सूचनाको शक्ति - The Power Of Information

        

दुई करोड नक्कली नोटमा एनआइसी एसिया बैङ्कको ट्याग !

सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोट

सोमबार सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा एनआइसी एसिया बैङ्कको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको भेटिएको छ ।

ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट बरामद भएको हो ।

त्यो एक करोड ८२ लाख ५१ हजार रुपैयाँ रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार बरामद गरेको नक्कली नोटको बण्डलमा एनआइसी एसिया बैङ्कको लोगोसहितको कागजले र्‍याप गरेको देखिएको छ ।

एनआइसी एसिया बैङ्कको लोगोसहितको कागज हुँदा उक्त रकम एनआइसी एसिया बैङ्कबाट बाहिर गएको हो कि भन्ने आशङ्का गर्न सकिन्छ । तर, प्रयोग भएको कागज सक्कली नभई नक्कली रहेको एनआइसी एसिया बैङ्क इनरुवा शाखाले जनाएको छ ।

बैङ्कका इनरुवा शाखा प्रमुख दीपक पोखरेल नक्कली पैसा बैङ्कमा आउने बित्तिकै पत्ता लाग्ने भएकाले उक्त नगदमा प्रयोग भएको कागज नक्कली रहेको बताउँछन् । नक्कली पैसा बनाउने समूहले बैङ्कको लोगो प्रयोग गरी नक्कली कागज बनाएर प्रयोग गरेको उनको दाबी छ ।

उनले भने, ‘प्रहरीले पक्राउ गरेको नक्कली नोटमा एनआइसी एसिया बैङ्कको लोगो सहितको कागज बेरिएको सुनेका छौँ । नक्कली नोट बैङ्कमा आएपछि डिटेक्सन मेसिनबाट पत्ता लागिहाल्छ । यसमा प्रयोग भएको कागज नक्कली हो ।’

यति ठुलो परिमाणमा बैङ्कबाट नक्कली नोटहरू बाहिर जान सक्ने कुनै आधार नै नभएकाले यो बैङ्कलाई बदनाम गराउने फण्डा मात्र भएको उनको भनाइ छ । सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०८:४१

लोकप्रिय