सूचनाको शक्ति - The Power Of Information

        

उच्च अदालत पुगे सन्दीप लामिछाने

 जिल्ला अदालत काठमाडौंकको फैसलालाई चुनौती दिँदै क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन्। क्रिकेटर लामिछानेले बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसला त्रुटिपूर्ण भएकाले सफाइ पाउनुपर्ने माग अघि सारेका छन्।

बिहीबार पुनरावेदनको निवेदन लिएर उच्च अदालत पाटनमा लामिछाने आफैं पुगेका छन्। अस्पतालवाट डिस्चार्ज भएका उनी अदालतमा मुद्दा दर्ताका लागि आफ्ना कानुन व्यवसायीसहित पुगेका हुन्।

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो। उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन माग गरेका हुन्। पुनरावेदनको फैसला नआउञ्जेल उनी जेल बस्नुपर्ने छैन।

लामिछानेले गरेको दाबीकै आधारमा जिल्लाले युवती नाबालिग नभएको ठहर गरेकाले उनलाई दोषी ठहर गर्नु गलत हुने मुख्य दाबी लामिछानेले गरेका छन्। सन्दीप पक्षले उमेर पुगेका दुई युवा-युवतीका बीचमा भेट हुनु अनि शारीरिक सम्बन्ध राखेमा कानुनले बलात्कार नै हो भनी किटान नगर्ने दाबी गरेका छन्।

निवेदक पक्षले पुनरावेदन गरेको छ भने जिल्ला सरकारी वकिल कार्यालयले पनि पुनरावेदनको तयारी गरेको छ। काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो।

जिल्ला अदालतले  सजाय निर्धारण गरेपछि क्यानले उनलाई निलम्बन गरेको थियो। उनी अहिले खेलभन्दा बाहिर छन्। अदालतको फैसला अनुसार सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको छ। उच्च अदालत पाटनका अनुसार उनको निवेदन दर्ता प्रक्रियामा रहेको जानकारी दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले सन्दीपविरुद्ध ८ वर्ष कैदसँगै ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

सन्दीपले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियो। एक किशोरी (युवती)ले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक-पटक बलात्कार गरेको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालमा सन्दीप विरुद्ध जाहेरी दिएकी थिइन्।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको बताएकी थिइन्।

पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा गरिएको थियो।

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीले बयान दिएकी थिइन्। बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच समेत गराएको थियो।

पीडित  किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत नजिकिएका थिए। स्न्याप च्याटमार्फत चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ।

आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ। त्यसपछि आफूहरु नगरकोटसम्म पुगेको पीडित किशोरीले बयानमा बताएकी थिइन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ छ।

काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल (छात्राबास) बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरु बसेका थिए। सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी छन्।

उक्त घटना लगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।

प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो। मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो। जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए।

यद्यपि, विदेश जान नपाउने उच्च अदालतको सर्त सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका सन्दीप सर्वोच्चको आदेशपछि क्रिकेट खेल्नका लागि विदेश समेत पुगेका थिए।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १६:५३

लोकप्रिय