सूचनाको शक्ति - The Power Of Information

        

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

क्यान्सर अस्पताल : जनताले बनाए, सरकारले लिएपछि अस्तव्यस्त

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खरीद गरेर ल्याएको २५ करोड २४ लाख ५४ हजारको ‘लिन्याक’ मेसिन सञ्चालनमा नआएरै थन्किएको छ ।

दंगीशरण गाउँपालिका–३ दाङकी उमा थारु स्तन क्यान्सरको उपचारको लागि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइपुगिन् । सुरुमा दाङ जिल्लामा मै उपचार गरे पनि क्यान्सरको शङ्का लागेपछि थप उपचारको लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गर्न खजुरा आइपुगेकी हुन् ।

उनका श्रीमान् ४२ वर्षीय राजेश थारुले खजुरा आएपछि भिडियो एक्स–रे गराउनका लागि मात्र दुई दिन कुर्न परेको बताए । तेस्रो दिन पनि साढे ३ बजेपछि मात्र भिडियो एक्स–रे गर्न बल्ल पालो पाएको उनको भनाई छ । थारुले क्यान्सर अस्पतालमा बाध्यताले आए पनि यहाँको व्यवस्थापन पक्ष निकै फितलो भएको गुनासो गरे ।

उनले भने, ‘बल्ल बल्ल चिकित्सक आउँछन् । उपकरण पनि रहेनछ । अन्य सेवा पनि छिटोछरितो हुँदैन । यहाँ किन आइएछ बरु सुरुमा नै भरतपुरतिर लागेको भए हुने रहेछ ।’ अस्पतालमा उनीजस्ता क्यान्सर रोगको शङ्का लागेर चेकजाँच र अन्य अस्पतालबाट रिफर भएर दैनिक १०० भन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशासनको रेकर्ड रहेको छ ।

ती मध्ये धेरैको गुनासो समयमा भिडियो एक्सरे नभएको, क्यान्सरका बिरामीलाई सेकाउनु पर्ने मेसिन सञ्चालनमा नल्याएको, चिकित्सकहरू भेट्न धेरै समय कुर्नुपर्ने जस्ता रहेका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले २०७० असार २९ गतेदेखि क्यान्सरका बिरामीहरूको उपचार सेवा सुरु गरेको थियो ।

वि.सं.२०७३ फागुनमा नेपाल सरकारले ‘प्रखर परोपकार मिसन नेपाल’ द्वारा सञ्चालित नेपाल क्यान्सर अस्पतालको स्वामित्व सरकारले नै लिने र क्यान्सर अस्पतालको नाम परिवर्तन गरेर ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ राख्ने निर्णय गरेको थियो । विशेषज्ञ अस्पतालको रूपमा लैजाने उद्देश्यसहित सञ्चालन गरे पनि अस्पताल अहिले आफै बिरामी जस्तै छ ।

नेपाल सरकारले अहिलेसम्म कर्मचारी दरबन्दी स्वीकृत गरेको छैन । जसका कारण करार र विकास समितिमार्फत चिकित्सकहरू राख्नुपर्ने अवस्था छ । यहाँसम्म कि अस्पतालका मेसु समेत भेरी अस्पतालबाट काजमा झिकाएर निमित्त रूपमा काम गरेको अवस्था छ । क्यान्सर अस्पतालको लागि सबैभन्दा धेरै प्रयोग हुने उपकरण लिन्याक (क्यान्सर भएपछि सेकाउने) मेसिन पनि खरिद गरेर ल्याएको वर्षौँसम्म सञ्चालनमा ल्याउन सकिएको छैन ।

पछिल्लो समय भएका विशेषज्ञ चिकित्सकहरू पनि क्यान्सर अस्पताल छाडेर अन्यत्र गएकाले अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई समस्या भएको हो । सरकारले भेरी अस्पताल डाक्टर निराजन भट्टराईलाई काजमा क्यान्सर अस्पतालमा निमित्त कार्यकारीको भूमिका दिएको थियो । उनी पनि हाल आफन्त बिरामी भएर उपचारका लागि भारत जानु परेपछि अस्पताल प्रशासनको जिम्मा डा. प्रवीण गुप्ताले पाएका छन् ।

क्यान्सर अस्पताल रेडियोलोजिष्ट नहुँदा भेरी अस्पतालबाट दुई बजेपछि एक जना चिकित्सकलाई आंशिक करारमा लिएर काम चलाइएको छ । जसले गर्दा दैनिक १५–२० जनाको मात्र भिडियो एक्सरे हुने गर्दछ । यहाँ अपरेसन गर्दा चाहिने एनेस्थेसिया विज्ञ पनि छैनन् । एनेस्थेसिया सम्बन्धी विशेषज्ञ चिकित्सक नभएपछि क्यान्सर अस्पतालमा अप्रेसन सेवा पनि प्रभावित भएको छ ।

एक–एक गर्दै दुई जना एनेस्थेसियोलोजिस्टले क्यान्सर अस्पतालबाट बिदा लिएपछि भेरी अस्पताल नेपालगन्जमा कार्यरत एनेस्थेसियोलोजिस्ट बोलाउने गरिएको छ । त्यो पनि हप्ताको तीन दिनमात्रै भेरी अस्पतालबाट एक जना एनेस्थेसियोलोजिस्ट लिएर काम गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका निमित्त प्रमुख गुप्ताले ल्याब र रेडियोलोजी सेवा दिने भनिए पनि जनशक्तिको अभावमा भिडियो एक्स–रे दिनको दुई बजेपछि १५ जनाको मात्र तथा ल्याबमा लामो समय पालो कुर्नुपर्ने अवस्था आएको बताए । उनले सरकारी दरबन्दी बिना नै अस्पताल चलाउँदा यहाँ समस्या भएको खुलाए ।

अस्पतालमा २४ सै घण्टा सेवा दिने मन्त्रीकै निर्देशन ‘हावा’

यही असोज ६ गते स्वास्थ्य मन्त्री मोहन बस्नेतले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण तथा नवनिर्मित भवन उद्घाटन गर्दै अस्पतालमा बिहान ८ बजेबाट ओपिडी सञ्चालन गर्न निर्देशन दिएका थिए । त्यस्तै बिरामीलाई २४ घण्टा सेवा दिनुपर्ने बताएका थिए । तर मन्त्रीको निर्देशन ‘हावामै उडाइदिएको’ स्थानीयले बताएका छन् ।

अस्पताल स्वीकृति दिने सरकारले दरबन्दी नदिएको कारण अस्पताल सञ्चालन भएको आठ वर्षदेखि करार र ज्यालादारी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका भरमा अस्पताल चलाउनु परेको विकास समितिको भनाई छ । आफू विकास समितिबाट स्थायी भए पनि चिकित्सकसहित हाल ११५ जना कर्मचारी करार र अस्थायी रहेको निमित्त प्रमुख गुप्ताले बताए । यस्तै क्यान्सरका लागि अति आवश्यक पर्ने मेसिन खरिद प्रक्रियामा विवाद भएपछि नचलाई थन्काएर राखिएको छ ।

उनले लोकसेवाबाट आएको एउटा पनि डाक्टर नभएको बताए । यहाँ प्रशासन अधिकृत, लेखा अधिकृत, दुई जना नर्स र स्टोर प्रमुख रहेका छन् । विकास समितिबाट २ जना चिकित्सक र केही तल्लो तहका कर्मचारी स्थायी रहेका छन् । यो अस्पतालमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका बिरामीहरू क्यान्सरको रोग परीक्षण र उपचारका गर्नको लागि जाने गरेका छन् ।

जनताले बनाए, सरकारले लिएपछि झनै अस्तव्यस्त

नागरिकको दानबाट निर्माण भएको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल चिकित्सकहरू लगातार फेरिने परिपाटीले समस्या भोग्दै आएको छ । अर्कोतिर सरकारले पनि यसको सञ्चालनका लागि ध्यान दिएको छैन । दानबाट अस्पताल स्थापित भए पनि स्थानीय उपचारका लागि अहिले बाहिर जानुपर्ने अवस्था आएको छ ।

