सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

लुम्बिनीसहित पाँचवटा प्रदेशमा बुधबारबाट वर्षा सुरु हुने

केही भू–भागमा हिमपातको सम्भावना

पश्चिमी वायु बुधबारबाट केही सक्रिय हुने भएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना रहनेछ । बुधबार लुम्बिनीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ ।

“बुधबार देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुनेछ,” मौसमविद्, राजु प्रधानाङ भन्छन्, “यद्यपि, ठूलो वर्षा हुने छैन । सामान्यदेखि हल्का वर्षा मात्रै हुनेछ ।”

यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहेको छ । दिउँसो काठमाडौंको तापक्रम बढेर २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् प्रधानाङ बताउँछन् ।

विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । क

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले राति पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ ।

कोसी  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ०८:५९

लोकप्रिय