सूचनाको शक्ति - The Power Of Information

        

नौं बर्षिया प्रितिले गाइन् भावुक गीत, ‘काठैको बाकसमा नल्याइदिनु मेरो बाबालाई…’ (भिडियोसहित)

चार दिदी र एक भाइ छन् । चार बहिनीमध्येकी कान्छी हुन् नौं बर्षिया प्रिति विक । पश्चिम सुर्खेतको पञ्चपुरी नगरापालिका–८ दुलालथाई घर भएकी प्रितिले सात बर्षकै उमेरमा बुवा गुमाइन् । जतिबेला माया, ममता र अभिभावकत्व चाहिने उमेर थियो, त्यतिबेलै बुवा गुमाउँदाको पीडा मनमा बिझेर बसेको थियो ।

सम्पत्तिका नाममा एउटा खरले छाएको कच्ची घर मात्रै रहेकोले उनकी आमालाई छोराछोरीको पालनपोषणमै समस्या छ । प्रितिका बुवा दीपककोे ३३ वर्षकै उमेरमा दुई वर्षअघि मृगौला रोगका कारण मृत्यु भयो । भएको दुई रोपनी जमिन पनि बुवा दिपककै उपचारमा सकियो । त्यसयता उनको परिवार सुकुम्बासी बनेको छ ।

अहिले प्रितिकी २४ वर्षीया आमा कमला विकले पाँच सन्तानलाई साँझ बिहानको छाक र पढाउनकै लागि गिट्टी कुट्छिन् । सात बर्षकै उमेरमा बुवा गुमाएकी प्रितिको मनमा बुवा नहुँदाको पीडासँगै गरिबीले पनि नराम्ररी निचोरेको छ । यस्तै पीडा र बेदनाले भरिएको उनको गीत यतिबेला समाजिक सञ्जालमा भाइरल जस्तै बनेको छ ।

दुलालथाई स्थित जनजागृति आधारभूत विद्यालयमा अध्ययनरत प्रितिले गत बिहीबार विद्यालयमा पीडा र बेदनाले भरिएको गीत गाएर सबैका आँसु झारिन् । बिहान १० बजेतिर विद्यालयका विद्यार्थीहरू प्रार्थना समयमा व्यस्त थिए । राष्ट्रिय गान गाइसकेपछि विद्यालयमा सधैं जसो गरिने हाजिरीजबाफ प्रतियोगिता थियो ।

हाजिरी जवाफमा प्रश्न भन्ने पालो कक्षा तीनको थियो । कक्षा तीनका विद्यार्थीले प्रश्न सोधिरहँदा लाइनमा बसेका कक्षा ८ सम्मका विद्यार्थीले उत्तर दिए । उक्त प्रतियोगिता सकिए लगत्तै कक्षा ३ मा अध्ययनरत प्रितिले हात उठाइन् । विद्यालयका प्रधानाध्यापक थानीप्रसाद घिमिरेसँग आफूलाई मञ्चमा आउने अनुमति सरहरूसँग मागिन् ।

त्यसपछि उनले आफ्नो पारिवारिक समस्या र आफूले बुवा गुमाएपछि भोगेको पीडा गीतका शब्दमार्फत फुकाउन थालिन् । गीत गाउँदै मञ्चमै रुन लागेकी उनलाई देखेर विद्यालयका अन्य विद्यार्थी र शिक्षक कर्मचारीहरूका समेत आँखा रसाए । विभिन्न समस्याका बावजुत पनि उनी विद्यालयमा पढ्न आउने गरेकी रहिछिन् ।

आमा साहुको मेलामा, सुख पाउने बेलामा
गरिब भई बाँच्नु पर्दा भइँदो रैछ हेलामा ।
उडी जाने जहाज, मलाई छुने हावालाई
काठैको बाकसमा नल्याइदिनु मेरो बाबालाई ।

चारैतिरबाट फाटेको स्वीटर लगाउँदै गाएको उक्त गीत अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रितिले गाएको भावुक गीत विद्यालयका सूचना अधिकारी शिक्षक लक्ष्मी सापकोटाले मोबाइलमा कैद गरेर सामाजिक सञ्जालमा पोष्ट गरे । उनको पारिवारिक अवस्था निकै दयनीय भएर आफ्नो गीतमार्फत् वेदना सुनाएपछि सबै जना भावुक भए ।

विद्यालयका प्रधानाध्यापक थानीप्रसाद घिमिरेले भने, ‘घरायसी रुपमा आर्थिक अवस्था एकदमै कमजोरी रहेछ । प्रितिले तीन दिनदेखि गीत गाउन दिनुपर्यो भनेर अनुरोध गरेपछि शुक्रबारे गतिविधिमा गाउली भनेको थिएँ । बिहान प्रार्थना गरेर राष्ट्रिय गान गाइसकेपछि क्वीजको कार्यक्रम गर्दैगर्दा उनले गीत गाउन दिन समय मागेपछि हामीले मौका दियौँ । एक्कासी भावुक गीत गाउँदा हामीले आँसु रोक्न सकेनौं ।

प्रधानाध्यापक घिमिरेका अनुसार बालिकाको बुवाको मृत्यु भएको दुई वर्ष सोही दिन दिन पुगेको रहेछ । उनका बुवाको बाकसमा लास ल्याइएको रहेछ । त्यही घटनालाई उनले गीतमार्फत् व्यक्त गरेकी रहिछिन् । आफू र आफ्नो परिवारले भागेका संघर्ष दुःखहरूलाई भुलाउँदै उनले स्वर्गीय बुवालाई सन्देश दिन यस्तो गीत गाएकी रहेछिन् ।

सम्पत्तिका नाममा एउटा खरले छाएको कच्ची घर मात्रै रहेकोले केटाकेटी पालनपोषणमै समस्या परेको प्रितिकी आमा कमलाले सुनाइन् । ‘पहिला भारत गएर जिविका चलाउँथ्यौँ । एकाएक श्रीमानलाई मृगौलाको रोग लाग्यो । भएको दुई रोपनी पनि उपचारमै गयो,’ कमलाले भनिन्, ‘उहाँको मृत्यु भएपछि यी केटाकेटी पालन पोषणमै समस्या भएको छ ।’

विद्यालयमा अनुशासित र मिहिनेती छात्रा रहेकी प्रितिले पढेर सरकारी जागिर खाने सपना देखेकी छिन् । तर गरिबीकै कारण आफूले देखेको सपना पुरा हुँदैन की भन्ने चिन्ता प्रितिलाई छ । उनको अध्ययनका लागि सबैको सहयोग आवश्यकता रहेको बताउँदै प्रधानाध्यापक घिमिरेले उनको अध्ययनका लागि विद्यालयबाट शैक्षिक सामग्री सहयोग गर्दै आएको बताए ।

उनले प्रितिजस्तै विद्यालयमा अध्ययनरत ३० प्रतिशत बालबालिकाको पनि आर्थिक अवस्था कमजोर रहेकाले स्थानीय, प्रदेश र संघीय सरकारबाट विशेष सहयोग आवश्यक रहेको पनि बताए । प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयमा शिशु कक्षादेखि कक्षा ८ सम्म जम्मा ३७६ जना विद्यार्थीमध्ये ७० प्रतिशत बालबालिका दलित समुदायका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार १५:२०

लोकप्रिय