोगमा प्राप्त भएको थियो ।’

कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपनिर्वाचनको मिति तोकिएको आयोगको भनाई छ ।

दलहरूको शक्ति परीक्षण

इलाम र बझाङमा वैशाखमा हुने उपनिर्वाचनबाट दलहरूको शक्ति परीक्षण हुने भएको छ । ४ मंसिर ०७९ को निर्वाचनपछि आयोगले गराउन लागेको यो दोस्रो उपनिर्वाचन हो । ४ मंसिर ०७९ को चुनावमा इलाम २ मा एमालेका नेम्वाङ ३० हजार २० मतसहित निर्वाचित भएका थिए । कांग्रेसका डम्बरबहादुर खड्का २९ हजार ९०६, रास्वपाका प्रकाश सापकोटाले १ हजार ३८० मत प्राप्त गरेका थिए ।

मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बूले १ हजार ३६३, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले १ हजार २७२, जसपाका यामप्रसाद लिम्बू ७२४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बूले ६८४, राप्रपाका गणेशप्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए । बझाङ प्रदेश ‘क’मा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित निर्वाचित भएका थिए । उनको सडक दुर्घटनामा निधन भएपछि उक्त सिट रिक्त भएको हो ।

यो सिटमा एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६, राप्रपा नेपालका कर्णबहादुर खड्काले ४२६, राप्रपाका हरिलाल भट्टराईले ४०४ मत प्राप्त गरेका थिए । प्रदेश सभामा रास्वपाले भाग लिएको थिएन । आयोगको तथ्यांकअनुसार मंसिर ४ को निर्वाचनमा इलाम २ मा १ लाख १५ हजार ३४२ मतदाता रहेकामा ६८ हजार ९५१ मत खसेको थियो । बझाङमा १ लाख २२ हजार ३७६ मतदाता रहेकोमा ६२ हजार १७६ मत खसेको थियो । निर्वाचनको मिति तय गरेसँगै आयोगले मतदाता नामावली दर्ता कार्य स्थगन गरेको छ ।

मिति घोषणा भएपछि निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने मतदाता नामावली ऐनको व्यवस्था छ । यसैअनुसार नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरेको सहायक प्रवक्ता थानेश्वर भुसालले बताए । प्रतिनिधिसभा र प्रदेश सभाको रिक्त स्थानमा उपचुनावको मिति घोषणा गरेको आयोगले स्थानीय तहका रिक्त २४ स्थानमा तत्काल उपनिर्वाचन नहुने उनले बताए । स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १०:२०

लोकप्रिय