२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

नेपालगन्जमा अर्गानिक तरकारी बिक्री केन्द्र सञ्चालन

सत्यपाटीसत्यपाटी । बाँके । २०८० फागुन १० गते बिहीबार

नेपालगन्जका उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको विषादी नहालेको अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले यहाँ प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ ।

नेपालगन्ज र सो वरिपरिका किसानले उत्पादन गरेका अर्गानिक तरकारी सङ्कलन तथा बिक्री गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–२०, राँझामा प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष कौशलकुमार धोबीले बताउनुभयो ।

उहाँले स्थानीय किसानले उत्पादन गरेको प्राङ्गारिक तरकारी बिक्री केन्द्र नहुँदा उत्पादन खेर गइरहेको र स्थानीय उपभोक्ताले भारतबाट भित्र्याइएका विषादी हालेका तरकारी खानुपर्ने बाध्यता रहेको गुनासोलाई सम्बोधन गर्न सो तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।

एमडिएम फ्रान्स तथा भेरी वातावरणीय विशिष्ठता समूह बी–ग्रुपको साझेदारीमा सञ्चालनमा रहेको पेसागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको सहयोगमा सो सङ्कलन तथा बिक्री केन्द्रको निर्माण गरिएको हो ।

सो केन्द्र निर्माणमा एमडिएम फ्रान्स र बी ग्रुपबाट करिब १३ लाख, पाँच लाख नेपालगन्ज उपमहानगर वडा नम्बर २० र करिब एक लाख साथी स्वावलम्बन बहु उद्देश्यीय सहकारी संस्थाको लगानी रहेको छ ।

बी ग्रुपका अध्यक्ष टेकबहादुर पुनले सो बिक्री केन्द्र निर्माणका लागि परियोजनाले १५० जना किसानलाई प्राङ्गारिक खेतीमा संलग्न गराई उनीहरूको उत्पादनको बजारीकणका लागि यो केन्द्र निर्माण गरिएको बताउनुभयो ।

उहाँले यो केन्द्र निर्माण भएपछि यस क्षेत्रका अन्य किसानले पनि आफ्ना उत्पादनको बजारीकरण सहज रूपमा गर्न पाउने बताउनुभयो । परियोजनाले भण्डारण कक्षसमेत स्थापना गरी बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि आफूहरू जस्ता किसानको उत्पादनले बजार पाउनेमा ढुक्क भएको प्राङ्गारिक खेतीमा लागेका स्थानीय किसानको भनाइ छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २०८० फागुन १० गते बिहीबार