सूचनाको शक्ति - The Power Of Information

        

विचार

नेपाली कम्युनिष्ट आन्दोलन संकटमा

यो देशका जनताले दुःख पाउनु, देशको विकास नहुनु, सुशासन कायम नहुनु, निराशा बढ्नु, राजनीतिक स्थिरता नहुनुमा कम्युनिष्ट विभाजन जिम्मेवार छ ।

कम्युनिष्ट विचार सबैभन्दा उत्कृष्ट र वैज्ञानिक सिद्धान्त मानिन्छ । तर, राजनीतिशास्त्रले कुनै पनि सिद्धान्त आफैमा राम्रो र नराम्रो हुन्छ भनेर भन्दैन । खैर, त्यो विचार, सिद्धान्तले देश र जनताको पक्षमा काम गर्छ कि गर्दैन भन्ने सवाललाई राजनीतिशास्त्रले प्रमुख विषय मान्छ । हाम्रो देशमा अनेकौँ कम्युनिष्ट पार्टीहरू छन् । तिनीहरूले बोकेका विचारहरू एक भएपनि रूप अनेक छन् ।

कम्युनिष्ट दलहरूले देश र जनताको हितमा काम गर्छौँ भनिरहेको सुनिन्छ । तर, कसले कति विकास गरे, के गरिरहेका छन् भन्नेबारेमा सायदै जनता बेखबर छन् । खासगरी देशको विकास, समृद्धि र मार्क्सवादी समाजवादको लक्ष्य बोकेका नेपाली कम्युनिष्ट नेताहरूबीचको आपसी झगडा बढो रोचक छ । कम्युनिष्ट नेताहरूको विभाजनका कारण देशको काँचुली फेर्ने सपना अलपत्र छ ।

व्यक्तिगत टकराब र वैमनष्यताले गर्दा आज नेपाली कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । यस्तो विरह र अत्यासलाग्दो अवस्थामा कम्युनिष्ट आन्दोलन पुग्दा पनि मुलतः शीर्ष नेताहरूबीचको गहिरिँदो विश्वासको सङ्कट झन् कहालीलाग्दो छ । विगतका तितामिठा विषयलाई समीक्षाको पाटोबाट हल गर्दै आगामी बाटोका बारेमा चिन्तन गर्नुपर्ने बेलामा झगडा गरेर बसिरहेका छन् । स–सानो झुन्डको भनाइ र भलाइमा रुमलिरहेका नेताहरू मुलुक र जनताको असली नेतृत्व बन्नबाट चुकिरहेका छन् ।

इतिहासलाई फर्केर हेर्दा

२००६ सालमा स्थापना भएको नेकपा टुटफुटबाट ग्रसित छ । अझै जोडले भन्दा कम्युनिष्टबीचको आपसी विवाद र विभाजनको इतिहास लज्जावोधले भरिएको छ । यतिसम्मकी विचार, सिद्धान्त मात्रै नभएर प्रेमिकाको विषयलाई लिएरसमेत पार्टी विभाजन भएको दाबीहरू पढ्न पाइन्छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी लगायतको सहभागितामा स्थापना भएको नेकपा राजा महेन्द्रले पुस १ गते गरेको ‘कू’ लाई लिएर पहिलो पटक विभाजन भएको थियो ।

तत्कालीन नेकपा महासचिव केशरजंग रायमाझीले राजाको कदमलाई समर्थन गरेपछि पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मोहनविक्रम सिंह र तुल्सीलाल अमात्यले विद्रोह गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवित राखेका थिए । त्यसयताका सबै विभाजनबारे आम मानिसहरू जानकार नै छन् । त्यसैले सबै प्रकारका विभाजन उल्लेख गर्न खासै आवश्यक देखिन्न ।

वर्तमान अवस्था

आज पनि कम्युनिष्ट पार्टीहरूबीचको विभाजन रोकिएको छैन । कम्युनिष्टबीच एकता र ध्रुविकरण हुने हो भने नेपालमा कम्युनिष्टहरूको राज हुन्थ्यो । तर, विगतदेखि वर्तमानसम्म कम्युनिष्टहरू एकताभन्दा विभाजनमा खुसी देखिन्छन् । सीमित झुन्डको नेता बन्ने प्रतिस्पर्धा आजपर्यन्त जारी छ । खासगरी, पछिल्लो समय नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इतिहासकै शक्तिशाली पार्टी थियो । जुन पार्टी निर्माणको जग विचार, सिद्धान्त र संगठन नभएर सत्ता बन्न पुग्यो । धेरैले नेकपा टिक्दैन भनेर अड्कलबाजी गरेका थिए । अन्ततः त्यही भयो ।

केपी ओली र प्रचण्डबीचको सत्ता साझेदार सहमतिले नेकपालाई मुस्किलले तीन वर्ष पनि बाँच्न दिएन । त्यही कारण नेकपा एमालेसमेत विभाजनको अवस्थामा पुग्यो । एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी पनि आज वैचारिक हिसाबले तीव्र विवादको सामना गरिरहेको छ । जबजलाई मार्ग निर्देशक सिद्धान्त मान्नुपर्छ भन्ने माधवकुमार नेपाल र समाजवादी कार्यक्रमसहित अगाडि बढ्नुपर्छ भन्ने झलनाथ खनालको लाइनबीच वाकयुद्ध चलिरहेको छ ।

