सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज म्याराथनका विजेता पार्की टिसिएस लन्डन म्याराथनमा सहभागी हुने पक्का

नवौँ धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले यसपटकको टिसिएस लन्डन म्याराथनमा दौडने पक्का भएको छ। नेपालगन्ज म्याराथनले सोमबार पत्रकार सम्मेलन गर्दै गोपीको सहभागिता निश्चित भएको जानकारी गराएको हो।

गोपीले आफ्ना लागि नेपालगन्ज म्याराथन सधैँ लक्की रहँदै आएको बताए। ‘पहिलोपटक विजेता बन्दा ओलम्पिकका लागि छनोट हुने भनिएको थियो। यसपटक लन्डन म्याराथन खेल्ने मौका मिलेको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘नेपालगन्ज म्याराथनको रुट नेपालकै सबैभन्दा राम्रोमा पर्दछ। लन्डन म्याराथनमा राम्रो नतिजाका लागि प्रयास गर्नेछु।

लन्डन म्याराथन २०८१ वैशाख ९ (अप्रिल २१)मा हुनेछ। गोपीको लन्डन म्याराथनका लागि नेपाल–युके रनले व्यवस्थापन गरेको छ। युके रनका प्रतिनिधि सन्तोष राईले भविष्यमा पनि नेपालगन्ज म्याराथनसहित हाफ म्याराथनका विजेतालाई पनि लन्डन म्याराथनमा सहभागी गराउन प्रयास गरिने बताए।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले नेपालगन्ज, पोखरा र काठमाडौं म्याराथनलाई राखेपले महत्वका साथ हेरेको उल्लेख गरे। ‘सिटी म्याराथनमा खासमा स्थानीय निकायकै भूमिका हुन्छ,’ उनले भने, ‘तथापि त्यसमा राखेपको पनि साथ रहँदै आएको छ।’ उनले गोपीलाई सफलताको शुभकामनासमेत दिएका छन्।

राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले लामो तयारीपछि मात्र सफलता प्राप्त गर्न सकिने र त्यसमा परिषद्को पनि भूमिका रहनुपर्नेमा जोड दिए। नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने योजनामा साथ दिएकोमा युके रनलाई धन्यवाद दिए।

मंसिर ९ गते भएको नवौँ धारा नेपालगन्ज म्याराथन दुई घन्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै गोपीले उपाधि जितेका थिए।  नेपालगन्ज म्याराथनका दुईपटकका विजेता गोपी १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता हुन्। सन् २०१९ मा स्वदेशमा भएको १३औँ सागमा उनले पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १६:४३

लोकप्रिय