सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीमा ९२ जना जनयुद्धका सहिद, वेपत्ता तथा घाइते परिवारलाई सम्मान

बाँकेको राप्तीसोनारी गाउँपालिकामा ९२ जनयुद्धका सहिद, वेपत्ता, घाइते तथा अपाङ्ग परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

२९औं जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्र राप्तीसोनारी पार्टी कमिटीले मङ्गलबार राप्तीसोनारी गाउँपालिकाको वडा नं. ७ स्थित सहिद स्मृति संरक्षण केन्द्रको सहिद पार्कमा आयोजना गरेको सम्मान कार्यक्रममा ९२ जना जनयुद्धका सहिद परिवार तथा वेपत्ता परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको पार्टीका राप्तीसोनारी अध्यक्ष चिमबहादुर घर्तीले जानकारी दिनुभयो ।

उहाँहरुलाई सम्मान गर्दै माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य पट्टु थारुले जनयुद्धका सहिद वेपत्ता तथा घाइते भएकाहरुका कारण नेपालमा गणतन्त्र आएको बताउनुभयो ।

उहाँले जनयुद्धकै बलमा देशमा नयाँ संविधानसमेत जारी भएको बताउँदै गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक तथा संघीयता व्यवस्थालगायतका अनेकौं मुद्दा स्थापित भएको बताउनुभयो ।

वेपत्ता परिवारका मनबहादुर घर्तीले जनयुद्धमा ज्यान गुमाएका सहिद, हालसम्म पनि वेपत्ता पारिएका सदस्यहरु, घाइते तथा अपाङ्ग सदस्यलाई सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो छोरी जनयुद्धकालमा क्याम्पस पढ्दा पढ्दै तत्कालीन सुरक्षाकर्मीले माओवादीको आरोपमा लगेर हालसम्म पनि वेपत्ता रहेको स्मरण गर्नुभयो ।

‘जनयुद्धकालमा हजारौं जनताका छोराछोरी गुमे, कोही टुहुरा बने, कसैको काख रित्तियो, धेरैको सिन्दुर खोसियो, मेरो छोरी जस्तै सयौंको हालसम्म अत्तोपत्तो छैन, वेपत्ता छन ।’

उहाँले भन्नुभयो, ‘हजारौं जनताका छोराछोरीले गरेको बलिदान पछि प्राप्त यो व्यवस्था जोगाउन सबै मिलेर लाग्नुपर्छ ।’

जनयुद्धकालमा बाँके जिल्लामा सबैभन्दा बढी माओवादी प्रभाव राप्तीसोनारी गाउँपालिकामा रहेको राप्तीसोनारीका सचिव सूर्य घर्तीमगरले बताउनुभयो ।

उहाँले राप्तीसोनारीबाट मात्र ७३ जना सहिद तथा वेपत्ता बनेको जानकारी दिनुभयो । त्यसैगरी, पालिकाभित्र ७ जना घाइते तथा अपाङ्ग रहेको उहाँले बताउनुभयो ।

राप्तीसोनारीका ७३ जना सहिद तथा वेपत्ता परिवार, ७ जना घाइते तथा अपाङ्ग भएका व्यक्ति र छिमेकी नरैनापुर गाउँपालिकाका १२ जना सहिद तथा वेपत्ता परिवारका सदस्य गरि ९२ जनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा जनयुद्धकालमा वेपत्ता पारिएकी जुना घर्तीमगरको नामबाट नामकरण गरिएको जुना सांस्कृतिक परिवारका कलाकारहरुले विभिन्न जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

जिल्लाका सबै पालिकामा स्थानीय पालिका कमिटीले विभिन्न कार्यक्रमको आयोजना गरी २९औं जनयुद्ध दिवस मनाएको नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०८:२४

लोकप्रिय