सूचनाको शक्ति - The Power Of Information

        

सन्दर्भ : जनयुद्ध दिवस

माओवादी जनयुद्ध र त्यसको उपलब्धी

जनयुद्धपछि शान्ति यात्रा, द्वन्द्व र द्वन्द्व व्यवस्थापन विश्वका द्वन्द्व व्यवस्थानका लागि मार्ग दर्शन बनेको छ ।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उद्देश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा (माओवादी) १० बर्ष जनयुद्ध र १८ बर्षे शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यहाँसम्म आइपुगेको छ । जनयुद्धकालिन समयमा विभिन्न राजनीतिक उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष वेहोर्दै नेपालको माओवादी आन्दोलनलाई राष्ट्रिय रुपमा विस्तार र अन्तर्राष्ट्रिय रुपमा प्रभाव फैलाउँदै लगेको माओवादीले दुई वटा भरुवा बन्दुकबाट जनयुद्ध शुरु गरी २०६१–०६२ सम्म आइपुग्दा राज्यको हेलिकप्टर खसाउने तहसम्म पुगेको थियोे ।

जनयुद्ध सुरु गर्नुपूर्व तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई ४० बुँदे माग राख्दै जनयुद्धको संखघोष गरेको तत्कालिन माओवादी २०५६–०५७ सम्म आइपुग्दा नेपालका अधिकाँस जिल्लामा एउटा महत्वपूर्ण वैकल्पिक शक्तिको रुपमा स्थापित भईसकेको थियोे । जनयुद्धबाट सत्ता कब्जा गर्ने योजना र रणनीति पूरा हुन नसकेपनि जनयुद्धका उपलब्धि संस्थागत गर्ने शान्तिपूर्ण मार्ग अवलम्वन गरिएको छ । यस अर्थमा पनि नेपालको जनयुद्ध र माओवादको प्रयोग पुरानो माओवाद भन्दा भिन्न रुपमा स्थापित भएको हो ।

नेपालको जनयुद्धको इनिङ शान्तिपूर्ण रुपमा भएको छ । सशस्त्र युद्धका उपलब्धिलाई शान्ति र सम्झौताबाट स्थापित भएका छन् । जनयुद्ध र २०६२–०६३ जनआन्दोलनको फ्यूजनबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी सिद्धान्त स्थापित भएका हुन् । जनआन्दोलनको आधार नै माओवादी जनयुद्ध बनेको थियो । जनयुद्धले २००७ क्रान्ति, २०२७–२८ सालको झापा बिद्रोह, २०४६ सालको आन्दोलन र क्रान्तिलाई पूर्णता प्रदान गरेको छ । सामन्तवादी राज्यसत्तामा आमूल परिवर्तन शान्तिपूर्ण मार्गबाट सम्भव हुँदैन । सामन्ती सत्ता ध्वस्त बनाउन सशस्त्र युद्धको अनिवार्यता हुन्छ भन्ने मान्यतालाई जनयुद्धले प्रमाणित गरेको छ ।

शहरी क्षेत्रबाट हुने जनआन्दोलन र परिवर्तनभन्दा भिन्न चेतनाका हिसावले पिछडिएको ग्रामिण इलाकाबाट जनयुद्ध सुरु हुनु नै यसको मूल बिशेषता थियो । त्यसमा पनि घरेलु र केहिथान भरुवा बन्दूकका भरमा सुरु गरिएको सशस्त्र युद्ध राज्यसत्ताको जरै हल्लायो । जनयुद्धले ठूला र शक्तिशाली भनिएका दललाई चुनौती दिएको थियो । जनमुक्ति सेना गठनदेखि जनसरकार, जनअदालत गठन आधार इलाको निर्माणको अभ्याससम्म हुनु क्रान्तिको नयाँ प्रयोग थियो । माओवादी पार्टी र जनमुक्ति सेनाको प्रभावले एक प्रकारको आँधिवेरी सृजना गरेको जनयुद्धले संसार हल्लाएको थियो ।

माओवादी ‘जनयुद्ध’ विश्व कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बनेको छ । यसले माक्र्सवादको प्रयोग शान्तिपूर्ण हुनुपर्छ भन्ने सोँच र दृष्टिकोणलाई चुनौती दिएको छ । जनयुद्ध आवाज विहिनका लागि आवाज बनेको थियो । जनयुद्धको प्रारम्भमा शोषक, सामन्त, जाली, फटाहा, गुण्डागर्दी बिरुद्ध केन्द्रीत हुँदा माओवादी पार्टीले जनसम्बन्ध स्थापित गरेको थियो । माओवादी जनयुद्ध जातिय, लैंगिक, क्षेत्रिय शोषण र विभेदमा परेका केन्द्रीत थियो । जातिय उत्पीडन र शोषणका बिरुद्ध गरेको थियो । जनयुद्धले नयाँ मूल्य मान्यता स्थापित जनयुद्धको एक मात्र राजनीतिक नारा संविधान सभाबाट संविधान भन्ने थियो ।

यस नारामा काँग्रेस एमाले जस्ता सूधारवादी पार्टीपनि सहमत हुँदा दोस्रो जनआन्दोलन सम्भव भएको हो । यसैको फलस्वरुप नेपाल संघीय लोकतान्त्रि गणतन्त्र, समावेशी तथा धर्म निरपेक्ष राष्ट्रको रुपमा स्थापित भएको हो । संविधानमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम जस्ता विभेदको शिकार भएका जाति र समुदायका अधिकार संविधानमा संरक्षण भएको छ भने संविधानमा समाजवाद स्थापना गर्न सकिने मान्यता स्थापित छ । सिंहदरबारमा भएको केन्द्रीकृत राज्यसत्ता र त्यसका अधिकार स्थानीय तहसम्म ल्याउन जनयुद्धको योगदानले सम्भव तुल्याएको हो । जनयुद्धपछि शान्ति यात्रा, द्वन्द्व र द्वन्द्व व्यवस्थापन विश्वका द्वन्द्व व्यवस्थानका लागि मार्ग दर्शन बनेको छ ।

संविधानमा प्रदेश तथा केन्द्रीय संसद्मा ३३ प्रतिशत महिलाका लागि संरक्षण, राष्ट्रिपति वा उपराष्ट्रपति, सभामुख वा उपसभामुख, स्थानीय तहका वडामा महिला र दलितको अनिवार्य प्रतिनिधित्वमा जनयुद्धको छाप देख्न सकिन्छ । संसद्मा आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम, दलित, पिछडिएको क्षेत्रमा समानुपातिक प्रतिनिधित्व ग्यारेन्टी गरिएको छ । राज्य सत्तामा सबै वर्ग र लिंगका प्रतिनिधित्व अहिलेको संविधानले सम्भव भएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार ०७:५३

लोकप्रिय