सूचनाको शक्ति - The Power Of Information

        

सिमकोट-सुर्खेत परीक्षण उडान गर्दै नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगन्ज–सिमकोट–नेपालगन्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिए ।

यसका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ । ‘नेपाल एयरलाइन्सको जहाजले नेपालगन्ज–सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट–सुर्खेत परीक्षण उडान हुनेछ,’ उनले भने, ‘त्यसपछि सुर्खेत–सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।’ यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन ।

सिमकोट–सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताए । ‘सिमकोट–सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगन्ज र नेपालगन्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ,’ उनले भने । सिमकोटबाट नेपालगन्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगन्जबाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने रोकायाको भनाइ छ ।

स्रोत : रासस
प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १४:३८

लोकप्रिय