सूचनाको शक्ति - The Power Of Information

        

आईसीसी विश्वकप लिग-२ क्रिकेट : नेपाललाई सजिलै हरायो नेदरल्यान्ड्सले

 आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपाली टोली पराजित भएको छ । नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो । जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले ३७.५ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

नेदरल्यान्डलाई ओपनर ब्याट्सम्यानद्वय म्याक्स ओ’डड र माइकल लेभिटले गतिलो सुरुआत दिएका थिए । यी दुबै ओपनरले ६१ रनको साझेदारी गरे । लेभिटले ३९ र म्याक्सले २८ रन बनाए । डच टोलीका अन्य ब्याट्सम्यानले पनि निखारिएको प्रदर्शन गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका बिक्रमजित सिंहले अविजित ५८ रन बनाए । उनले ९२ बलको सामना गरी सात चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अविजित ४६ रन बनाए ।

उनले ७५ बलमा तीन चौका प्रहार गरे । नेपाली टोलीका बलर ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीका ब्याट्सम्यानजस्तै बलरहरु पनि प्रभावकारी देखिएनन् ।

पहिले ब्याटिङ गरेको नेपालका लागि भने ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ६६ रनको योगदान गरेका थिए । तल्लोक्रमका ब्याट्सम्यान करण केसीले २६ रन बनाए । आरिफ शेखले पनि टोलीको खातामा २२ रन थपे । कप्तान रोहित पौडेल १६ रन बनाउँदै आउट भए ।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले १७ रन बटुले । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुशल भर्तेलवाहेक नेपालका माथिल्लो क्रममा कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपालले एक सय ३५ रनको कुल स्कोरमा आठ विकेट गुमाएसकेको थियो । तर, आरिफ शेख र करण केसीले ३६ रनको साझेदारी गर्दै टोलीलाई राहत दिएका थिए । नेपालले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो ।

नेदरल्यान्ड्सका बलर भिभियन किङ्मा र आर्यन दत्तले तीन–तीन विकेट लिए । बास डे लिडले पनि दुई विकेट हात पारे । रोल्फ भान डर मेर्वेले एक विकेट लिए । नेपालका एक ब्याट्सम्यान भने रन आउट भएका थिए ।

नेदरल्यान्ड्सको पहिलो विकेट नेपाली बलर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले ओपनर ब्याट्सम्यान माइकल लेभिटलाई ३९ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि लेभिटले ३४ बलमा चार छक्का र तीन चौका हिर्काएका थिए । ८.४ ओभरमा लेभिट आउट हुँदा नेदरल्यान्ड्सले ६१ रन बनाएको थियो ।

डच टोलीको दोस्रो विकेट ललित राजवंशीले लिएका थिए । उनले नेदरल्यान्ड्सका अर्का ओपनर म्याक्स ओ’डडलाई २८ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । आउट हुनुअघि म्याक्सले २६ बलमा दुई छक्का र दुई चौका हिर्काएका थिए । ११.४ ओभरमा म्याक्स आउट हुँदा नेदरल्यान्ड्सले ७१ रन बनाएको थियो ।

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । उनी १७ रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले बास डे लिडद्वारा क्याच गराएका थिए । ८.३ ओभरमा आसिफ शेख आउट हुँदा नेपालले ४२ रन बनाएको छ ।

नेपालले दोस्रो विकेटमा रुपमा भने अनिल शाहलाई गुमाएको थियो । तेस्रो नम्बरका क्रिज समाल्न आएका अनिल ११ बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनलाई भिभियन किङ्माले बोल्ड गरेका थिए । ११औँ ओभरको अन्तिम बलमा अनिल आउट हुँदा नेपालले ५० रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटमा रुपमा कुशल मल्ललाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल नौ बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नेदरल्यान्ड्सका बलर आर्यन दत्तले एलबीडब्लूको धरापमा पारेका थिए । १३औँ ओभरको अन्तिम बलमा कुशल मल्ल आउट हुँदा नेपालले ५४ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका रोहित ४० बलमा दुई चौकाको मद्दतले १६ रन बनाउँदै आउट भएका थिए । उनलाई डच बलर आर्यन दत्तले नोच कोरेसद्वारा क्याच गराएका थिए । २४.३ ओभरमा उनी आउट हुँदा नेपालले ८७ रन बनाएको थियो ।

यसैगरी नेपालले पाँचौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी ११ बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी रनआउट भएका थिए । २७.४ ओभरमा उनी आउट हुँदा नेपालले ९३ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । आठ बलको सामना गरेका भीम खाता खोल्नुअघि नै आउट भएका थिए । बास डी लिडले बोल्ड गरेका थिए । २९.३ ओभरमा भीम आउट हुँदा नेपाली टोलीले ९४ रन बनाएको थियो ।

नेपालले सातौँ ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेलले पेभेलियन फर्किनुअघि ६६ रन बनाएका थिए । उनले ९३ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाएको यो आठौँ अर्धशतक पनि हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर भने एक सय १५ रन हो । २७ वर्षीय कुशल भुर्तेललाई डच बलर रोल्फ भान डेर मर्वेले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए । ३६.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपाली टोलीले एक सय २२ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । गुलसनले पेभेलियन फर्किनुअघि १७ बलमा पाँच रन बनाएका थिए । गुलसनलाई आर्यन दत्तले साइब्रान्डद्वारा क्याच गराएका थिए । आर्यन दत्तले लिएको यो तेस्रो विकेट थियो । ४२.२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ३५ रन बनाएको थियो ।

नेपालले नवौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । आठौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ५० बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । उनलाई डच बलर किङ्माले म्याक्स ओ’डडद्वारा क्याच गराएका थिए । ४८.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ७१ रन बनाएको थियो ।

नेपालले अन्तिम विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले २६ रन बनाएका थिए । उनले केवल २७ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काएका थिए । उनलाई बास डे लिडले साइब्रान्डद्वारा क्याच गराएका थिए ।

जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स दुबैले आफ्नो चौथो तथा अन्तिम खेल खेलेका हुन् । यो खेलसँगै लिग–२ को जारी शृंखला पनि सकिएको छ । चारमध्ये तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।

नामिबियाले दुई खेलमा नेपाललाई र एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । एक खेलमा भने नामिबियाको टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो । आफ्नो अन्तिम खेलमा नेपाललाई हराउँदै नेदरल्यान्ड्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेदरल्यान्ड्सले एक खेलमा नामिबिया र एक खेलमा नेपाललाई हराएको हो । नेदरल्यान्ड्सको टोली एक खेलमा नेपाल र एक खेलमा नामिबियासँग पराजित भएको थियो । चारमध्ये एक खेलमा मात्र जित हात पार्न सकेको नेपाल दुई अंकसहित तेस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । नेपाली टोली दुई खेलमा नामिबिया र एक खेलमा नेदरल्यान्ड्ससँग पराजित भयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतवार १६:१४

लोकप्रिय