सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरका किशोरीमा रक्तअल्पताको समस्या

स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न पालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता परीक्षण सुरु गरेको छ । रक्तअल्पता भनेको शरीरमा रगतको कमी हुनु हो ।

सोही क्रममा जिल्लाको कोहलपुरका दुई वटा सामुदायिक विद्यालयका ५०३ जना किशोरीको रक्तअल्पता परीक्षण गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

दुई वटा विद्यालयका ५०३ जना किशोरीको रक्त परीक्षण गरिएकोमा तीन जनाको शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको स्वास्थ्य कार्यालयका प्रयोगशाला प्रमुख केशव ज्ञवालीले बताउनुभयो ।

उहाँले रक्तअल्पता देखिएका किशोरीहरुलाई तत्काल उपचार प्रक्रियामा पठाइएको पनि बताउनुभयो । तीन जनामा समस्या देखिएपछि अन्यमा पनि हुनसक्ने आशङ्का भएकाले सबै विद्यालयमा परीक्षण गरिने जनाइएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १ को कृष्ण मावि कौशल्या नगरमा २३५ जना किशोरीको परीक्षण गर्दा एक जना र वडा नम्बर १२ स्थित ज्ञानज्योति माविका २६८ जना किशोरीको जाँच गर्दा दुई जनामा रक्तअल्पता देखिएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताउनुभयो ।

रक्तअल्पता देखिएका किशोरीहरुलाई आइरन चक्की खुवाउन सुझाइएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन देव नारायण उपाध्यायले बताउनुभयो ।

उहाँले शरीरमा भएको रगतमा सामान्यभन्दा पनि थोरै राता रक्तकोष भएमा रक्तअल्पता हुन्छ । रक्तअल्पता भयो भने शारीरिक र मानसिक विकासमा बाधा पुग्दछ र रक्तअल्पता भइरह्यो भने मृत्यु पनि हुन सक्ने जोखिम रहन्छ ।

रगत परीक्षण कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रयोगशाला प्रमुख केशव ज्ञवाली, ल्याव टेक्निसियन पुष्प वलीसहितका स्वास्थ्यकर्मीहरु खटिनुभएको छ ।

थकाइ लाग्नु तथा अल्छी हुनु, काम गर्न, पढ्न र खेल्न मन नलाग्नु, नङ, हत्केला, ओठ, जिब्रो र आँखाको परेलामुनिको भाग सेतो फुस्रो देखिनु, पढेको कुरा नबुझ्नु र स्मरणशक्ति कम हुनु, अलि अलि काम गर्दा पनि स्वाँ.स्वाँ. हुनु, मुटु ढुक्ढुक् हुनु, कहिलेकाहीं रिंगटा लाग्नु, मुर्छा पर्नुलगायतका लक्षण देखिए रक्तअल्पता भएको हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

नेपालगन्जका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. फरहत बानुले प्रशस्त मात्रामा फलाम तत्व पाइने खानेकुराहरू खाने, रक्तअल्पता रोक्न भिटामिन ए र भिटामिन सी भएका खानेकुरा पनि खाने, रगतको कमी भएमा आइरन चक्की खाने हो भने रक्तअल्पताको समस्याबाट छुटकरा मिल्ने बताउनुभयो । उहाँले बेला बेलामा रगत परीक्षण गराइराख्नुपर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतवार १६:१०

लोकप्रिय