सूचनाको शक्ति - The Power Of Information

        

कृषि पर्यटनको मार्गचित्र

खजुरामा कृषि पर्यटन, ग्रामीण विकासको ‘आधार स्तम्भ’

स्थानीय तहको आर्थिक विकास र समृद्धिका लागि सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्छ । परम्परागत शैलीबाट कृषि अघि बढ्न सक्ने देखिँदैन ।

नेपाललाई कृषि प्रधान देश भनेर भनिरहँदा नेपालमा पर्यटनको सम्भावना त्यत्तिकै प्रवल छ । परम्परागत रूपमा गरिदै आएको निर्वाहमुखी कृषि प्रणालीले नेपाल अब नेपाल र नेपालीको आवश्यकता पूरा हुन नसकिरहेको कुरा हाम्रा दिन दिनै बाझो बन्दै गइरहेका जमिन र युवाको विदेश पलायने पुष्टि गर्दछ । एकातिर हाम्रा गाउँहरू दिनदिनै खाली बन्दै गइरहेका छन् भने अर्कोतर्फ शहरको जीवनशैली विविध कारणबाट दिन दिनै कष्टप्रद र पट्यारलाग्दो बन्दै गइरहेको छ । युरोप अमेरिकाजस्ता विकसित मुलुकका नागरिकमात्र होइन नेपालीहरूमा पनि भ्रमणमा निस्कने, अर्गानिक खाना खाने र ग्रामीण जीवनशैली प्रतिको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

यो छोटो पृष्ठभूमिलाई मात्र नियालेर हेर्दा पनि कृषि पर्यटनको अवधारणा, नेपालमा यसको आवश्यकता र सम्भावनाको बारेमा केही बुझ्न सकिन्छ । अबको नेपालको ग्रामीण विकासको आधार भनेको कृषि पर्यटन हो भनेरभन्दा फरक पर्ने अवस्था छैन । नेपालीको सरल जीवनशैली, हिमाल पहाड र तराईमा भएको विविधतायुक्त भौगोलिक बनावटमा पाइने विविधायुक्त धर्मसंस्कृति, रीतिरिवाज, परम्परा, जीवनशैली र फरक–फरक रूपमा अपनाउँदै आइरहेको कृषि प्रणाली कृषि पर्यटन विकासका आधार हुन् । कृषि र पर्यटनको आ–आफ्नै महत्व छ । दुवैलाई एकै ठाउँमा समन्वय गरेर विकासको योजना हालसम्म बनेको पाइँदैन ।

कृषि र पर्यटन दुवैलाई समन्वय गरेर विकासको योजना बनाउँदा अवश्य पनि फाइदा पुग्छ र विकासको गति चाँडो हुन्छ । कृषि पर्यटनको एकिकृत विकास योजनाले कृषि उत्पादनमा सुदृढीकरण र बजारमा प्रभाव पर्नुका साथै प्राविधिक विषय तथा कृषि सूचनाको समेत आदानप्रदान हुन्छ । कृषि पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई मौलिक नेपाली संस्कृति र सामजिक सद्भाव बढ्ने प्रचुर सम्भावना हुन्छ । राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग भएको र देश विकासको लागि पर्याप्त सम्भावना बोकेको क्षेत्र पर्यटन क्षेत्र हो । अस्थीर राजनीतिक अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नु अबको दायित्व हो ।

कृषि र पर्यटनलाई एकअर्काको अन्तर सम्बन्धित र परिपूरक अङ्गको रूपमा बुझिनु नै सामान्यतयः कृषि पर्यटनको अवधारणा हो । एकातिर यसले कृषकलाई अनाज उत्पादन तथा पशुपालनमा आकर्षित गर्दछ भने अर्कोतर्फ पर्यटकलाई नेपालको कृषि प्रणाली तथा नेपाली ग्रामीण जीवनशैलीको बारेमा अध्ययन अनुसन्धानमा सहयोग पु¥याउनुका साथै अर्गानिक र पोषणयुक्त खानाको स्वाद समेत दिलाउँछ । पर्यटन उद्योग पूर्णरुपमा सेवामा आधारित व्यवसाय भएकाले अन्य उद्योग व्यवसायको तुलनामा यसको विकास र प्रवद्र्धन बढी चुनौतिपूर्ण हुनुको साथै संवेदनशील पनि छ ।

