उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सुरक्षा र एकतालाई बलियो बनाएर सुशासन कायम गर्नु सरकारको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।
बिहीबारदेखि नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको यहाँ उद्घाटन गर्दै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले त्यसका लागि देशका सबै सुरक्षा निकायले समन्वय र सहकार्य गरेर सरकारको कार्यभार पुरा गर्न अहोरात्र खटिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशको शान्ति सुरक्षा सुदृढ पारेर जनतालाई अमन चयनको वातावरणमा निर्धक्क भएर काम गर्न दिनुपर्ने सरकारको दायित्व निवार्हका लागि गृहमन्त्रालयले विभिन्न योजना बनाएर काम गरिरहेको बताउनुभयो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा र नेपाली जनताका चाहना पुरा गर्ने कार्यलाई वर्तमान सरकारले मूल कार्य बनाएर अगाडि बढिरहेको जनाउँदै सो कार्य पुरा गर्नका लागि पनि प्रहरी प्रशासनको अहम् भूमिका हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘प्रहरी प्रशासनका कार्यालयमा जनताले घुस दिएर, कसैको सोर्स फोर्स लगाएर वा हाकिमको चाकरी गरेर मात्र कामहुन्छ भन्ने कुनै पनि हालतमा हुनु हुँदैन । यस्तो भएको पाइएमा सम्बन्धितलाई कडा कारबाही गरिनेछ ।’’
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकार कटिबद्ध रहेको प्रष्ट पार्दै उहाँले त्यसका लागि सरकारले कसैसँग पनि कुनै सम्झौता नगर्ने र अडिग भएर कडा अठोटका साथ आफ्नो अभियानलाई जारी राख्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले प्रदेशको शान्ति सुरक्षा समग्रमा राम्रो रहेको उल्लेख गर्दै आर्थिक विकासका लागि पनि केन्द्र सरकारले विभिन्न योजनाहरू अगाडी बढाउनु पर्ने माग गर्नुभयो ।
गृहमन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको उक्त सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्याल, लुम्बिनी प्रदेश गृहमन्त्रालयका सचिव लालबाबु कबारी, नेपाल प्रहरीका प्रमुख आइजिपी वसन्त कुँवर, सशस्त्र प्रहरीका प्रमुख आइजिपी राजु अर्याल, नेपाली सेना युद्ध कार्य विभागका प्रमुख उपरथी प्रेमध्वज अधिकारी, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की लगायत गृहमन्त्रालय अन्तर्गतका विभिन्न महाशाखाका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।
दुई दिनसम्म चल्ने गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख लगायत उच्चस्तरीय सुरक्षा अधिकारीको सहभागिता रहेको छ ।
सो गोष्ठीमा प्रदेशका सबै जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाहको अवस्था र अपराध नियन्त्रणको अवस्था बारे गम्भीरतापूर्वक छलफल गरेर कमीकमजोरी र चुनौतीका बारेमा निर्णय गर्नुका साथै सुधार गर्नुपर्ने विषयमा सुधार गरिने लुम्बिनी प्रदेश गृहमन्त्रालयका सचिव लालबाबु कबारीले बताउनुभयो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके