सूचनाको शक्ति - The Power Of Information

        

कोरियाको उत्पादन क्षेत्रतर्फ परीक्षामा एक लाख ६३ हजार सहभागी हुने

सन् २०२३ को उत्पादनमूलक क्षेत्र तर्फको कोरियन भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जना सहभागी हुने भएका छन्।

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार परीक्षा भैंसेपाटीमा दैनिक पाँच सिफ्टमा हुनेछ।

प्रत्येक सिफ्टमा २०० जना परीक्षार्थी सहभागी हुनेछन्। एचआरडी सर्भिस अफ कोरियाको प्रत्यक्ष निगरानीमा दैनिक एक हजार जनाको परीक्षा लिइने शाखाले जनाएको छ।

आफ्नो परीक्षा कुन दिन कुन सिफ्टमा पर्छ भन्ने जानकारीका लागि इपिएश कोरिया शाखाको वेबसाइट हेर्नुपर्नेछ। परीक्षा सञ्चालन हुनु कम्तीमा एक घण्टाअघि बायोमेट्रिक भेरिफिकेसनका लागि परीक्षा केन्द्रमा अनिवार्य पुग्नुपर्नेछ।

बायोमेट्रिक भेरिफिकेसनपछि परीक्षा हुनुभन्दा ३० मिनेटअघि परीक्षा सम्बन्धी जानकारीमूलक भिडियो देखाइनेछ।

उत्पादन क्षेत्रतर्फको परीक्षा विभिन्न तीन चरणमा हुनेछ। शाखाका अनुसार पहिलो चरणमा ४७ हजार ५१९ जना सहभागी हुनेछन्।

पहिलो चरणको परीक्षा आजबाट सुरू भएको छ। यो आगामी चैत २४ गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा ७९ हजार ९३७ जना सहभागी हुनेछन्।

दोस्रो चरणको परीक्षा २०८१ वैशाख ३१ गतेदेखि सोही वर्षको साउन १६ गतेसम्म हुनेछ। तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना सहभागी हुनेछन्।

यो चरणको परीक्षा २०८१ कात्तिक २६ गतेदेखि सोही वर्षको पुस २ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १६:३४