सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बजार मूल्य स्थिर नहुँदा च्याउखेती गर्ने किसान मर्कामा

बाँकेमा पछिल्लो समयमा च्याउखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । तर उत्पादन भएको च्याउको बजार मूल्य स्थिर नहुँदा भने च्याउखेती गर्ने किसान मर्कामा परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरमा सुनौलो मल्टी प्रपोज एग्रो फार्म तथा रिसर्च सेन्टरमार्फत च्याउ उत्पादन गर्दै आउनुभएका किसान नकुल खत्रीले उत्पादन गरिएका च्याउको बजार मूल्यमा स्थिर नहुँदा आफूहरु मर्कामा परेको बताउनुभयो ।

आफ्नो फार्मबाट दैनिक एकदेखि २ क्विन्टल च्याउ उत्पादन भइरहेको भन्दै उहाँले बजार मूल्यमा एकरुपता र स्थिर हुन नसक्दा आफूजस्ता च्याउ उत्पादन गर्ने किसान मर्कामा परेको बताउनुभयो । “मैले दैनिक १ देखि २ क्विन्टल च्याउ उत्पादन गर्छु, उत्पादन भएको च्याउको मूल्य मनलाग्दी जस्तो छ, हामीबाट एकदमै कम मूल्यमा च्याउ खरिद गरेर लैजाने व्यापारीहरुले धेरै नाफा कमाएर बिक्री गर्छन् तर हामी उत्पादन गर्ने किसानको भने सके जति कममा लैजान खोज्छन्,” उहाँले भन्नुभयो, “च्याउ उत्पादन गर्ने किसानको पनि बिक्री दरमा निश्चित मूल्य कायम भएको भए सजिलो हुने थियो ।”

आफूले उत्पादन गरेका च्याउहरु नेपालगञ्जको तरकारी बजार र फुटकर बिक्री गर्ने घुमन्ते व्यापारीहरुलाई थोकमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । बजारमा च्याउको मूल्यको नियमन तथा मूल्य निर्धारण नहुँदा आफूहरु मर्कामा परेको उहाँले बताउनुभयो । “अन्य खेतीभन्दा च्याउखेतीमा आम्दानीका हिसाबले धरै राम्रो छ, किसानहरुको आकर्षण पनि बढेको छ, तर बिक्री गर्ने बजार मूल्यमा एकरुपता नहुँदा भने बिक्री गर्दा धेरै गारो भएको छ,” उहाँले भन्नुभयो ।

जिल्ला बाहिरबाट आउने च्याउले पनि कहिलेकाहीँ आफूले उत्पादन गरेका च्याउ बिक्री गर्न अप्ठ्यारो बनाएको उहाँको अनुभव छ । “दाङ लगायत बाहिरका जिल्लाबाट नेपालगन्ज बिक्रीका लागि ल्याइने च्याउले पनि कहिलेकाहीँ हामीलाई अप्ठ्यारो पार्दछ, आफूले उत्पादन गरेका च्याउ बिक्री गर्ने समयमा बाहिरबाट आइदिने च्याउले बजार ढाकेको हुन्छ अनि हाम्रो उत्पादन भनेजस्तो उचित मूल्यमा बिक्री हुँदैन,” खत्रीले भन्नुभयो ।

“बाहिरबाट आउने च्याउ विक्रेताले जति मन लाग्याे त्यति मूल्यमा च्याउ बिक्री गर्छन्, हामीले उत्पादन गरेका च्याउलाई बजार पठाउँदा कि त अत्यन्तै न्यून मूल्यमा पठाउनु पर्‍याे, होइन भने डम्पिङ् गरेर राख्नुपर्‍याे,” उहाँले भन्नुभयो, “न्यून मूल्यमा बिक्री गर्दा उत्पादन लागतसमेत उठ्न गाह्राे हुन्छ, नाफा त परैको कुरा ।”

समयमा बिक्री नभएको च्याउलाई सुकुटी बनाएर राख्ने गरेको उहाँले बताउनुभयो । उत्पादन भई बिक्री नभएर बचेका च्याउलाई सुकुटी बनाएर प्याकिङ् गरेर राख्ने गरेको उहाँको भनाइ छ । “उत्पादन भई बिक्री हुन नसकेका च्याउलाई सुकुटी बनाएर प्याकिङ गरेर राख्ने गरेका छौं,” उहाँले भन्नुभयो, “अफ सिजनमा यो प्याकिङ् गरेको च्याउ बिक्री गर्ने लक्ष्य छ ।”

उत्पादन गरिएको च्याउलाई बजारसम्म पठाएर बिक्री गर्न खासै समस्या नभएपनि थोक बिक्री गर्ने किसानको बिक्री रेटमा एकरुपता र निश्चित मूल्य नहुँदा उत्पादन गर्ने किसान सधै मर्कामा पर्ने तथा बिचका व्यापारीहरुले धेरै नाफा खाएर उपभोक्तालाई बिक्री गरिरहेको उहाँले बताउनुभयो ।

तीन बिघा जग्गामा च्याउसहित माछा, बङ्गुर, ड्रागन फ्रुटलगायतका कृषि खेती गर्दै आउनुभएका खत्रीले १० क्विन्टल च्याउको बीउ उत्पादन गरि यो वर्ष पाँच वटा टहरामा च्याउ उत्पादन गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सरकारको पकेट विकास कार्यक्रम अन्तर्गत च्याउखेतीमा ५० प्रतिशत अनुदान सहयोगमार्फत च्याउ उत्पादन गरेको उहाँले बताउनुभयो । स्थानीय सरकारले किसानले उत्पादन गरेका च्याउको बजार व्यवस्थापन र बिक्री मूल्यमा एकरुपता ल्याइदिन पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १५:१३

लोकप्रिय