कुनै एक पक्षमा आएको परिवर्तनले अर्को पक्षमा तुरुन्त असर पार्छ । तर यसो भन्दैमा सन्तुलित पर्यटन व्यवस्थापन गर्न नसकिने भने होइन । कृषि पर्यटनको विदेशी नयाँ प्रविधि र नेपाली नयाँ युवा कृषकका बीचमा उत्साह र प्राविधिक पक्षको आदान प्रदान भई उत्पादनमा विशिष्टता, प्रसोधनमा नविनता, स्वादमा मैलिकता, उपभोगमा गुणस्तरीयता र स्थानीय बजार प्रवद्र्धनमा समेत सहयोग पुग्छ भने व्यवसायीक स्थायित्व र युवा कृषकको कृषिमा सहभागिता बढ्ने भएकोले कृषिलाई पर्यटनसँग जोड्न जरुरी छ । कृषि पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विकास भई पर्यटनको प्रत्यक्ष सहभागितामा मैलिक उत्पादनको प्रशोधन हुन्छ ।

कृषि पर्यटन समाजमा प्रत्यक्ष सहभागि हुनाले सामाजिक सद्भाव बढ्छ । फर्मस्टे र होमस्टेको सुव्यवस्थाले पर्यटनको आकर्षण बढ्न गई पर्यटन आवागमन विस्तार हुन्छ । सामाजिक सद्भावको दायरा विस्तार भई मौलिक घरेलु वस्तुहरुको विस्तार हुन्छ । स्वदेशको पहिचान कृषि उपजबाट निर्मित बस्तु विदेशमा विस्तार हुने सुनिश्चित भएकाले पर्यटनलाई कृषिसंग जोड्नु जरुरी छ । पर्यटन उद्योगमा सन्तुलित व्यवस्थापनका लागि यस क्षेत्रका विज्ञहरुको सुझाव र सल्लाह अनुसार उपयोगी र प्रभावकारी कार्यक्रम तथा रणनीति तय गरी सरकारी र नीजि क्षेत्र एक भई पर्यटन विकास र प्रवद्र्धनमा अघि बढ्नु आजको अनिवार्य आवश्यकता बनेको छ ।

पर्यटन उद्योगको विकास र पर्यटनका लागि पर्यटनसँग सम्बन्धीत व्यवसायीक क्षेत्र तथा स्थलहरुको सुधार, विकास र प्रवद्र्धन गर्नुपर्छ तर यो मात्र प्रयाप्त हुँदैन । आजको कडा प्रतिस्पर्धाको जमनामा सम्बन्धीत क्षेत्रहरुको विकास र प्रवद्र्धनका साथै तिनीहरुको प्रचारप्रसार तथा बजार प्रवद्र्धनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । पर्यटन र कृषिको प्रतिफल चाँडै प्राप्त हुने भएकाले अब स्थानीय तहले त्यसअनुसार बजेट विनियोजन गर्नुपर्छ । कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने अहिलेको आवश्यकता हो । स्थानीय तहको आर्थिक विकास र समृद्धिका लागि सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्छ ।

अब पुरानै ढर्राको बजेटले स्थानीय तहमात्रै होइन मुलुककै समृद्धि सम्भव छैन । परम्परागत शैलीबाट कृषि अघि बढ्न सक्ने देखिँदैन । अब निश्चित योजना र दृष्टिकोणसहित बजेट ल्याउनुपर्छ । आधुनिक प्रविधिको प्रयोग गर्नेगरी स्थानीय तहले कृषिसम्बन्धी नीति बनाएर अब हलोका भरमा कृषिको उत्पादकत्व बढाउन सकिँदैन भन्ने कुरालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ । व्यापारघाटा कम गर्ने एकमात्र क्षेत्र कृषि भएकै कारण कृषिकै माध्यमबाट जनताको जीवनस्तर छिटो उकासिने र पर्यटकलाई आफूतिर आकर्षित गर्ने एउटा प्रमूख क्षेत्र कृषि नै हो । कृषि मन्त्रालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशसँग अन्न निर्यात गर्ने क्षमता छ ।