तत्कालीन नेकपालाई व्यक्तिगत र गुटगत स्वार्थको सिकार बनाएका केपी ओली नसच्चिएसम्म कम्युनिष्ट आन्दोलन अझै कमजोर बन्दै जानेछ । आज पनि नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र, एमाले, विप्लव नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टीहरू आन्तरिक विवादको चर्मोत्कर्षमा छन् । शीर्ष नेताहरूका मुख दुईतिर छन् । मुख्य नेताहरूले समयमै उत्तराधिकारी जन्माउन सकेका हुन्थे भने यो समस्या नआउन पनि सक्थ्यो । तर, नेताले उत्तराधिकारी जन्माउन चाहेनन् र दोस्रो पुस्ताले अब हाम्रो पालो भन्न सकेन ।

सोही कारण आज पार्टी नामका हरेक समूहभित्र चरम विवादले गाँजेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीचको वाकयुद्धले कस्तो परिणाम ल्याउँछ, एमालेभित्रको कुटाकुटले कुन रूप लिने हो ? माओवादी केन्द्रभित्रको चरम विवादले कस्तो आकार लिने हो अहिले नै यसै भन्न सकिने अवस्था छैन । खैर, यस्तो अवस्थामा पनि निःशर्त र निःस्वार्थ ढंगले नेपाली कम्युनिष्ट आन्दोलनलाई उकालो चढाउनुपर्छ भनेर नेताहरू एक ठाउँमा उभिने हो भने जनताले फेरि पनि विश्वास गर्न सक्छन् !

सामूहिकतालाई सर्वोपरि ठान्ने कम्युनिष्टहरू एक अर्काको अस्तित्वलाई स्वीकार गर्न नसकेर विभिन्न पसल खोलेर साहुजी बनिरहेका छन् । साइनबोर्ड झुन्ड्याएर राजनीतिक व्यापार गरिरहेका छन् । नेतृत्व बन्न छोडेर साहुजी बन्न पुगेका नेताहरूको मनमा हरि नपलाएसम्म यो देशमा हुने यस्तै हो । तर, दोस्रो र तेस्रो पुस्ताका नेताहरूले फराकिलो सोच, विचार र धारणा बनाएर अगाडि बढ्न सकेको खण्डमा केही नयाँ आशावाद जन्मिन सक्छ । त्यो सम्भावना अझै बाँकी छ ।

अन्त्यमा,

आज अस्तित्वमा रहेका कम्युनिष्ट पार्टी एक ठाउँमा उभिने हो भन फेरि पनि सम्भावना छ । सच्चिने समय घर्की नै सकेको अवस्था छैन । हामीले समाजवादी संविधान बनाएका छौं । जसको कार्यान्वयन गर्दा समाजवाद कार्यान्वयन हुन्छ । साथै समाजवादको लक्ष्यमा पुग्ने आधारहरू निर्माण हुँदै जान्छन् । यस्तो महत्त्वपूर्ण अभिभाराका निम्ति नेपाली कम्युनिष्टहरू बीचको ध्रुवीकरण पहिलो सर्त हो ।

बलियो कम्युनिष्ट पार्टी निर्माण गर्न निःसर्त र निःस्वार्थ आन्दोलनको रक्षार्थ उभिनुपर्छ । व्यक्तिगत र गुटगत स्वार्थलाई तिलाञ्जली दिनुपर्छ । वैचारिक विषयभन्दा पनि सत्ता, सम्पत्ति, शक्ति र व्यक्तिवादी आडम्बर जस्ता कुराले कम्युनिष्ट आन्दोलन धुजाधुजा बनेको विगतबाट पाठ सिक्दै वर्तमान पुस्ताले दीर्घकालीन कार्यनीति, रणनीति र लक्ष्य तय गरेर अगाडि बढ्नुपर्छ । यदि होइन, खुद्रा पसलका साहुजीको मतियार बन्ने हो भने जे गरेपनि भयो । त्यस्तो अवस्थामा आजको भन्दा थप उकुस मुकुस सिर्जना हुन्छ ।

यो देश बनाउने सपना र विचार कम्युनिष्ट बाहेकसँग देखिँदैन । कम्युनिष्ट पार्टीहरू कमजोर हुँदा विगतका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू थप खतरामा पर्न सक्छन् । ठण्डा दिमागले सोचेर भविष्यका निम्ति गर्नैपर्ने राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रका कामहरू गरिएन भने वर्तमान नेतृत्वलाई इतिहासले माफ दिने छैन । यो देशका जनताले दुःख पाउनु, देशको विकास नहुनु, सुशासन कायम नहुनु, निराशा बढ्नु, राजनीतिक स्थिरता नहुनुमा कम्युनिष्ट विभाजन जिम्मेवार छ । त्यसैले सच्चिने कि सकिने ? आजको मूल सवाल यही हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार ०९:०१