सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा एक लाखभन्दा बढी बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप

बाँके जिल्लामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठका अनुसार यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुने र सो अभियान अन्तर्गत बाँकेका आठवटै पालिकामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य छ ।

उहाँले लक्ष्य पुरा गर्ने उद्देश्यका साथ दादुरा–रुबेला खोप अभियानको तयारी तीव्र पारिएको बताउनुभयो । सूचना अधिकारी श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार २७०, कोहलपुर नगरपालिकामा २५ हजार ७१३, बैजनाथ गाउँपालिकामा १९ हजार २२३, राप्ती सोनारी गाउँपालिकामा १८ हजार ६६१, जानकी गाउँपालिकामा १८ हजार १४९, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य छ । सो अभियान अन्तर्गत नौ महिनादेखि पाँच वर्ष मुनिका ४८ हजार ८०१ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइनेछ ।

स्वास्थ्य कार्यालयका अनुसार खोप अभियानका लागि जिल्लाभरि एक हजार २९६ जना स्वास्थ्यकर्मी खटिनेछन् भने एक हजार २७३ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् । त्यसैगरी ४०५ जना विद्यालय शिक्षक पनि परिचालन गरिनेछ । यो अभियान फागुन ३० गतेसम्म चल्नेछ ।

बाँकेमा गत वर्ष दादुरा–रुबेलाका कारण केही बालबालिकाले ज्यान गुमाएका थिए भने सयौं बालबालिका सङ्क्रमित भएका थिए । दादुरा–रुबेलाका हिसाबले बाँके उच्च जोखिम जिल्लामा पर्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १९:१३

लोकप्रिय