प्रदेशिक योजना आयोगका अनुसार यो प्रदेशको कुल भूभागमा २७ प्रतिशत कृषि भूमि छ । यहाँ धान, गहुँ, मकै, र दलहनको सम्भावना राम्रो रहेको छ । रोल्पा, रुकुम र प्युठानबाहेकका जिल्ला खाद्यान्नमा आत्मनिर्भर छन् । दुग्ध पदार्थ र माछामा यो प्रदेश आत्मनिर्भर छ । तराईका सबै जिल्ला दलहन र तेलहन लागि उत्कृष्ट छन् । अझ बाँके जिल्ला धेरै धान उत्पादन हुने जिल्लामध्येमा पर्छ । त्यसमा पनि खजुरा गाउँपालिकामा सबैभन्दा धेरै धान खेती हुने गरेको छ । त्यस्तै खजुरा गाउँपालिकाको सीतापुर तरकारी उत्पादनले प्रख्यात छ । नेपालकै सबैभन्दा ठूलो र प्रधान कार्यालयसमेत रहेको कपास प्रशोधन केन्द्र रहेको छ ।

हाल अर्ध चालु अवस्थामा रहेको कपास प्रशोधन केन्द्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सके यसले गाउँपालिका क्षेत्रका किसानहरुको जीवनस्तरमा सुधार आउनुका साथै आयस्तरमा समेत वृद्धि हुनेछ । यसलाई पूर्णरुपमा सञ्चालनमा ल्याउनका लागि गाउँपालिकाको विशेष चासो र पहलकदमी आवश्यक छ । जसका कारण गाउँपालिकाका किसानहरु कपासमा पूर्ण निर्भर भएर मनग्ये आम्दानी गर्न सक्ने प्रशस्त सम्भावनाहरु छन् । कपास खेतीको प्रवद्र्धन गर्नका लागि गाउँपालिकाले कपास उद्योगलाई पूर्ण सञ्चालनमा ल्याउनै पर्ने अहिलेको बाध्यकारी अवस्था हो । कृषिका लागि अर्को मुख्य चुनौती सिँचाइ हो ।

यहाँको धेरै भू–भागमा अहिले पनि सिँचाइ छैन । किसानले समयमै मलखाद बीउबीजन पाउन सकेको अवस्था छैन । किसानका लागि मलखाद, बीउबीजन र सिँचाइको व्यवस्था मिलाउनेतर्फ स्थानीय सरकारले ध्यान दिनैपर्छ । पछिल्लो कृषि मजदुरको अभाव र खेतीयोग्य जमिन मासिने क्रम बढ्दो छ । यसलाई रोक्नका लागि गाउँपालिकाको विशेष अभियान जरुरी छ । कृषि भूमि संरक्षणका लागि खजुरा गाउँपालिकाले भू–उपयोग नीति कार्यान्वयन गर्नुपर्ने अवस्था छ । वैज्ञानिक, व्यावसायिक तथा आधुनिक कृषि प्रणालीका लागि यान्त्रिकीकरण र कृषि शिक्षामा जोड दिने अर्को महत्वपूर्ण काम गाउँपालिकाले गर्नैपर्छ ।

यसका साथै स्यालो ट्युबवेल जस्ता साना सिँचाइलाई प्रभावकारी स्थानीय तहले बनाउनुपर्छ । कृषिलाई पर्यटनसँग जोडेर दोहोरो फाइदा लिने नीति अब स्थानीय तहले अवलम्बन गर्नसके पर्यटकको बसाई पनि लम्बिन्छ । कृषि उपजको बजारीकरणमा टेवा पुग्छ र कृषकले लाभ पाउँछन् । अर्को, होमस्टे पर्यटन विकासको अवधारणाले नेपालमा हाल केही चर्चा पाए पनि व्यावहारिक धरातलमा यसको प्रयोग र विकास खासै भएकोे पाइँदैन यसको सार्थक प्रयोगका लागि पनि कृषि पर्यटनको विकास र प्रर्वद्धन एक महत्वपूर्ण कडी हुनसक्छ । कृषि पर्यटन कृृषकको अतिरिक्त आम्दानीको स्रोत, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिकोे माध्यम हो । पशुपालनको लागि धेरै सम्भावना भए पनि त्यसको सही प्रयोग हुन सकिरहेको छैन ।

