नवौँ धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले यसपटकको टिसिएस लन्डन म्याराथनमा दौडने पक्का भएको छ। नेपालगन्ज म्याराथनले सोमबार पत्रकार सम्मेलन गर्दै गोपीको सहभागिता निश्चित भएको जानकारी गराएको हो।
गोपीले आफ्ना लागि नेपालगन्ज म्याराथन सधैँ लक्की रहँदै आएको बताए। ‘पहिलोपटक विजेता बन्दा ओलम्पिकका लागि छनोट हुने भनिएको थियो। यसपटक लन्डन म्याराथन खेल्ने मौका मिलेको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘नेपालगन्ज म्याराथनको रुट नेपालकै सबैभन्दा राम्रोमा पर्दछ। लन्डन म्याराथनमा राम्रो नतिजाका लागि प्रयास गर्नेछु।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले नेपालगन्ज, पोखरा र काठमाडौं म्याराथनलाई राखेपले महत्वका साथ हेरेको उल्लेख गरे। ‘सिटी म्याराथनमा खासमा स्थानीय निकायकै भूमिका हुन्छ,’ उनले भने, ‘तथापि त्यसमा राखेपको पनि साथ रहँदै आएको छ।’ उनले गोपीलाई सफलताको शुभकामनासमेत दिएका छन्।
मंसिर ९ गते भएको नवौँ धारा नेपालगन्ज म्याराथन दुई घन्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै गोपीले उपाधि जितेका थिए। नेपालगन्ज म्याराथनका दुईपटकका विजेता गोपी १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता हुन्। सन् २०१९ मा स्वदेशमा भएको १३औँ सागमा उनले पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।
सत्यपाटी