सूचनाको शक्ति - The Power Of Information

        

नेपालीले अब भारतीय सीमकार्ड पनि पाउने

नेपालीहरुले र भारतमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले यस्तो जानकारी दिएका हुन् ।

भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।

यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरुले भारतीय नागरिक वा आधार कार्ड भएका नेपालीहरुको नाममा लिएको सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो । यसरी सिमकार्ड सहज रुपमा उपलब्ध हुँदैनथ्यो भने प्रयोगमा पनि जाेखिम थियो ।

भारतमा चिनजान केही नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरुले त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको छ ।

यो समस्या समाधानका लागि भारतका लागि नेपाली राजदूत डा. शर्माले पहल गरेका थिए । ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा. शर्माले एक्समा लेखेका छन् ।

भारतको सञ्चार मन्त्रालयले पनि सूचना जारी गरी नेपाली र भुटानी नागरिकहरुलाई भारतीय सिमकार्ड उपलब्ध गराउने निर्णय भएको जानकारी गराएको छ ।

तर त्यो सिमकार्ड भारत बसाइको अधिकतम् अवधिभन्दा बढीको हुने छैन । सो सिमकार्डको वैधता पनि एक महिनादेखि तीन महिनासम्म मात्र हुने छ ।

ती सिमकार्डबाट भारतभित्र मात्र फोन गर्न मिल्ने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १०:५२