सूचनाको शक्ति - The Power Of Information

        

अण्डर नाइन्टिन महिला क्रिकेट:

सुशील कोइराला महिला क्रिकेटः गण्डकी र सुदुरपश्चिम विजयी

लगातार तेस्रो हारपछि लुम्बिनी बाहिरियो

बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अण्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गर्यो । आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्यो ।

बागमतीले दिएको ९० रनको लक्ष्य सुदूरपश्चिमले १५.४ ओभरमा २ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत घोषित सावित्री धामीले सर्वाधिक ४७ रन योगदान दिइन्। अविजित रहँदै धामीले ४२ बलमा ५ चौका प्रहार गरिन् । स्नेहा महराले अविजित २४ रन बनाइन् । तेश्रो विकेटको लागि सावित्री र स्नेहाले अविजित ५६ रनको साझेदारी गरे ।

बागमतीको बलिंगमा एक मात्र विकेट मनिषा उपाध्यायले लिइन् । टस जितेर ब्याटिंग गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो । बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक २९ रन योगदान दिइन् । क्रिश्मा गुरुङले १२ तथा साबिका यादवले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमको बलिंगमा अनु कडायत र क्रिश्मा गुरुङले १/१ विकेट लिए । सुदूरपश्चिमले ५ विकेट रन आउटमार्फत पायो ।

आजको दोश्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ५० रनले पराजित गर्यो । गण्डकीले दिएको ११३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.५ ओभरमा ६२ रनमा सबै विकेट गुमायो । लुम्बिनीको ब्याटिंगमा आशमा पुलामी मगरले सर्वाधिक २८ रन योगदान दिनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गण्डकी प्रदेशको बलिंगमा सिमाना केसी एक्लैले ६ विकेट हात पारिन् । प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा मात्र १४ रन खर्चिन् । रचना चौधरीले २ तथा आकृति तिवारी र निरुता जीटिले १/१ विकेट लिए ।

टस जितेर ब्याटिंग गरेको गण्डकीले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो । गण्डकीको लागि सिमानाले सर्वाधिक ४३ रन बनाइन्। अविजित रहँदै केसीले ४६ बलमा ४ चौका प्रहार गरिन् । सरिना थापाले १६ तथा सलिना सेनले १० रन योगदान दिए । लुम्बिनीको बलिंगमा सरु तिवारीले १ विकेट लिँदा बाँकी ३ विकेट रन आउटमार्फत पायो ।

आज जितपछि ३ खेलमा २ जित र १ हार बेहोरेको गण्डकी प्रदेश दोश्रो स्थानमा छ । समान अंकसहित २ खेलमा जित दर्ता गरेको कोहलपुर मेयर ११ शिर्ष स्थानमा छ । २ खेलमा समान १ जित र १ हार बेहोरेको बागमती र सुदूरपश्चिम प्रदेश नेट रन रेटको आधारमा तेश्रो र चौथो स्थानमा छन् । तीन वटै खेलमा पराजित भएको लुम्बिनी एक खेल अगावै प्रतियोगिताको फाइनल दौडबाट बाहिरिएको छ ।

प्रतियोगिता अन्तर्गत चौथो दिन भोलि पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान ९.३० बजे बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ । दोश्रो खेल दिउँसो १.३० बजे कोहलपुर मेयर ११ र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।

प्रतियोगितामा कोहलपुर मेयर ११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन् । सबै टिमले एक अर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १९:०१

लोकप्रिय