सूचनाको शक्ति - The Power Of Information

        

पाल्पा जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो

पाल्पाको तानसेन नगरपालिका डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा हिजो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । अरु १६ जना घाइतेको उपचार भइरहेको छ ।

दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामका यन कुमारी पन्त, राम बहादुर अस्लामी, कृष्ण बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन् । दुर्घटनामा बुटवल उपमहानगरपालिका १४ तामनगर रुपन्देहीका चन्द्र रणपाल र चुना रणपाल, तिनाउँ गाउँपालिका २ खुर्सानेकी गिता सुनार, देबदह नगरपालिका ५ रुपन्देहीकी दिलमाया जिसि, रिब्दीकोट १ ख्याहाका दिल कुमारी सुनार र बिष्णुकला कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ । तानसेन बुटवल सडक खण्डमा पर्ने सिद्धार्थराजमार्गको डुम्रेबाट तिनाउ गाउँपालिकाको भित्री कच्ची सडक चिदिसका लागि छुटेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

चालक तानसेन नगरपालिका १० का दान बहादुर चिदिलाई पक्राउ गरेर घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । १३ जनाको सिट पास हुने जिपले क्षमताभन्दा धेरै यात्रु बोकेको पाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०७:५८

लोकप्रिय