सूचनाको शक्ति - The Power Of Information

        

दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने

सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको बताए । खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ ।

उनका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका पनि खोप अभियान सहभागी हुने प्रवक्ता डा बुढाथोकीले बताए ।

उनका अनुसार जाजरकोट र पश्चिम रुकुममा भने गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार ०७:५५

लोकप्रिय