सूचनाको शक्ति - The Power Of Information

        

१४७ औं लखन थापा मगर स्मृति दिवस:

नेपालका प्रथम सहिद लखन थापा मगरको सालिक खजुराको सैनिकमा अनावरण

को हुन् लखन थापा मगर ?

नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको पुर्ण कदको सालिक बाकेको खजुरा गाउपालिका वडा नम्बर १ को सैनिक गाउँमा अनावरण गरिएको छ । सैनिक गाउँस्थित बहादुरपुर चोकमा सालिक अनावरण गरिएको हो । खजुरा गाउपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तुफान, उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले संयुक्त रुपमा सालिकको अनावरण गरेका थिए ।

१४७ औं लखन थापा मगर स्मृति दिवसका अवसरमा अनावरण गरिएको प्रथम सहिद लखन थापा मगरको पुर्ण कदको सालिक साढे ६ फिट अग्लो छ भने तौल २०० केजी छ । गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक तुफानले सहिदले देखाएको मार्गमा हिंड्नुपर्ने भन्दै सहिदकै कारण आज हरेक नागरिकले स्वतन्त्र भएर बाच्न पाएकोमा गर्व लागेको बताए । उनले भने, ‘समाज परिवर्तनका लागि बलिदान दिनेहरु भौतिक रुपमा नरहे पनि समाजमा सधैं बाचिरहेका छन् । हामीले सधैं सम्झिरहेका छौ ।’

खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले सहिदले देखाएको बाटोमा सदैव अघि बढ्नुपर्ने बताइन् । कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, वडाध्यक्षहरु लगायतले बोलेका थिए । नेपाल मगर संघ खजुरा गाउँपालिकाका अध्यक्ष उज्ज्वल सिंह थापाको सभापतित्वमा आयोजना भएको सालिक अनावरण कार्यक्रमअघि लखन थापाको सालिकलाई बाजागाजासहित सैनिक गाउँका बिभिन्न टोलहरुमा परिक्रमा गराइएको थियो भने बौद्ध दीप प्रज्ज्वलन गरिएको थियो ।

को हुन् लखन थापा मगर ?

वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७, काहुले भङ्गार, बुंकोटमा जन्मनुभएका लखन थापा मगरको वास्तविक नाम लक्ष्मणसिंह थापा मगर थियो । उनले राणा शासनविरुद्ध जनविद्रोह सञ्चालनका क्रममा मनकामना देवीको पहिलो पूजारी सिद्ध लखन थापाको प्रसिद्धिलाई उपयोग गरी विद्रोहमा ठूलो जनसमर्थन जुटाउने रणनीतिका साथ ‘लखन’ भन्ने नाम ग्रहण गरेका थिए ।

वि.सं. १९११ मा नेपाली सेनाको पुरानो गोरख गण (मगर पल्टन)मा भर्ना भएका लखन थापा मगर ई.संं. १८५७ को भारतीय स्वन्त्रता संग्राम (सिपाही विद्रोह) दबाउन भारतको लखनउ पुगेका थिए । त्यतिबेला जंगबहादुरको निर्णय बमोजिम भारतको सिपाही विद्रोह दवाउनलाई नेपालले सैन्य सहयोग गरेको थियो । उक्त सिपाही विद्रोह दबाउन नेपाली सेनाका २५ वटा पल्टन जंगबहादुरकै नेतृत्वमा भारत जाँदा लखन थापा पनि बाध्य भएर लखनउ गएका थिए ।

नेपाली सेनामा कार्यरत रहँदा उनी तत्कालीन युवराज त्रैलोक्य बिक्रम शाहका अंगरक्षक थिए । वि.सं. १९२५ मा नेपाली सेनाको कप्तान पदमा पुगेका लखन थापा मगरले वि.सं. १९२७ सालमा तीन महिनाको घरबिदा लेखाएर नेपाली सेनाको जागिर छाडे । सेनाको जागिर छाडेपछि उनले राणाशासन विरुद्ध जनसंगठन गरी पहिलो जनविद्रोहको नेतृत्व गरे । उनलाई जंगबहादुरको आदेशमा वि.सं. १९३३ मा हालको शहिद लखन गाउँपालिका, वडा नं. ७ काहुले भङ्गारमा निर्मित विद्रोही किल्ला परिसरभित्रको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइयो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १६:३२

लोकप्रिय