सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा विद्यार्थीलाई क्रिकेट खेल सामग्री हस्तान्तरण

गत वर्ष उप मेयरकप छात्रा क्रिकेट प्रतियोगितामा भाग लिएका पाँच सामुदायिक विद्यालयका छात्राहरूलाई कोहलपुर नगरपालिकाले क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाले पाँच वटा माध्यमिक विद्यालयका छात्राहरूको खेलमा सुधार ल्याउन क्रिकेट सामग्री हस्तान्तरण गरेको हो।

कोहलपुर नगरपालिकाका उप प्रमुख सङ्गीता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल, नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि थापा लगायतले नगरका पाँचवटै विद्यालयमै पुगेर क्रिकेट खेल सामाग्री विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

गत वर्ष उप मेयर कप खेलकुद प्रतियोगितामा भाग लिएका विद्यालयहरूले क्रिकेट अभ्यासका लागि खेल सामाग्रीको अभाव रहेको गुनासो गरेपछि ती सामुदायिक विद्यालयहरूलाई क्रिकेट खेल सामग्री वितरण गरिएको कोहलपुर नगर पालिककाका उप प्रमुख सुवेदीले बताउनुभयो ।

उहाँले नेपालमा महिला क्रिकेटको सुरुवात भएको यस ठाउँका महिला क्रिकेट खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराएको स्मरण गर्दै क्षमतावान् खेलाडीलाई प्रशस्त अभ्यास गर्ने र खेल्ने अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले विद्यार्थीलाई खेलमा प्रशस्त अभ्यास गरी उप प्रमुख कपमा विजयीको शुभकामना व्यक्त गर्नुभयो ।

नगरपालिकाले ज्ञान ज्योति मावि बगिया, त्रिभुवन मावि, ज्ञान ज्योति मावि चप्परगौडी, सगरमाथा ज्ञानपुञ्ज मावि र वालशिक्षा मावि भरैयालाई क्रिकेट खेलका लागि खेल सामग्री वितरण गरिएको कोहलपुर खेलकुद विकास समिति कोहलपुरका अध्यक्ष बुद्धि बहादुर थापाले बताउनुभयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतवार १५:२१

लोकप्रिय