तसर्थः राज्यले कृषि पर्यटनको विकासमा यथोचित ध्यान दिन सकेको खण्डमा कृषि सबैको रोजाईको विषय बन्नुको साथै नेपालको समृद्धिका लागि कोशेढुङ्गासमेत साबित हुनसक्छ । नेपालमा कृषि पर्यटनको बजारको खासै समस्या छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा हामी सहजरूपमा प्रवेश गर्न सक्छौ तर यसको अवधारणा अनुरूपको पूर्वाधार निर्माण तथा यसको व्यवस्थापकीय कार्य कौशलतामा हाम्रो पर्याप्त लगानी र मिहिनेतको खाँचो छ । त्यसो त नेपालीको जीवनशैली अहिले दिन प्रतिदिन रूपान्तरित भइरहेको छ । हप्ताको एकचोटि बिदा मनाउन घर बाहिर जाने संस्कारको विकास अहिले तीव्र रूपमा भइरहेको छ । हाम्रा स्कुल तथा कलेजले समेत आफ्ना विद्यार्थीलाई विविध भ्रमणका कार्यक्रम तयार गरेको पाइन्छ ।

सरकारी, गैह्रसरकारी सङ्घ संस्थामा कार्यरत कर्मचारी विविध कार्यक्रम बनाएर भ्रमणमा निस्कने अहिले फेशनजस्तै बनेको छ जुन सकारात्मक पक्ष हो । अबको हाम्रो पहल भनेको भ्रमणमा निस्कने यी प्रत्येक पाइलालाई गाउँगाउँका र बस्तीबस्तीमा पु¥याउन सक्नुपर्छ । कलम र कम्प्युटरको किप्याडमा रमाउने हातलाई कम्तीमा पनि वर्षको एक दिनका लागि भएपनि हलो, कुटो, कोदालो समाएर रमाउने वातावरण तयार पारिनुपर्छ । के हामी आफ्ना नानीसँगै यी सुन्दर र अतिरमणीय गाउँमा वस्तिमा स्थानीय ताजा र अर्गा्निक खानेकुरा खादै एकरात बिताउन सक्दैनौ ? के हामी वर्षमा एक दिन स्थानीय कृषकसँगै प्रत्यक्ष रूपमा कृषि कार्यमा संलग्न भएर बिताउँदा रमाइलो नलाग्ला ?

एकजना शहरीया बच्चाका लागि आफ्नै आँखा अगाडि भैँसीको थुनबाट दुहेको दूध पिलाउनु, काठको ठेकीमा मदानीले मन्थन गर्दै दहीबाट मही, नौनी आदि उत्पादन प्रक्रियामा संलग्न रहनु र आफैँ उपभोग गर्नु रोमाञ्चक नबन्ला ? के असारे गीतका साथ हिलोमा धान रोपाइमा सहभागी हुँदाको क्षण रोमाञ्चक नबन्ला ? के हाम्रा साथी, भाइ, बहिनी तथा छोरा छोरीको फेसबुक वालमा यी सजिव तस्वीरले स्थान नपाउलान ? जे होस् हामीमा कृषि पर्यटनको अपार सम्भावना छन् खाँचो छ त केवल एउटा निश्चित दृष्टिका साथ काम गर्ने इच्छा शक्ति जरुरी छ । यस क्षेत्रमा स्थानीय तहको पहल र चासो हुनुपर्छ । किनकी, गाउँमा सिंहदरबार आएको हामीले बारम्बार भनिरहेका छौं, अब गाउँकै सिंहदरबारले कृषि पर्यटनको स्पष्ट मार्गचित्र तयार गरेर अघि बढ्नैपर्छ । यसमा आम गाउँपालिकाका आम नागरिकहरु दरिलो ढंगले होस्टेमा हैसे गर्दै लाग्ने वातावरण अब गाउँको सिंहदरबार खजुराले बनाउनुपर्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ०९:३०