सूचनाको शक्ति - The Power Of Information

        

कपिलवस्तुमा टाउको नभएको शव भेटियो

कपिलवस्तुमा टाउको नभएको पुरुषको शव फेला परेको छ । कपिलवस्तु नगरपालिका–४ स्थित पिपरी गाउँको गहुँखेतको बीचमा रहेको कुलोमा गाडेको अवस्थामा टाउको नभएको शव भेटिएको हो ।

कुलोमा गाडेको शवको केही भाग बाहिर निस्केको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी गएर शव उत्खनन् गरेर हेर्दा टाउको बिनाको शव भेटिएको हो । आइतबार राति शव निकालिएको प्रहरीले जनाएको छ ।

शरीरका विभिन्न भागहरु समेत जलेको अवस्थामा भेटिएको छ । टाउको समेत नभेटिएपछि हत्या गरेर शव लुकाइएको देखिन्छ । घटनास्थलमा तालिमप्राप्त कुकर परिचालन गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

शवको प्रकृति हेर्दा ३–४ दिनअघि हत्या गरेर गाडेको जस्तो देखिएको कपिलवस्तुका एसपी नवरन्त पौडेलले जानकारी दिए । शव पोष्टमार्टमका लागि लुम्बिनी अस्पताल पठाइएको छ । शवको पहिचान भइनसकेकाले अनुसन्धानमा अफ्ठ्यारो परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १४:४०

लोकप्रिय