बाँके जिल्लाको खजुरामा २०६५ सालमा स्थानीयहरूबाट मुट्ठी दानबाट सुरु गरिएको क्यान्सर अस्पताल अहिले यहाँसम्म आइपुग्दा धेरै उतारचढाव पार गरेको छ । प्रखर परोपकार मिसन नेपाल’ तथा दिनदयालजी महाराजको संयुक्त सङ्कल्पद्वारा स्थापित भए पनि पछि नेपाल सरकारले गठन आदेश जारी गरेर सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नामकरण गर्दै नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सञ्चालन गर्दै आएको छ ।

अस्पतालले बिरामीहरूको फोक्सो, स्तन, रक्त नली, नाक–कान–घाँटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मूत्र नली तथा पिसाब थैली लगायतका क्यान्सरको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो । नेपाल क्यान्सर अस्पताल निर्माण गरेको अस्पताल पछि अर्थमन्त्री गगन थापा हुँदा गठन आदेश लिएर नाम परिवर्तन गरिएको थियो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बनाए पनि अहिलेसम्म सरकारले दरबन्दी नदिने, बजेट नदिनेजस्ता कारणले समस्या भएको स्थानीयहरुको गुनासो छ । अहिले सरकारले अस्पताललाई थप व्यवस्थित गर्नुपर्ने बेलामा अप्ठ्यारो पार्ने काम गरिरहेको खजुराका स्थानीयहरु भनाई रहेको छ ।

अस्पतालले कम्तीमा ४०९ चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी आवश्यक पर्ने भन्दै आन्तरिक सङ्गठनात्मक तथा व्यवस्थापन (ओएनएम) सर्भे स्वीकृतिका लागि मन्त्रालयमा पठाएको लामो समय बिते पनि हालसम्म स्वीकृति हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताए । हाल ११५ जना कर्मचारी भरमा अस्पताल चलेको छ । कम्तीमा २०० दरबन्दी स्वीकृति भएमा अस्पताल सञ्चालनमा केही सहजता हुने अस्पताल विकास समितिले जनाएको छ ।

विशिष्टीकृत अस्पताल भए पनि दरबन्दी स्वीकृति नहुँदा समस्या परिरहेको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयका उप–सचिव कृष्ण थापाको नेतृत्वमा बनेको टोलीले प्रतिवेदन तयार पारेर केही महिना अगाडि बुझाए पनि अझैसम्म लागु नभएको उनले बताए । उनले भने, ‘त्यो दरबन्दी पुरै नभए पनि सुरुमा हामीलाई कम्तीमा १०० जनासम्म भए पनि दिए काम गर्न सहज हुने थियो । तर एक जना पनि नदिँदा हामी कसरी चलाउने समस्या छौँ ।’

कमिसन लफडाले थन्कियो २५ करोडको ‘लिन्याक’ मेसिन

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खरीद गरेर ल्याएको २५ करोड २४ लाख ५४ हजारको ‘लिन्याक’ मेसिन सञ्चालनमा नआएरै थन्किएको छ । बहुप्रतीक्षित ‘लिन्याक’ मेसिन सञ्चालन हुन नसक्दा उपचारका लागि अस्पताल आउने विरामीले सो मेसिनबाट पाउनुपर्ने सेवा पाउन सकेका छैनन् । मेसिन जडान गरेर सञ्चालनमा ल्याउनेतर्फ कसैले पनि चासो देखाएका छैनन् ।

मेसिन आइसकेपछि जडानका बिषयमा अस्पताल विकास समितिका अध्यक्ष एवं पदाधिकारी, अस्पतालका कार्यकारी निर्देशक एवं सिनियर कर्मचारी र ठेकेदार कम्पनीबीच कमिशनको सेटिङ्ग नमिलेपछि ‘लिन्याक’ मेसिन थन्किएको छ । क्यान्सर अस्पताल प्रशासन निकट स्रोत भन्छ, ‘आन्तरिक कमिशनको चक्कर मिलेको छैन, कमिसनमै लफडा भएपछि मेसिन सञ्चालनमा आउन सकेको छैन ।’

यो मेसिन क्यान्सरका विरामीको उपचारका लागि अत्यावश्यक हो । यसले क्यान्सरको उपचारमा प्रयोग हुने रेडियसन प्रदान गर्ने चिकित्सक बताउँछन् । मेसिन सञ्चालनमा नआउँदा क्यान्सरका बिरामीले सेकाइका लागि चितवन, काठमाडौँ या भारत पुग्नुपर्ने बाध्यता अहिले छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक फेरिएसँगै अस्पतालको अवस्था लथालिङ्ग हुन थालेको अस्पतालकै कर्मचारीहरु बताउँछन् ।

कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर निरज भट्टराई अस्पतालको निमित्त कार्यकारी निर्देशक भएर आएसँगै अस्पताल प्रशासन, कर्मचारी र अस्पताल विकास समितिका पदाधिकारीबीच असमझदारी बढ्न थालेपछि अस्पतालको अवस्था लथालिङ्ग हुन थालेको नाम नबताउने शर्तमा एक जना कर्मचारीले जानकारी दिए ।

मेसिन सञ्चालनमा आउन नसक्दा उक्त लागतमै खिया लागेको छ । मेसिन सञ्चालन गर्नेतर्फ अहिले कसैले चासो देखाएका छैनन् । यसले मेसिन खरिदको लक्ष्य पुरा हुन सकेको छैन । बिरामीका लागि अत्यावश्यक मानिने ‘लिन्याक’ मेसिन गत पौस महिनामा आइपुगेको थियो । क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने लिन्याक मेसिन क्यान्सर अस्पताल खजुरामा आवश्यक थियो ।

पश्चिम नेपालका जनताका लागि मेसिन आउनु खुशीको कुरा भए पनि अस्पताल विकास समितिका अध्यक्ष एवं पदाधिकारी, अस्पतालका कार्यकारी निर्देशक एवं सिनियर कर्मचारी र ठेकेदार कम्पनीबीच कमिशनको सेटिङ्ग नमिलेपछि ‘लिन्याक’ मेसिन जडान भएर सञ्चालनमै नआएर थन्किनु दुःखद् भएको अस्पताल प्रशासनकै एक जना कर्मचारीले बताए ।

ती कर्मचारीले भने, ‘यो क्यान्सरका बिरामीलाई सेकाइ गर्ने मेसिन हो । ‘लिन्याक’ मेसिन सञ्चालनमा आएको भए क्यान्सरका बिरामीहरु अप्रेसन गर्नुअघि र अप्रेसन गरेपछि गरिने सेकाइका लागि अन्यत्र जानु पर्दैन्थ्यो । तर मेसिन नै सञ्चालनमा नहुँदा बिरामीलाई सेकाइका लागि काठमाडौँ, चितवन या भारत जानुपर्ने बाध्यता रहेको छ ।’

नेपाल सरकारबाट विनियोजित बजेटबाट प्राप्त भएको र खरिद प्रक्रिया सुरू भएको लामो समयपछि धेरै प्राविधिक जटिलताका बीच स्वास्थ मन्त्रालयको सहयोगमा मेसिन खजुरा, बाँकेस्थित अस्पतालमा गत पौसमा आइपुगेको ‘लिन्याक’ मेसिन तत्काल जडान गरेर सञ्चालनमा ल्याउनुपर्ने स्थानीयहरुको माग रहेको छ ।

‘मेसिन तत्कल जडान गरेर बिरामीसम्म सहज उपचार पुग्ने विश्वास निर्माण गर्नुपर्छ,’ एक जना स्थानीयले भने, ‘कमिसनकै चक्करमा करोडौंको मेसिन थन्किनु हुँदैन । मेसिन तत्काल जडान गरी सञ्चालनमा ल्याएर क्यान्सरका बिरामीले सेकाइको लागि भारत या काठमाडौँ नै पुग्नुपर्ने बाध्यताको सधैंको लागि अन्त्य हुनुपर्छ ।’

अस्पतालले भने नयाँ मेसिन खरिद लन्डनबाट गरिएको तर भन्सार प्रज्ञापन पत्र र खरिद सम्झौताका अन्य प्रक्रियागत कागजातमा उल्लेख भए अनुसार मेसिनको कन्ट्री अफ ओरिजिन र एचएस कोड फरक पाएपछि मेसिन चलाइएको छैन । स्वास्थ्य मन्त्रालयको एक टिमले मेसिन जडान गर्ने र त्यसको प्रतिफल कस्तो दिन्छ त्यस आधारमा रकम भुक्तानी दिन निर्देशन दिएको छ । अब त्यो प्रक्रिया लैजाने योजना रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार १६:१४

लोकप्रिय