सूचनाको शक्ति - The Power Of Information

        

वन्यजन्तु बस्तीमा पस्न थालेपछि स्थानीय त्रसित

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन् । केही सातायतादेखि बस्तीमा चितुवा र जङ्गली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका हुन् । बस्ती तथा उखुबारीमा चितुवा देखिन थालेपछि गाउँमा त्रास उत्पन्न भएको बेलौरी नगरपालिका–८ पचुइँका मनोज चन्दले बताए ।

‘चितुवाले तीन वटा कुकुर खाएको छ । चितुवा देखिएपछि गाउँभर त्रास छ,’ उनले भने, ‘बेलुकातिर घरबाहिर निस्कनै सकिदैँन । कतिबेला के हुन्छ भनेर डराइडराइ बस्नु परेको छ ।’ चन्दका अनुसार हुलाकी सडकअन्तर्गत पर्ने खप्टीनालादेखि पुचइँसम्म जोड्ने सडकमा स्थानीय हिँडडुल गर्न डराउने गरेका छन् । घना उखुबारी हुनाले सो क्षेत्रमा चितुवा तथा हिंस्रक जनावर लुक्ने गरेको उनको भनाइ छ ।

केही दिनअघि खप्टिनाला क्षेत्र भएर मोटरसाइकलमा यात्रा गरिरहेका बेलडाँडी गाउँपालिका–३ खैरीघाटका जीवन चन्द आक्रमणमा परेका थिए । ‘चितुवा हो वा बाघ चिन्न सकिन । हेर्दा ठूलै थियो । एक्कासि हातमा झम्टेर सडकको पारीपट्टी झर्यो,’ उनले भने, ‘म मोटरसाइकलबाट लडेँ । फेरि झम्टिने डरले मोटरसाइकल उठाएर भागेँ ।’ उनको हातमा पञ्जाले तिथोरेको घाउ लागेको छ । कैलालीको अत्तरियास्थित माइक्रोफाइनान्समा काम गर्ने उनी शुक्रबार र शनिबार सो बाटो भएर घर आउजाउ गर्छन् ।

सो घटनापछि खप्टिनालाको बाटो भएर हिँडडुल गर्न डर लागेको उनले बताए । खप्टिनाला क्षेत्रमै गत वैशाखमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । त्यसपछि उक्त हिंस्रक बाघलाई नियन्त्रणमा लिएर ललितपुरस्थित चिडियाखानामा राखिएको छ । सव–डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश यादवका अनुसार पुनर्वासमा जङ्गली हात्तीको बथान बस्तीमा देखिएको छ ।

पुनर्वास नगरपालिका–१० पचकडिया विकासबस्तीमा छावासहित हात्तीको ठूलो बथान बस्तीमा देखा परेको हो । पुनर्वास–१० मै चितुवा पनि देखा परेको उनको भनाइ छ । ‘हात्ती र चितुवा देखापरेपछि स्थानीयवासी त्रसित छन् । पुनर्वासमा १३–१४ को सङ्ख्याको हात्तीको बथानले खेती क्षति पुर्याएको छ,’ उनले भने, ‘बेलौरी र पुनर्वासमा चितुवा पनि देखिएको छ ।’ उनका अनुसार पुनर्वास–१० दोदा नदीको पुल र बेलौरीको भुडामा चितुवा देखिएको यकिन भएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १५:३९

लोकप्रिय