सूचनाको शक्ति - The Power Of Information

        

हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा

रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन् । रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा रु २५ लाख ५० उपलब्ध गराएका थिए । सो रकमले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।

उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ । कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए । विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने उनले बताए ।

एम्बुलेन्स खरिदका लागि हङकङमा रहेका याम सेम्बु एक्लैले रु पाँच लाख ३० हजार उपलब्ध गराएका थिए । उनीसहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा उक्त रकम सङ्कलन भएको हो । स्थानीय मीना खवासले वडामा एम्बुलेन्स सञ्चालनमा आएकामा खुसी व्यक्त गरे । उनले भने, ‘आपत्कालीन अवस्थामा भनेको बेला एम्बुलेन्स पाउन सकिँदैन, आफ्नै वडामा एम्बुलेन्स भएपछि राहत मिलेको छ ।’

सहयोगी दातामध्येका अगुवाइकर्ता याम सेम्बुले आफूहरू जहाँ भए पनि गाउँको समस्यामा चिन्तित रहने गरेको बताए । गाउँको समस्यालाई आफ्नै ठान्दै एम्बुलेन्स सहयोग गरेको उनको भनाइ छ । अर्का सहयोगी साङ्गेहाङ तुम्बाहाम्फेले भने, ‘हामीलाई हाम्रो गाउँठाउँको दुःखसुख सबै थाहा छ, हामीले एम्बुलेन्स सहयोग गर्दा विपन्न परिवारलाई सहज होस् भन्ने उद्देश्य हो ।’

स्रोत : रासस
प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार १७:१९

लोकप्रिय