२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

दुई करोड नक्कली नोटमा एनआइसी एसिया बैङ्कको ट्याग !

सत्यपाटीसत्यपाटी । सुनसरी । २०८० फागुन २ गते बुधबार
सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोट

सोमबार सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा एनआइसी एसिया बैङ्कको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको भेटिएको छ ।

ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट बरामद भएको हो ।

त्यो एक करोड ८२ लाख ५१ हजार रुपैयाँ रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार बरामद गरेको नक्कली नोटको बण्डलमा एनआइसी एसिया बैङ्कको लोगोसहितको कागजले र्‍याप गरेको देखिएको छ ।

एनआइसी एसिया बैङ्कको लोगोसहितको कागज हुँदा उक्त रकम एनआइसी एसिया बैङ्कबाट बाहिर गएको हो कि भन्ने आशङ्का गर्न सकिन्छ । तर, प्रयोग भएको कागज सक्कली नभई नक्कली रहेको एनआइसी एसिया बैङ्क इनरुवा शाखाले जनाएको छ ।

बैङ्कका इनरुवा शाखा प्रमुख दीपक पोखरेल नक्कली पैसा बैङ्कमा आउने बित्तिकै पत्ता लाग्ने भएकाले उक्त नगदमा प्रयोग भएको कागज नक्कली रहेको बताउँछन् । नक्कली पैसा बनाउने समूहले बैङ्कको लोगो प्रयोग गरी नक्कली कागज बनाएर प्रयोग गरेको उनको दाबी छ ।

उनले भने, ‘प्रहरीले पक्राउ गरेको नक्कली नोटमा एनआइसी एसिया बैङ्कको लोगो सहितको कागज बेरिएको सुनेका छौँ । नक्कली नोट बैङ्कमा आएपछि डिटेक्सन मेसिनबाट पत्ता लागिहाल्छ । यसमा प्रयोग भएको कागज नक्कली हो ।’

यति ठुलो परिमाणमा बैङ्कबाट नक्कली नोटहरू बाहिर जान सक्ने कुनै आधार नै नभएकाले यो बैङ्कलाई बदनाम गराउने फण्डा मात्र भएको उनको भनाइ छ । सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०८० फागुन २ गते बुधबार