सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा दादुुरा-रुबेला खोप अभियान सुरु

दादुरा-रुबेलाको उच्च जोखिममा रहेको बाँकेमा नौ महिनादेखि १५ वर्ष उमेर उमेर समूहका बालबालिकाका लागि खोप अभियान सुरु भएको छ । गत वर्ष नेपालगञ्जमा एकसाथ धेरै बालबालिकाका दादुरा देखिएका कारण यसपटक विशेष महत्वका साथ अभियान सुरु गरिएको हो ।

आइतबारदेखि सुरु भएको अभियानमा एक लाख ६५ हजार ६५५ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, ‘जिल्लाका ८१ वटै वडामा तोकिएका खोप केन्द्रमा बिहानैदेखि खोप लगाउने कार्य जारी छ । ’

नेपालगञ्ज कन्या आधारभूत विद्यालयमा बाँकेका प्रमुख जिल्ला अधिकारी, श्रवणकुमार पोखरेल, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी लगायतले खोप अभियानको औपचारिक शुभारम्भ गर्नुभयो ।

अभियान अन्तर्गत नेपालगन्ज उप-महानगरपालिकामा ४२ हजार २७०, कोहलपुर नगरपालिकामा २५ हजार ७१३, बैजनाथ गाउँपालिकामा १९ हजार २२३, राप्ती सोनारी गाउँपालिकामा १८ हजार ६६१, जानकी गाउँपालिकामा १८ हजार १४९, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य राखिएको छ ।

सो अभियान अन्तर्गत नौ महिनादेखि पाँच वर्ष मुनिका ४८ हजार ८०१ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइनेछ ।

यही अभियानमा नै ९ महिनादेखि पाँच वर्ष सम्मका बालबालिकालाई दादुरा रुबेलासँगै पूर्ण खोपका लागि खोप लगाउन छुट भएको भए डिपिटी, हेबपि, एआईबिच जस्ता तीन प्रकारका खोप समेत प्रदान गरिँदैछ । यो अभियान फागुन ३० गतेसम्म चल्नेछ ।

नेपालगञ्ज उप-महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले कुनैपनि बालबालिकालाई खोप लगाउन नछुटुन भनेर विशेष तयारी अपनाइएको बताउनुभयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतवार १५:२३

लोकप्रिय