सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा स्वास्थ्य शिविरबाट २८३ जना लाभान्वित

 बाँकेको नेपालगन्जमा आयोजना गरिएको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरमा नौ जिल्लाका २८३ जनाले विशेष स्वास्थ्य सेवा लिएका छन् ।

वेष्टर्न अस्पताल नेपालगन्जले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा पश्चिम नेपालका नौ वटा जिल्लाका २८३ जनाले आएर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा लिएका हुन् ।

जनरल सर्जरी, स्त्री रोग, नाक, कान, घाँटी तथा आहारसम्बन्धी विशेषज्ञ चिकित्सकले सेवा दिनुभएको सो शिविरमा बाँकेका १२३ जना, बर्दियाका ६६ जना, कैलालीका २३ जना, सुर्खेतका ४९ जना, रुकुमका ३ जना, जुम्लाका ७ जना, डोल्पाका ४ जना, कालिकोटका ७ जना र बैतडीका १ जना गरी २८३ बिरामीले सेवा लिएको वेष्टर्न अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाले बताउनुभयो ।

सो शिविरमा सर्जरीतर्फ डा. रुपानन्द अधिकारी, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापा, इएनटी सर्जन डा. रबी स्वार तथा डी.टी. सुशीला खनाललगायतले आएकाहरूको स्वास्थ्य परीक्षण गरेर विभिन्न परामर्श दिनुभएको थियो ।

अस्पतालले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा बाँके मात्र नभई अन्य जिल्लाका सम्बन्धितसम्म पनि पुगाउन यो शिविर सञ्चालन गरेको डा. थापाले बताउनुभयो । उहाँले यो शिविरबाट धेरै जनाको रोग पहिचानमा सहयोग पुगेको बताउनुभयो । निःशुल्क स्वास्थ्य शिविरबाट विशेषज्ञ स्वास्थ्य सेवा पाएकाले यस्ता शिविरहरू अझै पनि निरन्तर राख्नुपर्ने माग गरेका छन् ।

शिविरमा स्वास्थ्य परीक्षण गराउनु भएका बर्दिया बढैयातालका जीवन थारुले लामो समयदेखि कानमा समस्या भए पनि पैसाको अभावले जाँच गराउन नसकेको जनाउँदै निःशुल्क शिविर थाहा पाएर आएको र राम्रो भएको बताउनुभयो ।

उहाँले आफूजस्ता धेरै जना बिरामीले अझै पनि पैसा अभावकै कारण विशेषज्ञ स्वास्थ्य सेवा पाउन नसकेकोले यस्ता शिविरहरू नेपालगन्जमा मात्र नगरी अन्य जिल्लामा पनि आयोजना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १५:१०

लोकप्रिय