सूचनाको शक्ति - The Power Of Information

        

प्रकृति र जैविक विविधता

खजुराको सान, बाँकेकै पहिलो गिजरा सामुदायीक वन

वातावरणीय क्षेत्रमा रहेका चुनौतिहरुलाई जोगाउनका लागि खजुराले नयाँनयाँ योजनाहरु ल्याइरहेको छ । वातावरणलाई जोगाई राख्न खासगरी घरयासी वातावरण र सामाजिक वातावरणले निकै ठुलो भूमिका खेलिरहेको हुन्छ ।

खजुरा गाउँपालिका आफैंमा नगरोन्मुख गाउँपालिका हो । जहाँ ठुला नदी नाला र घनघोर जङ्गलहरु छैनन् । पश्चिम सिमानामा रहेको मानखोला बाहेक खजुरा गाउँपालिकाको क्षेत्रमा कुनै नदी छैनन् । त्यही मानखोलाको तिरमा रहेको एकमात्र गिजरा सामुदायीक बन जसले सिंगो खजुरा गाउँपालिकाको बन क्षेत्रमा प्रतिनिधित्व गर्छ । वातावरणीय हिसाबले पनि यो सामुदायीक बन पुरै खजुरा गाउँपालिकाको शान बनेको छ । गिजरा सामुदायीक बनबाहेक खजुरा गाउँपालिकामा कुनै पनि सामुदायीक बनहरु छैनन् ।

कतिपय क्षेत्रमा निजी लगानीमा बनाइएका निजी बनहरुले खजुराको वातावरणलाई सन्तुलमा राख्नका लागि ठुलो भूमिका खेलिरहेका छन् । २०४८ सालमा सुुरु भएको बाँके जिल्लाकै पहिलो सामुदायिक वन हो, गिजरा सामुदायीक वन । यो वनले बाँके जिल्लाका धेरै सामुदायिक वनलाई उछिनेको छ । २०५५ सालदेखि जिल्लास्तरीय पुरस्कार पाउँदै आएको छ । गिजरा सामुदायिक वन खजुरा गाउँपालिका–६ स्थित पुरैनामा पर्छ । २०५५–०५६, २०५९–०६० र २०६०–०६१ मा जिल्लाबाट उत्कृष्ट पुरस्कार पाएको गिजरा सामुदायिक वनले २०७१ मा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाइसकेको छ ।

गाउँपालिकाको सबैभन्दा ठूलो सामुदायिक वन गिजरा नै हो । यद्यपि पालिकामा हरित सिर्जना सामुदायिक वन, गुँरासपुर सामुदायिक वन र शिव सामुदायिक वन गरी तीन वटा स–साना वन पनि रहेका छन् । १२३ हेक्टरमा फैलिएको यो वनमा मुख्य त सिमल, सिसौ, खयर, कलम (कदम), जामुन, डुम्री, टोटे, कालीकाढ, मेदा, धाइरो, हर्रो, बर्रो, सिदुरे, सागुवान, राजवृक्ष र अर्जुनका रुखहरू पाइन्छ । गिजरा सामुदायिक वनमा जंगलमा कुरिलो, सर्पगन्ध, खस, वनकरेला, तरुल, गर्जेलहरा, पिपला, मेहदा लगायत जडीबुटी पनि पाइन्छ ।

वर्षको करिब १२ लाख आम्दानी गर्दै आएको गिजरा सामुदायिक वनमा निलगाई, बादर, स्याल, खरायो, दुम्सी, बँदेल, चितुवा, भेडेबाघ, हुँडारजस्ता जीव–जन्तु पाइन्छन् । झिँजा दाउरा, बेत, बाँस, सिसौ र खयरको काठ बिक्री गरेर आएको आम्दानीबाहेक नर्सरीको पनि आयस्रोत भएको छ, गिजरा सामुदायिक वन । दुईवटा पिकनिक स्पट बनाइएको वन क्षेत्रमा ठाउँठाउँमा पानीको सुविधा छ । कार्यालय सञ्चालनका लागि साना दुई वटा भवन पनि बनाइएको छ ।

विभिन्न सामाजिक काम गर्दै आएको गिजरा सामुदायिक वन समूहले विद्यार्थी छात्रवृत्ति, शौचालय निर्माणका लाथि आर्थिक सहयोग, वैदेशिक रोजगारीमा जानेलाई आर्थिक सहयोग र आयआर्जनका काममा आर्थिक सहयोग गर्दै आएको छ । गिजरा सामुदायिक वनमा वातावरण सन्तुलनमा पनि उल्लेख्य भूमिका निर्वाह गरेको छ । नगरोन्मुख गाउँपालिका भए पनि खजुरालाई बढ्दो शहरीकरणले वातावरण सन्तुलनमा राख्नका लागि निकै चुनौति छ । वातावरणीय क्षेत्रमा रहेका चुनौतिहरुलाई जोगाउनका लागि खजुराले नयाँनयाँ योजनाहरु ल्याइरहेको छ ।

