सूचनाको शक्ति - The Power Of Information

        

इन्द्रेणीका कृष्ण कँडेलमाथि यौन हिंसाको आरोप, के हो शर्मिलासँगको लफडा ?

नेपाली जनता माझ छोटो समयमै सर्वाधिक रूचाइएको लोकप्रिय कार्यक्रम हो इन्द्रेणी । नेपाली राजनीतिक परिदृश्य, समसामयिक घटना र समाजको यथार्थ कुराहरू लोक दोहोरीमार्फत चेतना फैलाउँदै आएको इन्द्रेणी कार्यक्रम पछिल्लो समय सञ्चालक समूहभित्रै तीव्र असन्तुष्टि बढेपछि विवादमा तानिएको छ ।

पछिल्लो २४ घण्टा यता टेलिभिजनका पर्दादेखि सामाजिक सञ्जालहरूमा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध उनकै सहकर्मीहरूले विभिन्न आरोप लगाउँदै बोलेको भिडियो भाइरल भइरहेको छ । भिडियोमा सहकर्मी शर्मिला श्रेष्ठले कँडेलबाट आफू यौन हिंसामा परेको आरोप लगाएकी छिन् । जसका कारण आफू मानसिक हिंसाको सिकार भएको पनि व्यक्त गरेकी छिन् । भिडियोमा बाद्यवाधक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनसहितले कृष्ण कँडेलबाट आफूहरू पीडित बनेको आरोप लगाएका छन् ।

आफू इन्द्रेणीमा रहेकै कारण सर्वाधिक लोकप्रिय बनेको बताउँदै यसैको आडमा कृष्ण कँडेलले यौन इच्छा राखेको तर सोझै इन्कार गर्दा मानसिक टचर दिएको शर्मिलाले आरोप लगाएकी छिन् । शर्मिलाले पारिश्रमिक लगायत विभिन्न टर्चरको विषयमा पनि कुरा राखेकी छन् । उनले इन्द्रेणी र आफ्नो विषयमा सामाजिक सञ्जालबाट लगाएको आरोपमा भने कार्यक्रम सञ्चालक कृष्ण कँडेलले खण्डन गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले कसैको श्रम तथा सम्मानमा चोट तथा शोषण गर्ने कार्य नगरेको बताएका छन् ।

‘आज यस संस्थाका सबै कर्मचारी तथा कलाकारलाई समान व्यवहारको काम गर्दागर्दै पनि केही कलाकार तथा कर्मचारीहरूले यस संस्था छाडी आज म तथा मैले सञ्चालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाई बदनाम गराउन र सिङ्गो संस्थालाई नै धराशायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तरवार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको विषयले म साह्रै दुखित छु,’ कँडेलले अगाडि भनेका छन्, ‘झुटा कुरा बोलेको विषयमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणी माथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरूको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरूलाई हार्दिक अपिल गर्दछु ।’ उनले आफूसँग सम्बन्ध रहेको विषयको समाचार एकतर्फी रूपमा समेत प्रसारण नगरिदिन सञ्चारमाध्यमलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १४:३१

लोकप्रिय