सूचनाको शक्ति - The Power Of Information

        

ठगिँदै उपभोक्ता

केएल दुगडको ठगीधन्दा, ‘तौल घटाएर चामल र चिउरा बिक्री’

बाँकेको पिप्रहवास्थित केएल दुगड उद्योगअन्तर्गत रहेको फुड प्रोडक्ट प्रालिले तौल कम गरेर खाद्यान्न बजारमा पठाउने गरेको खुलासा भएको छ ।

सरकारले बेला–बेला बजार अनुगमन गर्ने गरेको छ । तर, अनुगमन प्रभावकारी भएको छैन। अनुगमन मनपरी भएको छ । खुद्रा व्यापार संघले एक मूल्य तोकेको छ । तर, बजारमा अर्को मूल्य छ । अहिले बजारमा ग्राहक अनुसारको मूल्य छ ।

कालोबजारी मौलाउँदो छ । सरकारको अनुगमन वर्षमा मौसमी हुन्छ । यो समस्या उपभोक्ताका लागि हरेक दिनको हो। हरेक दिन ठगिएका छन् । ठूला कलकारखाना होस् वा किराना पसल । सबै ठाउँबाट उपभोक्ताको ढाड सेकिएको छ ।

अझ उत्पादक कम्नीहरुले नै तौल घटाएको पाइएपछि उपभोक्ता थप महंगीको मारमा परेका छन् । बाँकेको पिप्रहवास्थित केएल दुगड उद्योगअन्तर्गत रहेको फुड प्रोडक्ट प्रालिले तौल कम गरेर खाद्यान्न बजारमा पठाउने गरेको खुलासा भएको छ ।

उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवम् पूर्वमन्त्री अब्दुल खानसहितको टोलीले बाँकेका विभिन्न उद्योगको निरीक्षण अनुगमनका क्रममा चामल र चिउराको तौलमा उपभोक्तालाई ठगी गरेको खुलासा भएको हो ।

अनुगमनका क्रममा केएल दुगडले उत्पादन गरेको २० केजी चिउराको बोरामा १८–१९ केजी र ५० केजी अरुवा चामलको बोरामा २०० ग्राम तौल कम राखेर बिक्री गर्दै आएको पाइएको पनि सभापति तथा पूर्वमन्त्री खानले बताए ।

बाँके जिल्लाका केही ठुला उद्योगहरूको अनुगमन र निरीक्षणका क्रममा फुड प्रोडक्ट प्रालिले तौल कम गरेर खाद्यान्न बजारमा पठाउने गरेको पाइएपछि नियम बमोजिम जरिवाना र आवश्यक कारबाही गरिने सभापति अब्दुल खानले जानकारी दिए ।

उनले भने, ‘सर्वसाधारण नागरिकको स्वास्थ्यसँग खेलबाड गर्नेगरी खाद्यवस्तु बिक्री गर्ने, तौल कम गरेर उपभोक्तालाई ठग्ने जति ठुला उद्योगी व्यापारी भए पनि समितिले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गर्ने छ ।’

केएल दुगडका केही कर्मचारीहरूले सभापति खानलाई अनुगमन गर्नमा केही समय अवरोध गरेपछि प्रहरीको सहयोगमा उद्योगभित्र अनुगमन गर्दा कमतौलको समस्या देखा परेको सभापति खानका निजी सचिव अतिउल्ला मुसलमानले जानकारी गराए ।

सोही प्रकारले सभापति खानले बाँकेको गनापुरमा रहेको औषधी उत्पादन गर्ने उद्योग पानस फर्मास्युटिकल र अम्बे स्टिलको समेत अनुगमन गरी उद्योगहरूमा काम गर्ने मजदुरहरूको समस्या र पारिश्रमिकका विषयमा छलफल गरेका थिए ।

अम्बे स्टिलमा काम गर्ने मजदुरहरूले समयमा पैसा पाउन नसकेको गुनासो सभापति खान समक्ष गर्नुका साथै सुरक्षा उपकरणहरू समेत कम्पनीले उपलब्ध नगराउँदा जोखिम मोलेर काम गर्नुपरेको पिडा सुनाएका थिए । ती समस्या समाधान गर्न उद्योगमा उपलब्ध कर्मचारीलाई सभापति खानले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १७:२२

लोकप्रिय