गाउँपालिका क्षेत्रमा बृक्षारोपणका कामहरुलाई तीव्ररुपमा अघि बढाइएको छ भने गाउँपालिका वा वडा कार्यालयबाट कुनै पनि सिफारिस लिँदा घरमा अनिवार्यरुपमा रुखबिरुवा रोप्नेजस्ता शर्तहरु अघि बढाएको छ । यसले वातावरणीय सन्तुलनमा ठुलो टेवा पुग्ने विश्वास गरिएको छ । वातावरणलाई असर पुर्याउने खजुरा गाउँपालिका क्षेत्रमा त्यस्ता ठुला उद्योगहरु छैनन् । तर पनि मापदण्ड विपरित स्थापना भएका इँट्टाभट्टाबाट निस्किँने धुवाँका कारण यसक्षेत्रको वातावरणमा ठुलो असर परिरहेको छ ।

एकातिर मापदण्ड पुरा नगर्ने र अर्कोतर्फ वातावरणमा असर पुर्याउने यस प्रकारका इँट्टा उद्योगहरुलाई बेलैमा मापदण्डभित्र ल्याएर सोही अनुसार सञ्चालनमा ल्याउन गाउँपालिकाले यथेष्ट नीति बनाउन आवश्यक देखिन्छ । वातावरणीय प्रभावका हिसाबले खजुराको जानकी गाउँपालिकामा रहेको कर्णाली डिष्ट्रिलरी प्रालीबाट निस्कने दुर्गन्धले पनि स्थानीयबासीमा ठुलो असर परिरहेको छ । बेलाबखतमा डिष्ट्रिलरीबाट निस्कने दुर्गन्ध सिधैं किरण नालामा बगाइदिँदा खजुरा गाउँपालिकाका वडा नं. १ देखि ३ सम्मका बासीन्दा त्यसको मारमा पर्ने गरेका छन् ।

डिष्ट्रिलरीको दुर्गन्ध र फोहोर लेदोका कारण किरण नालामा रहेका माछा, गोही पनि बेलाबेलामा मर्ने गरेको खजुरा गाउँपालिका वडा नं.३ का समाजसेवी सतिश निरौलाको भनाई छ । डिष्ट्रिलरीले फालेको दुर्गन्धका कारण नालामा रहेका जलचरहरु त मरेकै छन् । त्यसको अलावा डिष्ट्रिलरीबाट निस्किएको दुर्गन्धीत पानी खाएकै कारण स्थानीयका पशु चौपायासमेत मर्ने गरेका छन् । त्यतिमात्रै नभई किसानले लगाएको बालीमा समेत ठुलो असर पर्ने गरेको छ । डिष्ट्रिलरीबाट आएको दुर्गन्धीत पानीका कारण वातावरणमा ठुलो असर पुर्याएको छ ।

जसका कारण जल तथा जमिनमा वातावरणीय प्रभाव मात्रै नभएर मात्र नभएर मानव स्वास्थ्यमा समेत असर पुर्याइरहेको छ । कर्णाली डिष्ट्रिलरीसँगै जानकी गाउँपालिकामै निर्माण भएको सगरमाथा स्टील उद्योगले पनि उद्योगबाट निस्कने फोहोर किरण नालामै फाल्दा नाला थप दुर्गन्धीत भइरहेको छ । यी दुई उद्योगबाट निस्कने दुर्गन्धका कारण वडा नं. ३ धौलागिरी र वडा नं. १ को राधापुरका साथै किरण नालामा भएका गोहीहरु मर्ने गरेका छन् । यससँगै दुर्गन्धीत पानी खाँदा पशु चौपायामा समेत रोग देखा पर्न थालेको छ ।

यसतर्फ गाउँपालिकाले तत्काल योजनाहरु बनाई दुर्गन्धमुक्त गराउनका लागि पहलकदमी थाल्न अत्यावश्यक देखिन्छ । खजुराका हरेक बस्तीहरुमा चिल्ला सडक, सडक किनारमा हरिया रुखबिरुवा चारैतिर सरसफाई अहिले खजुराबासीको सपना बनेको छ । वातावरणलाई जोगाई राख्न खासगरी घरयासी वातावरण र सामाजिक वातावरणले निकै ठुलो भूमिका खेलिरहेको हुन्छ । हरेक घरमा बल्ने चुलो र घरआँगनको समेत वातावरणसँग सम्बन्ध हुन्छ । हरेक घरलाई स्वच्छ र सफा बनाइराख्न त्यो घरको वातावरण पनि स्वच्छ हुन जरुरी रहन्छ । घर स्वच्छ भएमा मात्र समाज स्वच्छ हुन्छ । समाज स्वच्छ हुन सके देश स्वच्छ हुन्छ ।

त्यसो त वातावरण सन्तुलन हुँदाहुँदै पनि बेलाबखत आउने बिपत्तिले कहिलेकाँही वातावरणमा असर गरिरहेको हुन्छ । खजुरा गाउँपालिकामा विशेषगरी मानखोला, जेठी नाला, पेडारी नाला र किरण नालामा आउने बाढीका कारण बर्षायाममा बिपत्ति तथा धनजनको क्षति हुने गरेको छ । त्यसको ब्यवस्थापनमा गाउँपालिकाले सम्भावित स्थानहरुमा तटबन्ध निर्माण गरी विपद्बाट जोगाउन विभिन्न योजनाहरु पनि ल्याउने गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले बताए ।

स्रोत : समृद्ध खजुरा बुलेटिनबाट
प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १७:३१

लोकप्रिय