डुडुवा गाउँपालिकाको न्यायिक समितिको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गणस्तरीय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरीक्षण गरेको छ । जिल्ला न्यायाधिशसहितको टोलीले आज डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण तथा छलफल गरेको छ ।
गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, राय तथा निर्णय, फैसला र अभिलेखीकरण लगायत विभिन्न प्रक्रियाका बारेमा पालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शाहिदा बानोले जानकारी गराएकी थिइन् ।
जिल्ला अदालतका न्यायाधिश केशवराज चपाईले न्यायिक समितिले न्याय सम्पादन, अदालतको कार्यशैली, ढाँचा, निर्णय प्रक्रिया र व्यहोरा व्यवस्थित रहेको बताए । उनले न्यायिक समितिमा दक्ष जनशक्तिको अभावले सेवा कार्यसम्पादनमा समस्या भएकाले बेला बेलामा कानूनसम्वन्धि तालिम लगायतका अभिमुखीकरणमार्फत समितिका पदाधिकारी र कर्मचारीको क्षमता अभिबृद्धि गर्नुपर्नेमा जोड दिए ।
न्यायाधिश चपाईले अहिले स्थानीय तहमै मुद्दाको सुनवाई हुने भएकाले अदालतमा जाने मुद्दाको संख्यामा कमी आएको भन्दै स्थानीय तहमै हुने विवाद समाधानमा सेवाग्राहीलाई निकै सहज भएको बताए । उनले न्यायिक समितिको काम कर्तव्य अधिकार, न्यायिक प्रक्रिया, मुद्दा दर्ता, मिसिल, निवेदनका ढाँचा, मुद्दा, कानून, अदालती प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक बानोले गाउँपालिकाका विभिन्न पक्ष र कार्र्ययोजनाका बारेमा जानकारी गराउँदै न्यायिक समितिलाई कानून र अधिकार दिए पनि पालिकास्तरमा दक्ष जनशक्तिको अभावमा कार्यसम्पादनमा कठिनाई भएको बताइन् । उनले भनिन्,–‘समितिमा काम गर्नका लागि कानून विषयको जानकार मान्छे चाहिन्छ, तर हामीसंग दरवन्दीको कर्मचारी छैन, करार नियुक्ति गर्दा कानूनले राख्न पाइँदैन भनेर अख्तियारमा मुद्दा पर्दछ ।’ यो समस्याले काम गर्न निकै समस्या भएको उनको भनाई थियो ।
भेटघाटमा उपाध्यक्ष बानो, न्यायिक समिति सदस्य काशीराम यादव र सकिना बेगम नाउँ, कानूनी सल्लाहकार अधिबक्ता इश्वरीप्रसाद ज्ञवाली, न्यायिक समितिका कर्मचारी विबेक तिवारी लगायतको सहभागिता रहेको थियो ।
निरीक्षण टोलीमा अदालतका शाखा अधिकृतद्वय गोविन्द आचार्य र नितु शाहु, नासु गणेशकुमार मिश्रको सहभागिता थियो भने टोलीले समितिमा रहेका विभिन्न अभिलेखीकरण गरिएका फाइल, मिसिल, रजिस्टर समेतको अध्ययन गरेको थियो । अध्ययनका क्रममा जिल्लाका अन्य स्थानीय तहहरु भन्दा डुडुवाको अभिलेखीकरण व्यवस्थापनको कार्य उत्कृष्ट, चुस्त र प्रक्रियागत रहेको पाइएको टोलीले जनाएको छ ।
मंगलबार गरिएको निरीक्षणपछि अदालतले प्रतिबेदन समेत प्रदान गर्ने जनाएको छ । न्यायिक समितिले चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म ४६ वटा मुद्दा दर्ता भएकोमा १६ वटा मुद्दा फच्र्यौट भएको र बाँकी प्रक्रियामा रहेको न्यायिक समितिका कर्मचारी विवेक तिवारीले बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके